दुर्गमका बिरामीलाई जुम्लाबाटै विशेषज्ञ सेवा

गाेल्डेन बुढा

असाेज ,१७ असोज।
जुम्लाकाे कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले अत्यावश्यक स्वास्थ्य सेवाको पहुँच विस्तार गर्दै रक्तसञ्चार सेवा र टेलिमेडिसिन सेवा सञ्चालनमा ल्याएको छ। रगतको अभावमा बिरामीका आफन्तले तत्काल रक्तदाता खोज्नुपर्ने बाध्यता अन्त्य गर्ने उद्देश्यले रक्तसञ्चार सेवा सुरु गरिएको हो,भने दुर्गम क्षेत्रका नागरिकलाई विशेषज्ञ चिकित्सकको पहुँचमा पुर्‍याउन टेलिमेडिसिन सेवा सञ्चालनमा ल्याइएको प्रतिष्ठानले जनाएको छ।रक्तसञ्चार सेवा सञ्चालनमा आएसँगै आकस्मिक उपचार, शल्यक्रिया, प्रसूति, चोटपटक तथा अन्य जटिल अवस्थाका बिरामीका लागि आवश्यक रगत जुम्लामै संकलन, सुरक्षित भण्डारण र वितरण गर्न सकिनेछ। यसअघि बिरामीलाई रगत आवश्यक पर्दा सेवाग्राही वा आफन्तले तत्काल रक्तदाता खोज्नुपर्ने अथवा बाहिरी स्थानबाट रगतको व्यवस्था गर्नुपर्ने बाध्यता थियो। नयाँ सेवाले विशेषगरी आकस्मिक उपचार र शल्यक्रियाका बिरामीलाई सहज हुने अपेक्षा गरिएको छ।कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र अमेरिका नेपाल मेडिकल फाउन्डेसनको सहकार्य तथा सहयोगमा रक्तसञ्चार सेवा स्थापना गरिएको हो। प्रतिष्ठानका अनुसार सेवा सञ्चालनसँगै प्रसूति, आकस्मिक उपचार, शल्यक्रिया तथा अन्य जटिल उपचारका क्रममा रगतको अभावबाट उत्पन्न हुन सक्ने समस्या न्यूनीकरणमा सहयोग पुग्नेछ।रक्तसञ्चार सेवासँगै प्रतिष्ठानले दुर्गम क्षेत्रका बिरामीलाई विशेषज्ञ चिकित्सकको पहुँचमा पुर्‍याउन टेलिमेडिसिन सेवा पनि औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ। सेवा लिनुपर्ने स्वास्थ्य संस्थामा चिकित्सक वा स्वास्थ्यकर्मीको उपस्थितिमा प्रतिष्ठानका विशेषज्ञ चिकित्सकले भर्चुअल माध्यमबाट बिरामीको अवस्था बुझ्ने, उपचारसम्बन्धी परामर्श दिने तथा आवश्यक औषधि र उपचारका लागि सुझाव दिने व्यवस्था गरिएको छ।

प्रतिष्ठानका उपकुलपति डा. सुर्यमान म्यानाङ्म्बोले विशेषज्ञ सेवा लिन दुर्गम क्षेत्रका नागरिकले अनावश्यक रूपमा टाढा जानुपर्ने अवस्थालाई टेलिमेडिसिनले कम गर्न सक्ने बताए। उनका अनुसार चिकित्सक तथा स्वास्थ्यकर्मीको उपस्थितिमा बिरामीको अवस्था विशेषज्ञ चिकित्सकसम्म पुर्‍याएर आवश्यक परामर्श दिने व्यवस्था गरिएको छ।शिक्षाध्यक्ष प्राध्यापक डा. धर्मदत्त सुवेदीका अनुसार टेलिमेडिसिन सेवाबाट प्रतिष्ठानका सेवाग्राहीसहित सेवा क्षेत्रका विभिन्न स्वास्थ्य संस्थामा उपचारका लागि आउने बिरामीलाई विशेषज्ञ स्वास्थ्य सेवा प्राप्त गर्न थप सहज हुनेछ। विशेषगरी विशेषज्ञ सेवा सहज रूपमा उपलब्ध हुन नसक्ने दुर्गम क्षेत्रका नागरिकलाई आवश्यकताअनुसार विशेषज्ञ चिकित्सकीय परामर्शमा जोड्न यसले महत्वपूर्ण भूमिका खेल्ने उनले बताए।टेलिमेडिसिन सेवाको औपचारिक उद्घाटन शिक्षाध्यक्ष सुवेदीले गरेका थिए। उद्घाटनकै क्रममा जाजरकोटका एक बिरामीलाई टेलिमेडिसिनमार्फत स्वास्थ्य सेवा प्रदान गरी सेवाको सुरुवात गरिएको प्रतिष्ठानले जनाएको छ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र छाया नेपालको संयुक्त पहलमा टेलिमेडिसिन सेवा सञ्चालनमा आएको हो।सेवा सञ्चालनका क्रममा प्रतिष्ठान र छाया नेपालबीच कर्णाली सेवा सञ्चालनसम्बन्धी सम्झौता तथा सामग्री हस्तान्तरणसम्बन्धी कागजातमा हस्ताक्षर भएको छ। कार्यक्रममा प्रतिष्ठानका विभिन्न विभागका प्रमुख तथा इन्चार्ज, नर्सिङ निर्देशक, चिकित्सक, प्राध्यापक तथा कर्मचारीको उपस्थिति थियो।प्रतिष्ठानले स्वास्थ्य सेवाको पहुँच विस्तारसँगै अत्यावश्यक सेवाहरूलाई क्रमशः सुदृढ गर्दै लैजाने जनाएको छ। रक्तसञ्चार सेवा प्रभावकारी बनाउन नियमित रक्तदान आवश्यक रहेको भन्दै प्रतिष्ठानले सर्वसाधारणलाई ‘रक्तदान गरौँ, जीवन बचाऔँ’ भन्ने सन्देशसहित रक्तदानमा सहभागी हुन आग्रह गरेको छ। दुर्गमका नागरिकलाई विशेषज्ञ स्वास्थ्य सेवासँग जोड्ने टेलिमेडिसिन र जुम्लामै रगत उपलब्ध गराउने रक्तसञ्चार सेवाले कर्णालीमा स्वास्थ्य सेवाको पहुँच, गुणस्तर र निरन्तरतामा सहयोग पुग्ने प्रतिष्ठानको अपेक्षा छ।

दुर्गमका बिरामीलाई जुम्लाबाटै विशेषज्ञ सेवा

दुर्गमका बिरामीलाई जुम्लाबाटै विशेषज्ञ सेवा

Leave a comment

Your email address will not be published. Required fields are marked *