नदेख्ने आँखाले देखाएको बाटो

यज्ञ खत्री, सुर्खेत ।
दृष्टि विनाको जीवन कस्तो हुन्छ ? ‘अन्धकार, शून्य, बोझिलो, अत्यास लाग्दो’ धेरैलाई यस्तै लाग्दो हो । तर सोमना खड्का (३३) लाई देख्दा लाग्छ, अँध्यारोभित्र पनि त उज्यालो  हुँदो रहेछ । आँखाको  ज्योति गुम्दा संसारको  झिलिमिली देख्न नपाए पनि आफ्नो  जीवनलाई प्रकाश दिन सकिन्छ । सोमना आफू आँखा देख्दिनन्, तर अरूलाई आँखा देखाउँछिन् । बाहिरी दृष्टिबाट वञ्चित उनी भित्री दृष्टिमा अब्बल र तीक्ष्ण छिन् । जुनसुकै कुरा छिटो सम्झने र लामो समयसम्म नबिर्सने खुबी उनमा छ । यही खुबीका कारण त विद्यालयले भर्ना लिन नमान्दा पनि स्नातकोत्तर गरिन् ।

दृष्टिविहीन भएकै कारण जे नगर भनियो, उनले त्यही गरिन् । छात्रावासमा हुने हिंसाका विरुद्ध उत्रिंदा आफैं निकालिइन् । तर, हार मानिनन्, बरु उनको जिद्दीपनका अगाडि अरूले हार माने । घाम लाग्दा छायाको सहारामा हिँडडुल गर्ने उनी घाम नलाग्दा मानिस वा छडीकै सहारा हिँडडुल गर्छिन् । आम मानिस जसरी किताबका अक्षर देख्न नसक्ने सोमनाले आफ्नो जीवनकै ठुला कष्ट भोगेर स्नातकोत्तर सम्मको शिक्षा हासिल गरेकी छिन् । हाल उनी, भेरीगंगामा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा प्रावि तहको शिक्षक हुन् ।

सोमना आँखा देख्दिनन्, तर रुख चढ्छिन् । विद्यालयले भर्ना लिन मानेनन्, तर स्नातकोत्तर गरिन् । छात्रावासमा हुने हिंसाका कारण विद्रोह गर्दा आफै निकालिइन् । ‘दृष्टिविहीन भएकै कारण जसले मलाई यो नगर, त्यो नगर भने । मैले त्यही गरे’ उनी भन्छिन् । भनिन्छ–प्रकृतिले कसैलाई कुनै कुरामा ठग्छ भने अर्को केही दिन्छ । त्यसैले पनि होला, बाहिरी दृष्टिबाट वञ्चित सोमना भित्री दृष्टिमा अब्बल छिन् । उनी तीक्ष्ण छिन् । जुनसुकै कुरा छिटो सम्झने र लामो समयसम्म नबिर्सने खुबी उनीमा छ । सदियौँदेखिको लैङ्गिक र सामाजिक विभेद विरुद्ध बोल्न कहाँ सजिलो थियो र ? तर, सोमनाले बोल्ने मात्रै होइन, अभियान नै चलाइन् । परिवार र समाजसँग लडिन्, आफैंबाट सुरुवात गरिन् । उनी आफ्ना लागि लड्नि, आफू जस्तै दृष्टिविहीनहरूका लागि लडिन् ।

छुट्टै छात्रावास स्थापना

सोमनाले छात्रावासमा आफूले खेपेको हिंसाका कारण दृष्टिविहीन र बौद्धिक अपाङ्गता भएका बालिकाहरूका लागि छुट्टै छात्रावास स्थापना गर्न पनि पहल गरिन् । २०७२ सालमा उनले शिखर मावि रामघाटको छात्रावासबाट बालिकाहरूलाई अलग गरेर छुट्टै राखिन् । उक्त छात्रावास एक वर्ष आफैले सञ्चालन गरिन् । ‘म नेपालगन्ज छात्रावासमा बस्दा कर्मचारीदेखि शिक्षकसम्मले हिंसा गर्थे, त्यसले गर्दा दृष्टिविहीन महिलाहरूका लागि छुट्टै छात्रावास हुनुपर्छ भनेर मैले आवाज उठाए । अहिले छात्र र छात्रा छुटाछुटै राख्ने व्यवस्था गरिएको छ,’ उनले भनिन् ।

अहिलेको समावेशी शिक्षाको अवधारणाले बालबालिकालाई परिवार वा साथीभाइसँग नछुट्याएर शिक्षा दिनुपर्ने मान्यता राख्ने हुँदा अब त्यो छात्रावासलाई संयुक्त बनाउने सोच उनले बनाएकी छन् । शिक्षण पेसाका अलावा उनले १३ वर्ष जति आफूजस्तै बालिकाहरूका लागि परामर्शदाता भएर पनि काम गरिन् । विभिन्न संघसंस्थासँग जोडिएर हिंसा र प्रतिकारका बारेमा परामर्श दिएको सोमना बताउँछिन् । अब राज्यले समावेशी शिक्षाको अवधारणाअनुसार नै अपाङ्गता भएका बालबालिकालाई शिक्षा दिनुपर्ने उनको बुझाइ छ । ‘अभिभावक र बचपनका साथीभाइबाट अलग नगराईकन पढाउनुपर्छ । त्यसअनुसारको संरचना बनाउनु आवश्यक छ,’ सोमना भन्छिन्, ‘यदि छात्रावासमै राखेर पढाउने हो भने पनि सुरक्षित हुनुपर्छ ।’

दृष्टिविहीनहरू पढ्न नपाउँदा योग्यता बन्दैन । योग्यता नपुग्दा राम्रो अवसर पाइँदैन । कर्णालीका पहाडी र हिमाली क्षेत्रका धेरै दृष्टिविहीनलाई त पढ्नुपर्छ भन्ने ज्ञानसम्म कसैले पु¥याइदिएको छैन । पिछडिएकाहरूका अधिकारका लागि देशमा धेरै चलखेल भएका छन् । महिला, जनजाति, मधेसी आदिलाई राम्रै आरक्षण मिलेको छ । तर, अपाङ्गता, त्यसमा पनि दृष्टिविहीनतिर दृष्टि नै नपुगेको सोमना बताउँछिन् । संसार नदेखेर पनि ज्ञानको भण्डार छिचोलेका दृष्टिविहीनहरूप्रति राज्य भने मौन रहेको उनको बुझाई छ । ‘नेताहरू चुपचाप छन् । अधिकारवादीहरू मुख थुनेर बसेका छन् । नीतिनिर्माता कानमा तेल हालिरहेका छन्’ सोमना भन्छिन्, ‘हामी हाम्रा लागि लडिरहेका छौँ । आवाज उठाइ रहेका छौँ । तर हाम्रो आवाज सुन्दिने कसले ?’ राज्यले बनाएका अपाङ्गता सम्बन्धी कानुनहरू व्यावहारिक नभएको उनको बुझाई छ । भाषिक रूपमा मात्र राम्रा बनाइएका कानुनहरूलाई व्यावहारिक रूपमा संशोधन गरेर पूर्ण कार्यान्वयन गर्नुपर्ने उनी बताउँछिन् ।

कहालीलाग्दो बाल्यकाल

जब उनी बुझ्ने  भइन् आँखा खोल्दा चारैतिर मधुरो थियो  । सोच्थिन्, ‘यो संसार नै यस्तै छ, मधुरो । धुमिल ।’ जब हुर्किँदै गइन्, छामछुम पार्न थालिन् । उठ्न खोज्दा लडिन् । हिँड्न खोज्दा ठोकिइन् । कुनै पनि काम गर्दा अरू कसैको सहारा चाहिने । केही पनि ठम्याउन नसक्ने । ‘पछि ४–५ वर्षको  भएपछि थाहा पाएँ म अरू भन्दा फरक पो रहेछु’ सोमनाले भनिन्, ‘संसार त उज्यालो  रहेछ । मेरो आँखाको  ज्योति पो सदाका लागि गुमेछ ।’

उनी १५ वैशाख २०४७ मा बुबा वेदबहादुर खड्का र आमा कली खड्काको कोखबाट दैलेखको कट्टीमा जन्मिइन् । जन्मिएको दुई वर्ष नपुग्दै गाउँमा आँखा पाक्ने महामारी फैलियो । गाउँमा सबैका आँखा पाक्न थाले  । परिवारमा उनलाई पनि यो  रोगले  भेट्यो  । ‘त्यो  बेला उपचार गराउन नजिक अस्पताल थिएन’ उनले  भनिन्, ‘परिवारले धामी, झाँक्रीकहाँ लिनुभएछ । त्यसले कहाँ सन्चो  हुनु ?’ अन्ततः उनले  आँखाको  ज्योति गुमाइन् ।

सोमनाका दुई वटा आमाबाट आठ भाइ बहिनी छन् । उनकी आमाबाट ४ बहिनी र एउटा भाइ छन् । कान्छी आमाबाट ३ भाइ छन् । सोमनाका चार दिदीबहिनी मात्रै थिए । छोराको आसमा बुवाले अर्को विवाह गरे । बुवाले अर्को विवाह गरेपछि भाइ पनि जन्मिए । बिस्तारै उनका बुवाले परिवारको साथ छाड्दै गएपछि उनीहरू टुहुरा जस्ता बने । सहारा आमा मात्रै थिइन् । उनले जसोतसो छोरीहरूको पालनपोषण गरिन् । घर नजिकै विद्यालय थियो । तर सोमना भने स्कुल जान पाउँथिनन् । उनका दिदी बहिनीहरू स्कुल जान्थे  । गाउँमा हुने  बिहे भोजमा पुग्थे  । उनी भने  घरमै  टोलाएर बस्थिन् ।

‘एक दिन त म सिस्नोका झारीमा लड्दै, खेतका आलिमा घिस्रिँदै, बालबच्चाको आवाज पछ्याउँदै विद्यालयसम्म पुगे,’ बालापन सम्झँदै सोमनाले भनिन्, ‘एक दिन, दुई दिन । यसरी नै महिना दिन गएपछि मलाई सरले एउटा किताब दिनुभयो ।’ उनले सरले पढाएका जति सबै कुरा सुनेर खरर भन्न सक्ने भइन् । स्कुल जान थालेको दुई वर्ष बित्यो । तर सरले कक्षा एक भन्दा माथि लिएनन् । उनी ५ वर्षको हुँदासम्म गाउँमै बसिन । ‘यो बाँचेको सार छैन, जीवनमा यसले केही गर्न सक्दिन । गाउँघरमा सबैले यस्तै भन्थे’ उनले भनिन्, ‘हामी मर्नुभन्दा अघि यो मरेको भए कम्तीमा दुःख त पाउँथिन भन्ने मेरी आमालाई लाग्थ्यो ।’ सबै कुरा सुन्ने र सहने बाहेक अरू उनिसग विकल्प पनि त थिएनन् ।
सोमनाको पढ्ने रहर देखेकी फुपूकी छोरी सुर्खेतको रामघाट बस्थिन् । उनैले एक दिन दृष्टिविहीनहरूलाई पढाउने  स्कुल छ भन्ने  खबर पठाइन् । ‘बुवा त आँखा नदेख्नेलाई किन पढाउनुप¥यो भन्दै झर्किनुभयो । तर आमाले मान्नु भएन’ उनले भनिन्, ‘आमाले कर गरेपछि बुवाले रामघाटमा रहेको फुपूको घरमा लगेर छोडिदिनुभयो ।’ ७ वर्षकी सोमना २०५५ सालमा रामघाट झरिन ।

उनले त्यहाँ ६ महिना मात्रै पढ्न पाइन् । त्यहाँको स्रोत कक्षा नै बन्द भयो । सोमना गाउँमै फर्किनुप¥यो । गाउँमा हजुरबुवा नाता पर्ने एक जना शिक्षकले ब्रेललिपी अक्षर चिन्न सक्ने सामान्य तालिम लिएका थिए । उनै शिक्षकले सोमनालाई आफूले पढाउने विद्यालयमा भर्ना गर्न लगाए । उनी त्यहाँ एक कक्षामा भर्ना भइन् । सामान्य ब्रेललिपी अक्षर उनले रामघाटमै सिकिसकेकी थिइन् । दैलेखमा उनी चार कक्षासम्म पढिन् । ब्रेललिपी सामग्री उनीसँगै थिए । गाउँको सरकारी विद्यालयमा उनी आफूले परीक्षामा लेखेको उत्तर पुस्तिका आफैले पढेर शिक्षकहरूलाई सुनाउँथिन् । किनभने शिक्षकहरू उनको ब्रेललिपी अक्षर पढ्न सक्थेनन् । पढेर सुनाएका आधारमा शिक्षकले उनलाई नम्बर दिन्थे । त्यसबिचमा रामघाटको स्रोत कक्षा पुनः सञ्चालनमा आयो । गाउँमा चार कक्षा पास गरिसकेपछि सोमना रामघाटमै फर्किइन् । रामघाटको शिखर माविमा उनी कक्षा ५ मा भर्ना भइन् । उनको पढाइ अपाङ्गता भएका अरू विद्यार्थीको भन्दा राम्रो थियो । त्यसको मूल्यांकन गर्दै शिक्षकहरूले सोमनालाई नेपालगन्जको एउटा विद्यालयमा सिफारिस गरिदिए । ‘शिक्षकहरूले नै मलाई छात्रवृत्तिमा छनोट गरेर नेपालगन्जको मंगल माध्यमिक विद्यालयमा सिफारिस गरिदिनुभयो,’ उनले भनिन् ।

होस्टेल र कोठाबाट निकालिइन

पढ्नका लागि नेपालगन्ज गएपछि सोमनाले अर्को संघर्ष गर्नुप¥यो । एक त दृष्टिविहीन, त्यहीमाथि आफ्नो चिनजानको कोही नभएको सहरमा उनले सानो संघर्ष गर्नु परेन । नेपालगन्जको मंगलप्रसाद माध्यमिक विद्यालयको होस्टेलले उनलाई राख्न मानेन । ‘त्यो बेला म एकदमै सानी फुच्ची थिए । कोटा छैन भनेर होस्टेलले राख्न मानेन’ सोमना भन्छिन् । होस्टल सुविधा सहित विद्यालयमा भर्ना नपाउने भएपछि उनी जिल्ला शिक्षा अधिकारीकहाँ पुगिन् । जिल्ला शिक्षा अधिकारीले उनलाई अर्को विद्यालयमा फेरि पाँच कक्षामै भर्ना गर्न सकिने बताए । आफूलाई कक्षा ६ मा त्यो पनि आफूले भनेकै विद्यालयमा पढ्न नदिए कार्यालयकै ढोकामा मर्छु भनिन् ।

शिक्षा कार्यालयको दबाबमा उनी विद्यालयमा भर्ना त भइन । तर टिक्न भने सहज थिएन । होस्टेलमा बस्न थालेको ३–४ महिना पछि उनीमाथि अनेक किसिमका हिंसाहरू हुन्थे । को व्यक्ति होस्टेलमा आयो भन्ने सोेमनालाई थाहा हुन्थेन । त्यति बेला उनलाई लाग्थ्यो, मानिसहरू बोल्दा किन हामीलाई छोएर बोल्छन् ? के छेउमै आउनुपर्छ र ? के अँगालो नै हाल्नु पर्छ ? होस्टेलमा केटाकेटी गरी करिब ४० जना विद्यार्थी थिए । ‘होस्टेलको इन्चार्ज र कर्मचारीहरू हाम्रा गाला चिमोट्ने, संवेदनशील अंगमा छुने जस्ता हर्कतहरु गर्थे । प्रतिवाद गर्दा यहाँ पढ्न मन छैन ? भनेर उल्टै धम्क्याउँथे । बोल्यो भने निकालिदिन्छौ भन्थे । मानसिक यातना दिन्थे’ सोमना भन्छिन्, ‘तर म चुप लागिन । हिंसाको खुलेर विरोध गरे । पत्रकार सम्मेलन गर्ने चेतावनी दिए । त्यसपछि त मलाई त्यहाँ बस्ने वातावरण नै भएन ।’

उनीहरूका गतिविधिको विरोध गरेपछि विभिन्न लालछना र आरोप लगाएर उनलाई होस्टेलबाटै निकालिदिए । त्यसपछि सोमनाका दुःख झनै थपिए । उनी कहिले कोही साथीकोमा, कहिले चिनजान भएकाहरूका घर र डेरामा बसेर पढ्न थालिन् । ‘नेपालगन्ज बसेर पढ्दा मेरो सबैभन्दा दुःखदायी समय थियो । त्यो बेला झन्डै २ वर्ष मैले एक छाक मात्रै खाना खाए । भोक बिर्सिसकेको थिए,’ ती दिनहरू सम्झिँदै सोमनना भन्छिन् । छात्रावासबाट निकाले पनि पढ्न भने त्यही स्कुलमा पाएकी थिइन् । निकै दुःख गरेर उनले त्यही विद्यालयबाट २०६४ सालमा दोस्रो श्रेणीमा एसएलसी पास भइन् । ‘मेरो किशोरावस्था बढ्दै गयो । मैले झनै दुख पाउन थाले । मेरो शरीर मै माथि भारी भएको जस्तो लाग्थ्यो,’ सोमना भन्छिन्, ‘उनीहरूले म माथि हिंसा गर्न खोज्थे, म विद्रोह गर्थे । उनीहरू त्यसैलाई इगो बनाएर सक्ने जति सबै दुख दिन्थे । त्यो समय जीवनकै ठुलो दुःख र सङ्घर्षपूर्ण थियो ।’

एसएलसी पास भएपछि उनी सुर्खेत फर्किने निर्णय गरिन् । त्यति बेलासम्म विद्यालय र होस्टेल प्रशासन फेरिएको थियो । ती पहिलेका मान्छेहरू त्यहाँ थिएनन् । एसएलसी पछि विद्यालयले सोमनालाई त्यहीँ पढ्न आग्रह गरिरहेको थियो । छात्रवृत्तिको व्यवस्था गरिदिन्छौ पनि भनेको थियो । तर उनले मानिनन् । ‘सहयोग चाहिएको बेला पाइन् । पछि बस्न पनि मन लागेन । अब म आफै केही गरेर पढ्न सक्छु भन्ने आत्मविश्वास पलाएका थियो । प्रमाणपत्र मागें अनि सुर्खेत फर्किएँ,’ उनले भनिन् । सुर्खेतको वीरेन्द्रनगर आएर उनले सुर्खेत क्याम्पसमा शिक्षा संकायमा प्लस टु भर्ना भइन् । ४१ प्रतिशत अंकसहित उनी प्लस टु पास भइन् । वीरेन्द्रनगरमा बस्दा पनि उनले सुख भने पाइनन् । श्रीमान् कमाउन भारत गएका थिए । एक छोरी सहित उनी कोठा भाडामा बस्दै आएकी थिइन् ।

तर आँखा नदेख्ने भएकै कारण घरबेटिले भाडामा लिएको कोठाबाट बच्चासहित निकालिदिएको उनले बताइन् । ‘आँखा नदेख्ने मान्छेलाई कोठा पाउन अहिले पनि मुस्किल छ । त्यो बेला झनै कठिन थियो,’ उनले भनिन्, ‘जोतिबेला मेरो नानी डेर वर्षको थिइन् । बच्चासँग सडकमा आउँदा मेरो के अवस्था भयो होला ?’ घरबाट निकालिएपछि सोमनालाई वीरेन्द्रनगरका समाजसेवी जीवन कुमार शाक्यले बास दिए । तीनै शाक्यले सञ्चालन गरेको होस्टेलमा उनलाई जागिर समेत दिए । केही समय पछि सोमनालाई रामघाटको अपाङ्गता भएका विद्यार्थी बस्ने छात्रावासले बोलायो । उनलाई त्यहाँ बस्ने बच्चाहरूको हेरचाह गर्ने जिम्मा दियो । त्यसबापत उनले बस्ने र खाने सुविधा पाउँथिन् । पछि केही समयका लागि त्यही छात्रावासमा बच्चाहरूलाई पढाउने अवसर पनि उनले पाइन् ।

सोमनालाई उनका श्रीमानले सुरुबाटै पढ्ने हौसला दिएका थिए । यसले आफूलाई उच्च शिक्षा लिन सहज भएको उनले बताइन् । उनले पढाइलाई निरन्तरता दिइन् । शिक्षा क्याम्पसबाटै स्नातक गरिन् । शिक्षा संकायमा स्नातकोत्तर पनि त्यही क्याम्पसबाट गरिन् । ‘शिक्षा क्याम्पसले मलाई प्लस टु देखिनै पुर्ण छात्रवृत्तिमा पढायो,’ उनले भनिन्, ‘अन्य खर्च श्रीमानले मजदुरी गरेर भए पनि जुटाउनु भयो ।’ पढाइको खुड्किलो चढ्दै जाँदा उनको  अँध्यारो जीवनमा उज्यालाका किरणहरू क्रमशः देखा पर्न थाले  । शिक्षाको ज्योतिले ज्ञानको भण्डार फैलँदै गयो । पढेर मात्र नहुने । दृष्टिविहीनले रोजगारी पाउनु सबैभन्दा ठुलो समस्या थियो । भेरीगंगामा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा प्रावि तहको दृष्टिविहीन शिक्षक दरबन्दी रहेको थाहा पाइन् ।

‘त्यो दरबन्दीमा पनि सबलांग व्यक्तिलाई जागिर खुवाइएको रहेछ । लामो लडाइ लडेर शिक्षक भए,’ उनी भन्छिन् । सोमनाले अध्यापन थालेको ४ वर्ष पुग्यो । २०७७ सालमा राहत दरबन्दीमा उनले शिक्षण यात्रा सुरु गरिन् । शिक्षण उनको कर्म बनेको छ र यसैमा रमाएकी छिन् । उनी शिक्षाको ज्योति बाँड्दै छिन् । सत्मार्गको निर्देशन गर्दै छिन् । भलै उनले बाहिरी संसारको ज्योति देख्न पाइनन् । उनको बुझाइमा कोही दृष्टिविहीन हुँदैमा जीवनको बाटो सकिदैन् । बरु दृढसंकल्प र इच्छाशक्ति भए गन्तव्यमा पुगिन्छ । सोमनालाई लाग्छ, ‘दृष्टिविहीन भएर होइन, अज्ञानताले संसार अँध्यारो हुँदो रहेछ ।’ शिक्षा आर्जन गरेपछि जीवनको बाटो आफैँ उज्यालो हुँदै जाँदो रहेछ । मिहिनेत र संकल्प गरे जीवनलाई अर्थपूर्ण बनाउन सकिन्छ ।

विवाह पछि अर्को संघर्ष

एसएलसी पास भएपछि सोमनालाई कहाँ बस्ने ? के खाने ? कसरी पढ्ने ? कुनै टुङ्गो थिएन । त्यही बिचमा उनलाई कोहलपुरकै रमेश रानाले बिहे गरौँ भन्ने प्रस्ताव गरे । ‘उहाँ मलाई हरेक काममा सहयोग गर्नुहुन्थ्यो । समाजमा गरिने अनेक कुराले मलाई चुनौती थपेका थिए । म सँग पनि बिहे गर्नुको विकल्प थिएन’ उनी भन्छिन् । बिहे गर्दा उनीहरूसँग एक रुपैंया पनि थिएन । मञ्जु रसाइली भन्ने साथीको घर गएर कुरा गरे । ‘आमाले भर्खर सिन्दूर किनेर ल्याउनु भएको रहेछ । बिहे गर्छौ भने लौ यही सिन्दूर हाल भन्नु भयो । सिन्दूर हालियो, विवाह भयो’ सोमना भन्छिन् । माइतीको आँगन साथीको घर भयो । त्यहाँबाट सिधै विवाह दर्ता गर्न गाविसको कार्यालय गए । सोमना १७ वर्षकी थिइन् । उल्टै बालविवाहको कानुन लाग्ने भएपछि विवाह दर्ता समेत हुन सकेन ।

महिनावारी नियमित हुँदैन थियो । योजना थिएन तर बच्चा पेटमा आएको थाहा पाउँदा ५ महिना पुगिसकेको रहेछ । उनका श्रीमान् जनमुक्ति सेनाको शिविरमा थिए । साबुन, ब्रस किन्नको लागि महिनामा ६ सय दिन्थ्यो । त्यही पनि बचाएर दुई महिनामा १२ सय घर पठाउँथे । पछि छोरी जन्मिइन् । छोरीको हेरचाह गर्न उनलाई झनै सकस हुन्थ्यो । ‘सबैभन्दा तनाव त बच्चा दृष्टिविहीन छ कि भन्ने कुराले भयो । खोप लगाउन जाँदा प्रत्येक पटक म डाक्टरलाई सोध्थेँ । तपाईँजस्तो छैन भन्दा पनि विश्वास लाग्दैनथ्यो,’ उनी भन्छिन् ।

२०६४ सालमा आफ्नो बुवा बितेको कुरा सोमनालाई धेरै पछि थाहा भयो । ‘सात वर्षमा घर छोडेकी थिएँ । नेपालगन्ज पढ्दा यसलाई पढाउने होइन, लाज हुन्छ । दैलेख फर्काइदे भनेर धर्म फुपूलाई इशारा गर्नुभएको थियो रे’ उनी भन्छिन्, ‘मलाई आफ्नै परिवारले त्यतिसम्म विभेद गरेको थियो ।’ त्यति नै बेला सोमनाले ग्रामीण शिक्षा स्वास्थ्य र सेवा गुठीको सहयोगी शिक्षकको रूपमा नेपाल राष्ट्रिय आधारभूत विद्यालय चिसापानी सुर्खेतमा पनि केही समय पढाइन् । कालिन्चोकबाट डेढ घण्टा हिँडेर स्कुल पुग्थिन् । बादल लाग्यो, झरी प¥यो भने बाटो बिराउने समस्या हुन्थ्यो । महिनाको ४ हजार त्यसमा पनि ४० रुपैंया कर काटेर तलब पाउँथिन् । श्रीमानले मजदुरी गरेर कमाएको रकमले गुजारा चल्थ्यो ।

अहिले उनको घर परिवारसँग राम्रो सम्बन्ध छ । बाँकेको बैजनाथ गाउँपालिकामा उनको माटोको घर छ । उनले दुइटा हातले घर लिपपोत गर्दा गाउँलेहरू दङ्ग पर्छन् । हाल सोमना राहत दर्बन्दिमा शिक्षक छिन् । उनका श्रीमान् पनि नेपाल आइल निगममा जागिर गर्छन् ।

‘बाँच्न मन नलागे मलाई हेर्नु’

नेपालगन्जको मंगलप्रसाद माविमा पढ्दा दृष्टिविहीन बाल क्लबको उपाध्यक्ष रहेकी सोमना सुर्खेतमा आएपछि भने नेत्रहीन संघ सुर्खेतको सदस्य भइन् । सोही संस्था मार्फत बिस्तारै उनी सार्वजनिक कार्यक्रममा जान थालिन् । विभिन्न मान्छेहरूसँग घुलमिल भइन् । उनीहरूले बोलेका कुरा सुनिन् । दृष्टिबिहीनहरुले भोगेका समस्याहरू निर्धक्क सुनाउन थालिन् । बोल्न उनले बच्चै देखि सिकेकी थिइन् । विद्रोह उनको स्वभामा थियो । ‘मैले दृष्टिविहीनका हक अधिकारका विषयमा धेरै कार्यक्रममा आवाज उठाए । सरोकारवालाहरूलाई झकझकाए,’ उनी भन्छिन्, ‘मेरै अगुवाइमा धेरै पटक दृष्टिबिहीनहरुका लागि आयआर्जनका कार्यक्रम माग गर्दै प्रदेश सरकार र स्थानीय तहमा धाएका छौँ ।’

उनी सुर्खेत नेत्रहीन संघको सचिव हुँदै हाल नेत्रहीन संघ कर्णाली प्रदेशको सचिव छिन् । शिक्षण पेसाका अलावा सोमनाले १३ वर्ष जति आफूजस्तै बालिकाहरूका लागि परामर्शदाता भएर पनि काम गरिन् । विभिन्न संघसंस्थासँग जोडिएर हिंसा र प्रतिकारका बारेमा परामर्श दिएको उनी बताउँछिन् । सोमनाले मानव बेचबिखन विरुद्धको समूह सुर्खेतको पूर्व संयोजक भएर पनि काम गरिन् । ‘आफू हिंसामा हुँदाहुँदै पनि अरूको न्यायको लागि बोल्नुपर्छ । दृष्टिविहीन र अन्य दुवै खालका व्यक्तिहरूका घटना लिएर म सरकारी तथा गैरसरकारी निकायमा अहिले पनि गइरहेको हुन्छु,’ उनी भन्छिन् । पीडितहरूले उनी प्रति देखाउने सद्भावले उनलाई ऊर्जा दिन्छ ।

उनी हिजो दैलेख, रामघाट, नेपालगन्ज र सुर्खेतमा बसेर संघर्ष गर्दै गरेका दिनका दुःख बिर्सिनस्कनुका छन् । भेटिने अधिकांश मान्छेहरूले विभेद, अपमान र तिरस्कार मात्रै गर्ने । उनी आफ्नो अधिकारका लागि आवाज उठाउँदा मुख थुत्न आए । सहरबाट लखेट्न खोजे । ‘ती दिन सम्झिने हो भने त एउटा दृष्टिविहीनमाथि के पो गरेन यो समाजले’ सोमना भन्छिन् । सोमनाले धेरै कुरा सहिन । धेरै पटक रोइन् । तर ती कुरा सुने पनि नसुने झैं गरेर अगाडि बढिन् । त्यसैको परिणाम हो हिजो दबाउन खोज्नेहरू नै अहिले सोमनलाई आफ्नो घरमा एक छाक खान खान आइदे भन्दै आग्रह गर्छन् । पहिले जसले कुरा काट्थे, उनीहरूले नै अहिले ‘तेरो छोरीले नाम कमाएकी छ’ भनेर आमालाई सुनाउँछन् । उनी भन्छिन्, बाँच्न मन नलाग्नेहरूले मलाई हेरुन् । भोगाइले नै परिपक्व बनाउँछ । हरेकको जीवनमा संघर्ष छ । पीडा बिनाको मान्छे सायदै होला । ‘मसँग त यत्रो आँट छ, आँखा देख्नेहरूले चाहे नसक्ने के छ र ? शारीरिक भन्दा मनको कमजोर मान्छेले जीवनको यात्रा छोट्याउने हो ।’

नदेख्ने आँखाले देखाएको बाटो

दैलेखमा पेट्रोलियम पदार्थ : कर्णाली समृद्धिको नयाँ

नदेख्ने आँखाले देखाएको बाटो

स्याउको सुवासले बदलिँदैछ, जुम्ली अर्थतन्त्र

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds