बाँकेमा ३७ करोड सहकारी ठगी प्रकरणः तीन जना पक्राउ, अदालतको फैसला कार्यान्वयन

२०, भदौ २०८२
बाँके ।बाँकेमा सहकारी ठगी प्रकरणमा संलग्न तीन जना पक्राउ परेका छन्। नेपालगञ्जस्थित सहकारी वित्तीय विकास संस्थामा ३७ करोड रुपैयाँभन्दा बढी हिनामिना गरेको मुद्दामा दुई तहको अदालतले सजाय सुनाएपछि अध्यक्ष हरदेवबक्स चौधरी, सिद्धिकुमार महर्जन र सुरत खटिकलाई अदालतको फैसला कार्यान्वयन टोलीले पक्राउ गरेको हो।

अदालतले अध्यक्ष चौधरीलाई ५ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना तोकेको छ। यसअघि उनी १ वर्ष कैद बसेर २५ लाख धरौटीमा छुटेका थिए। जिल्ला अदालतको फैसलालाई उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासले सदर गरेसँगै ती तीन जनालाई पक्राउ गरिएको हो।

सहकारी घोटालामा संलग्न १९ जनालाई अदालतले कसुरदार ठहर गरेको छ। तीमध्ये ७ जनाले कैद र जरिवाना भुक्तानी गरिसकेका छन् भने अरू फरार छन्। कैद र जरिवाना भुक्तानी गरेका व्यक्तिहरूमध्ये पनि बिगो तिर्न बाँकी रहेको छ। अदालतले दोषीलाई कैद, जरिवाना र बिगो भराउने सजाय सुनाएको हो।

२०७६ असोज २८ गते जिल्ला अदालतमा सहकारी ऐन, ठगी र सङ्गठित अपराध मुद्दा दर्ता भएको थियो। सो प्रकरणमा २०८० पुस २६ गते जिल्ला न्यायाधीश इन्द्रबहादुर कठायतको इजलासले ४१ मध्ये १९ जनालाई कसुरदार ठहर गरेको थियो।

२०८२ जेठ १४ गते उच्च अदालतले जिल्लाको फैसलालाई सदर गर्दै पीडित पक्षका प्रतिनिधि, जिल्ला प्रशासन र अन्य निकाय समावेश हुने गरी सहकारी सञ्चालक टोली गठन गर्न आदेश दिएको थियो। उक्त टोलीले विशेष साधारण सभा बोलाउने आदेशसमेत दिएको पीडित संघर्ष समितिका सह–संयोजक आशुतोष शुक्लाले जानकारी दिनुभयो।

बाँकेको यो ठूलो सहकारीमा १२ हजार ८ सय ४ जना बचतकर्ता छन्। तीमध्ये १ हजार ५ सय ६ जनाले जिल्ला प्रहरी कार्यालयमा सनाखतसमेत गरिसकेका छन्।

बाँकेमा ३७ करोड सहकारी ठगी प्रकरणः तीन जना पक्राउ, अदालतको फैसला कार्यान्वयन

सुर्खेतमा नक्कली बिहे गराई ठगी गर्ने दुई

Leave a comment

Your email address will not be published. Required fields are marked *