सम्पादकीय : राउटेको सुरक्षामा ध्यान देऊ !
लोपोन्मुख जाति राउटे समुदायमाथी बाह्य मानिसबाटको आक्रमण अझै रोकिएको छैन । शुक्रबार (२४ असोज) को राती मदिरा सेवन गरेर राउटे बस्तीमा पसेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । मदिरा सेवन गरी संकास्पद अवस्थामा बस्ती पसेका ती युवालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनीमाथी जबरजस्ती करणी उद्योगमा मुद्दा चलाइएको छ । पछिल्लो समय बाह्य व्यक्तिहरूको अनाधिकृत प्रवेशले राउटे समुदाय असुरक्षित बन्दै गएको छ । आफुलाई जंगलको राजाको रुपमा चिनाउने राउटेहरुको बसोवास स्थलमा जथाभावी बाह्य व्यक्तिहरूको प्रवेशले विशेष गरी महिलाहरु असुरक्षित बन्न थालेका हुन् ।
कर्णाली प्रदेश सरकारले राउटेहरुको संरक्षणमा ध्यान नदिँदा उनीहरु लोप हुने अवस्थामा पुगेका छन् । संघीय सरकारले दिने सामाजिक सुरक्षा भत्ताको अलवा प्रदेश र स्थानीय सरकारले उनीहरुको संरक्षणमा ध्यान पुर्याउनै सकेका छैनन् । राउटे समुदाय नेपालका एक अद्वितीय र घुमन्ते जीवनशैली अपनाउने आदिवासी जनजाती हुन् । जसले आजसम्म पनि आफ्नो परम्परागत संस्कृति, भाषा र जीवनपद्धतिलाई जोगाई रहेका छन् ।
पछिल्लो समय आधुनिक मानिसहरुको प्रभावका कारण सिङ्गो राउटे समुदायको अस्तित्व नै नामेट हुने अवस्थामा छ । अस्वस्थ जीवनशैली, मदिरा तथा सूर्तिजन्य पदार्थ सेवनका कारण राउटे समूदायका मानिसहरुमा गम्भीर प्रकृतिका स्वास्थ्य समस्या बल्झिदै गएका छन् । राउटेलाई राहत दिने नाममा खुलमखुला जोकोहीलाई पनि प्रवेश गर्न दिईदा उनीहरुको सुरक्षामा समेत चुनौती थपिँदै गएको अवस्था छ । कुनै समय पैसा छोए पाप लाग्छ भन्ने राउटेहरु विस्तारै आधुनिकतातर्फ मोडिँदै गएको भएपनि उनीहरुको सशक्तिकरणमा राज्यको ध्यान पुग्न सकेको छैन । राउटेको जिविकोपार्जनका लागि राज्यले सामाजिक सुरक्षा वापतको रकम प्रदान गर्दै आएको छ । तर, नगद दिईदा राउटेहरुमा हानिकारक कुलतले प्रसय पाइरहेको बताइन्छ । सरकारी निकाय, विभिन्न संघ–संस्था तथा व्यक्तिहरुले वितरण गर्ने राहत एकद्वार प्रणालीमा नहुँदा उनीहरु परनिर्भरतातर्फ धेकेलिँदै गएका छन् । नेपाल मानवअधिकार आयोगको अध्ययनले महिला र पुरुष दुवैमा अत्याधिक मदिरा सेवनको लत बसेको उल्लेख गरेको छ ।
त्यस्तै, महिलाले चुरोट पिउने र पुरुषले सुर्ती खाने गरेका छन् । उनीहरूको मान्यताअुनसार पैसा लिनु पाप हो, अर्कासँग मागेर खानु पाप हो भन्ने मान्यता राख्ने राउटेहरू हाल नयाँ मान्छे देख्यो कि पैसा माग्ने, मदिरा तथा सुर्ती, तयारीका खाद्य सामग्री किन्न लगाइहाल्ने गलत संस्कृतिको विकास हुँदै गएको छ । मानव बस्तीबाट टाढा रहेका भए पनि राउटेहरू काठका भाँडाकुँडाहरू मुदुस/सन्दुक, पिर्का र अन्य सामानहरू लिएर नजिकका बस्तीमा पुगेर अन्नसँग साटी जीविकोपार्जन गर्ने र जंगली जनावर बाँदरको सिकार गर्ने परम्परा अझै पनि छ । राउटेहरु प्रायः कर्णाली प्रदेशका दैलेख, सुर्खेत, सल्यान लगायतका पहाडी जिल्लाका वन क्षेत्रमा अस्थायी टहरा बनाएर बसोबास गर्छन् । राउटेहरुको मुख्य जीविकोपार्जन काठका सामाग्रीहरू बनाएर विनिमय प्रणालीमार्फत अन्न वा अन्य सामग्री प्राप्त गर्नु हो । कृषि, पशुपालन वा स्थायी रोजगारीमा संलग्नता नरहेका उनीहरुको जिविकोपार्जनसँगै सुरक्षा दिनु राज्यको पहिलो दायित्व हो । यसर्थ, राउटे समुदायलाई सुरक्षा दिन उनीहरुसँगै रहने गरी प्रहरीको यथासिंघ्र व्यवस्थापनमा राज्यले ध्यान दिनु पर्दछ ।





