को हुन् कर्णालीबाट मन्त्री बन्ने  चर्चामा रहेकी टासी ल्हान्जोम ?

ओम शाही । 
सुर्खेत, २८ असोज ।
जुम्लाबाट निर्वाचित निवर्तमान प्रतिनिधिसभाका सांसद ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही)ले २३ असोजमा व्यक्तिगत सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणासहितको टिप्पणी सार्वजनिक गरे । उनले फेसबुकमा भनेका छन्, ‘अब बन्ने मन्त्रीपरिषद्मा भारतको धर्मशाला, तिब्बती क्याम्पमा अध्ययन गरेकी विदेशी राजदूतावासमा अस्थायी कर्मचारी भएकी एउटा फ्रि तिब्बत अभियानकी अभियन्तालाई सहभागी गराइने चर्चा छ । उसका बाउ–बाजे तिब्बतबाट दलाई लामासँगै भागेर आएका तिब्बती शरणार्थी हुन् । तर, उनका बाउआमाले नक्कली नागरिकता लिँदै कर्णालीमा बसेका छन् ।’
शाहीको यो भनाइ यस्तो समयमा आयो–जुन बेला हुम्लाको लिमी िनवासी टासी ल्हान्जोमको जेन–जी आन्दोलनपछि विकसित राजनीतिक कोर्सबाट गठित अन्तरिम सरकारको मन्त्रीपरिषद्मा प्रतिनिधित्वको विषय सार्वजनिक भयो । यो विषय सार्वजनिक भएपछि शाही सामाजिक सञ्जालमा निकै राष्ट्रवादी ठहरिए । उनले टासीको नाम लिएका छैनन् । तर, कर्णालीको उत्तरी जिल्ला हुम्ला, त्यसमा पनि हिमालपारिको गाउँका नामले चिनिने लिमी गाउँकी टासीलाई शाहीले नेपाली नागरिक नै ठानेनन् । तर, पछि उनी आफ्नो सर्वजनिक टिप्पणी नै सच्याउन बाध्य भए ।
शाहीले भनेका छन्, ‘जो वास्तविक कर्णालीको बासिन्दा नै होइन, एउटी तिब्बतीयन नेपालको मन्त्रीपरिषद्को सदस्य बन्ने कुरा सुन्नमा आएको छ । यदि यसरी आँखाअगाडि राष्ट्रघात गर्दै नेपालको सार्वभौमसत्ता र राष्ट्रिय अखण्डतालाई आँच पुग्ने काम यो सरकारले गर्‍यो भने याद गर सरकार !’ शाहीकै अभिव्यक्तिलाई लिएर समाचार आएपछि उनले बिहीबार कुरा फेरेका छन् ।
‘समाचारमा आएका कुराको खण्डन गर्दै भनेका छन्, ’म भन्छु, मैले कोही पनि व्यक्तिको नाम तोकेर विदेशी एजेन्ट हो भनेको छैन । तर, चोरको खुट्टा काटभन्दा खुट्टा लुकाउने प्रवृत्ति देखाउनु भएन ।’ उनले भनेका छन्, ‘हामीले याद गर्नुपर्छ, यो राष्ट्र अंग्रेज, तिब्बत र मुगलसँग तपाईं हाम्रा पुर्खाहरूले रगत बगाएर आर्जेको र जोगाएको हो । त्यसैले राष्ट्रघात हुनबाट, युक्रेनजस्तो हुनबाट जोगाउनु हामी सबैको कर्तव्य हो ।’
सरकारी दस्तावेजहरू केलाउने हो भने टासी हुम्लाको नाम्खा गाउँपालिका– ६ निवासी हुन् । उनलाई जिल्ला प्रशासन कार्यालय हुम्लाले ५९–०१–७४–०१०४२ नम्बरको नागरिकता दिएको छ । नाम्खा गाउँपालिका– ६ को कार्यालयले उनी त्यहीँकी बासिन्दा हुन् भनेर सिफारिस नै गरेको छ । टासीको जन्म २९ कात्तिक २०५६ मा भएको हो ।
उनको परिवार हालका मितिसम्म पनि सोही ठाउँका स्थायीवासी हुन् । गत २७ देखि २९ वैशाखसम्म श्रीज्योति फाउन्डेसनको आयोजनामा सम्पन्न ‘कर्णाली छोरी सम्मेलन’मा हिमालपारिको लिमी गाउँबाट संघर्ष गर्दै उठेकी उनै टासी आफ्ना अनुभव सुनाउन वीरेन्द्रनगर आएकी थिइन् ।
टासीले राज्यबाट पिल्सिएको कर्णाली, त्यसमा पनि हुम्लाको उत्तरी क्षेत्रका नागरिकले भोग्नुपरेको वर्तमान अवस्थाबाट उठेर काठमाडौंहुँदै भारतको नयाँ दिल्लीसम्म पढ्न जाँदाको अनुभव सुनाएकी थिइन् । टासीले नेपाल—अमेरिका फिल्म फेस्टिबलमा ‘बेस्ट डकुमेन्ट्री अवार्ड’ पाएकी थिइन् । नेपाल कल्चरल इन्टरनेसनल फिल्म फेस्टिबलमा पनि उनले ‘बेस्ट नेसनल डकुमेन्ट्री अवार्ड’लगायत थुप्रै पुरस्कार पाएकी थिइन् । टासी आफू कलेज पढ्दादेखि नै फिल्म क्षेत्रमा रुचि राख्थिन् । समय मिलेसम्म यो क्षेत्रमा काम पनि गर्थिन् ।
‘कलेजदेखि नै फिल्ममा पनि काम गर्थें, मेरो पहिलो फिल्म डकुमेन्ट्री नो मोनास्ट्री नो भिलेज थियो, जलवायु परिवर्तन र संस्कृतिका बारेमा यो डकुमेन्ट्री बनाएको थिएँ,’ उनले अनुभव सुनाउँदा भनिन्, ‘यो फिल्म मैले आफ्नै गाउँको अवस्थालाई मध्यनजर गरेर बनाएको हो । यसको छायांकन लिमीमै भएको थियो ।’
टासी हुम्लाको नाम्खा गाउँपालिका—६, लिमी भ्यालीमा जन्मिएकी हुन् । उनको पढ्ने उमेर हुँदासम्म पनि त्यो गाउँमा विद्यालय थिएन । उनी सन् २००७ मा ६ वर्षको हुँदा लिमीबाट पढाइका लागि काठमाडौं गइन् । त्यतिबेला उनीसँग अरु १८ जना पनि थिए । टासी काठमाडौं गएर निजी विद्यालयमा भर्ना भइन् । आफू काठमाडौं पढ्न जाँदा आफ्नो बोल्ने मातृभाषा नेपाली नहुँदा पाठ्यक्रम पछ्याउनै सुरुमा समस्या भएको उनले सुनाइन् । भाषाकै कारण आफूलाई सुरुमा पढ्न गाह्रो भएको उनी बताउँछिन् ।
कक्षा–८ सम्म काठमाडौंमा पढेकी टासी त्यसपछि छात्रवृत्ति पाएर पढाइकै लागि भारत गइन् । उनले भारतमा १२ कक्षासम्म पढिन् । त्यसपछि दिल्ली विश्वविद्यालयको हिन्दु कलेजमा पढ्न थालिन् । उक्त कलेजमा उनले राजनीतिशास्त्र पढेकी हुन् । उनले छोटो समय नेपालस्थित अमेरिकी दूतावासमा पनि काम गरेकी छन् । दूतावासमा उनले राजनीति र अर्थतन्त्रको क्षेत्रमा रहेर काम गरिन् । त्यतिबेला उनले आफ्नोजस्तो भूगोल, पछाडि पारिएको क्षेत्रमा सरकारले नजर लगाउनुपर्छ भन्ने धारणा राखेकी थिइन् ।
‘हाम्रो गाउँको मान्छेले पनि सरकार भएको अनुभूति गरेका छैनन्, राज्यले दिएका अधिकारहरू त्यहाँका मान्छेले प्रयोग गर्न पाएका छैनन्, राजनीतिमा हाम्रा मान्छेहरू छैनन्,’ उनले भनेकी थिइन, ‘मेरोजस्तो गाउँ समाजलाई राज्यले जनतालाई दिएका अधिकारहरू छन् भनेर जानकारी गराउनुपर्ने अवस्थासम्म छ, राज्यमा हाम्रो उपस्थिति होस् भन्ने चाहना म पहिलेदेखि नै राख्थेँ ।’
राज्यभित्र हुम्ली आदिवासी र हुम्ली समुदायको पनि प्रतिनिधित्व होस् भन्ने उनको धारणा छ । उनले नेपालको हिमाली भेगमा जलवायु परिवर्तनसम्बन्धी संवेदनशील विषयवस्तुहरूलाई वृत्तचित्र एवं श्रव्य–दृश्यहरूमार्फत उठान गर्दै आएको व्यक्तिलाई सामाजिक सञ्जालमा आधारविहीन र बदनियत ढंगबाट भइरहेको लाञ्छित आक्रमणको निन्दा गरिन् ।
जेन–जी विद्रोहपश्चात्‌को गतिशील राजनीतिक प्रक्रियामा इन्डिजिनियस जेन–जी कलेक्टिभ्सको सदस्यको रूपमा सक्रिय अभियन्ता टासीले ‘हेर्दै नेपालीजस्तो नदेखिने’, ‘नेपाली भाषा राम्रोसँग बोल्नै नजान्ने’, ‘विदेशी शक्तिहरूद्वारा परिचालित’, ‘नक्कली नागरिकता लिएको’जस्ता तथ्यहीन र कपोलकल्पित आरोपमा कुनै सत्यता नरहेको बताइन् ।
‘नेपालमा आदिवासी समुदायहरू शताब्दियौँदेखि योजनाबद्ध रूपमा विविध हिसाबले राज्यबाट बहिष्कृत हुँदै आएका छन् ।
गैरखस–नेपाली भाषा, गैरहिन्दु संस्कृति एवं जीवनपद्धति, मंगोलियन अनुहार र शारीरिक बनावटकै आधारमा उनीहरूलाई ‘खाँट्टी नेपाली हुन नसक्ने’ मिथ्या आरोपसँगै राष्ट्रिय पहिचान र सार्वजनिक जीवनबाटै बारम्बार विमुख बनाउने प्रयास गरिँदा निकै दुःख लागेको छ,’ टासीले भनिन् । उनले योग्यता र विज्ञताका आधारमा गरिएको कामलाई राष्ट्रद्रोहको संज्ञा दिइने मानसिकताबाट माथि उठ्न जरुरी रहेको उल्लेख गर्दै आफूलाई अनावश्यक विषयमा जोडेर चरित्रहत्या नगर्न पनि उनले आग्रह गरिन् ।
को हुन् कर्णालीबाट मन्त्री बन्ने  चर्चामा रहेकी टासी ल्हान्जोम ?

सम्पादकीय : राउटेको सुरक्षामा ध्यान देऊ !

को हुन् कर्णालीबाट मन्त्री बन्ने  चर्चामा रहेकी टासी ल्हान्जोम ?

जुम्लाबाट साढे चार हजार मेट्रिकटन स्याउ बिक्री 

Leave a comment

Your email address will not be published. Required fields are marked *