सात अर्ब लगानीमा जालपादेवी केवलकार बनाइँदै


करिब ७ अर्ब लगानीमा सुदूरपश्चिमको प्रदेशद्वार चिसापानीबाट राजकाँडासम्म चल्ने केवलकार निर्माण हुने भएको छ ।

जालपादेवी केवलकार कम्पनीको सात अर्ब लगानीमा पर्यटकीय पूर्वाधारसहित सो केवलकार निर्माण थालेको हो । गत बैशाखमा सुरु भएको पहिलो चरणको काम सकिएपछि कम्पनीले निर्माणको चरणमा प्रवेश गरेको छ ।

दुई वर्षमा निर्माण सम्पन्न गरी पूर्ण रुपमा सञ्चालनमा ल्याउने उद्देश्यका साथ काम गरिरहेको कम्पनीका सञ्चालक सूर्यबहादुर थापाले बताए । केवलकार एक वर्षमै सञ्चालनमा ल्याउने बताउँदै उनले यही पुस १३ गते केबलकारको स्टेशन सिलान्यास गरिने बताए ।

केवलकारलगायत सम्पूर्ण पूर्वाधारको डीपीआर केही दिनमै आएपछि लागत एकीन हुने बताउँदै सञ्चालक थापाले त्यसपछि टेण्डर आव्हान गरी निर्माणको काम सुरु गर्ने बताए । उनले राइट अफ वेमा पर्ने रुख काट्ने र सरकारबाट कम्पनीको नाममा जमिन लिने काम सकिएको बताए । आयोजना स्थलका एक हजार ८६६ वटा रुख काटिएका छन् भने केबलकार सञ्चालनका लागि २० बिघा जमिन कम्पनीका नाममा सारिएको छ ।

चिसापानीदेखि राजकाँडासम्म केबलकारको कुल लम्बाई ३.१ किलोमिटरको रहने छ । केबलकारमा १५ वटा टावर र ३४ वटा गोन्डुला रहने छन् । चिसापानीदेखि राजकाँडासम्मको केबलकार यात्रा करिब १० मिनेटको रहने कम्पनीले जनाएको छ । सञ्चालक थापाले केलबकारबाट दैनिक ५ हजार जनाले सेवा लिन सक्ने जनाए ।

केबलकार निर्माणसँगै राजकाँडामा रहेको जलपादेवी, कालभैरव, कालिकादेवीको मन्दिरको स्तरोन्नती गरिनुका साथै राजकाँडामा एक सय र चिसापानीमा ५० बेड क्षमताको होटलसमेत निर्माण गरिने सञ्चालक थापाले बताए । कर्णाली नदीमा रहेको चिसापानी पुल नजिकैबाट सुरु हुने जालपादेवी केवलकारबाट कर्णाली नदी, जालपादेवी, कालभैरव, कालिकादेवी, कैलाशधामलगायतका धार्मिक स्थल, हात्ती ढुंगाको अवलोकन गर्न सकिने छ ।

जालपादेवी केबलकार सुदूरपश्चिम प्रदेशमा निजी क्षेत्र ठूलो लगानीमा बनिरहेको पहिलो पर्यटकीय पूर्वाधार हो । यसमा ६० प्रतिशत स्थानीय र ४० प्रतिशत चन्द्रागिरि केबलकार कम्पनीले लगानी गरिरहेको छ । केबलकारबाट हुने कुल आम्दानीको २ प्रतिशत स्थानीय सरकारलाई रोयल्टी दिइने छ भने हजारौं व्यक्तिकाको रोजगारीसमेत सिर्जना हुने सञ्चालक थापाले बताए ।

केवलकारको स्टेशन चिसापानीमा परराष्ट्रमन्त्री आरजु राणा देउवा प्रमुख आतिथ्यता र उद्योग मन्त्री दामोदर भण्डारी र नागरिक उड्डयन तथा पर्यटन राज्यमन्त्री अरुण चौधरीको सहभागितामा शनिबार शिलान्यास गर्ने कार्यक्रम तय भएको छ । चन्द्रागिरि केबुलकारका सञ्चालकसमेत रहेका नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र व्यवसायी तथा जिल्ला समन्वय समिति कैलालीका पूर्व प्रमुख सूर्यबहादुर थापाको गत बैशाखमा पुजा गरी पहिलो चरणको काम सुरु गरेका थिए ।

चिसापानी पहाड र तराइको संगमस्थल हो भने राजकाँडा चुरे पहाडको सबै भन्दा अग्लो ठाउँ हो । चिसापानीमा एकदमै गर्मी भइरहेको बेला राजकाँडामा चिसो मौसम हुन्छ । केबलकार बनेपछि १० मिनेटकै अन्तरमा फरक मौसमको अनुभव लिन पाइने सञ्चालक थापाले बताए ।

राजकाँडाको समस्या र सम्भावना
सडक लगायत पूर्वाधार नबनेका कारण ओझेलमा परेका सुदूरपश्चिम प्रदेशको पर्यटकीय गन्तव्यमध्ये मोहन्याल गाउँपालिका–७ मा पर्ने राजकाँडा पनि एक हो । चिसापानीबाट छ किलोमिटर ठाडो उकालो चढेपछि आउने राजकाँडाको प्रमुख समस्या नै चिप्लो र ठाडो बाटो हो । त्यहाँ शुद्ध पिउने पानीको पनि उत्तिकै समस्या रहेको स्थानीयले बताए ।

चुरे क्षेत्रको सर्वाधिक अग्लो डाँडा भएकाले कैलालीको राजकाँडाबाट सुदूरपश्चिमका धेरैजसो पर्यटकीय क्षेत्र तथा स्थानको सजिलै अवलोकन गर्न सकिने त्यहा पुगेका पर्यटकको अनुभव छ ।

राजकाँडाबाट भेरी र कर्णाली नदीको संगम, तराईमा कर्णालीको तीन भंगाला र कर्णालीका भंगालाहरुले बनाएका टापुहरु, बर्दिया राष्ट्रिय निकुञ्ज, तराईका फाँटहरु, भारतमा चलेको रेल, तथा कर्णाली तथा सेतीका हिमश्रृंखलाको अवलोकन गर्न सकिन्छ ।

मौसम सफा भएको बेला अपि, व्यास, साइपाल हिमालको चुचुरो देखिनुका साथै सुदूरपश्चिमको प्रवेशद्वार चिसापानी, कर्णाली पुल पनि स्पष्ट रुपमा हेर्न सकिने स्थानीयको भनाइ छ । राजकाँडाको सबैभन्दा अग्लो चुचुरोबाट सूर्योदय र सूर्यास्तसमेत देखिने गरेको स्थानीय उत्तर विष्टले बताए । प्राकृतिक रुपमासुन्दर राजकाँडा सूर्याेदय अवलोकनका लागि पनि प्रसिद्ध छ ।

ठाडो कुमालो बाटो भएपनि जम्मा दुई घण्टामा उक्लिन सकिन्छ । तर राजकाँडामा उत्पादन भएका कृषि उपज तराई लगेर बेच्न र तराईबाट सामान ल्याउन कठिन छ, राजकाँडाबासीलाई । राजकाँडामा पर्यटकीय सम्भावना मात्रै छैन, त्यहाँको मौसम सधैंभरि हिउँद जस्तै हुने भएकाले वर्षभरि काउली, बन्दा, गोलभेंडा, आलुलगायतका हिउँदे तरकारी खेती गर्न सकिने विष्टले बताए । तर बाटो नभएकाले उत्पादन भएका सुन्तला, नास्पाती, केरालगायतका फलफूलले बजार नपाएको स्थानीय डम्बर बुढाले बताए ।

राजकाँडाको सम्भानालाई समानका लागि पहिलो प्राथमिकता साथ बाटो बनाइदिन उनले माग गरे । उनले बाटोसँगै खानेपानीको व्यवस्था भएमा राजकाँडामा आएका पर्यटकलाई होम स्टेको व्यवस्था गरेर स्वागत गर्न सकिने बताए । राजकाँडामा बाह्रै महिना चिसो हुने भएकाले त्यहाँ फलफूल र तरकारी खेती पनि फस्टाउने गरेको छ । सबैभन्दा धेरै र स्वादिष्ट नास्पाती उत्पादन भएपनि बाटो नभएकै कारण बजार नपाउने गरेको बुढाले बताए ।

लम्कीबजारबाट राजकाँडा हुँदै सुंगरखालको कुइनेसम्म पुग्ने मोटरबाटो निर्माणकै चरणमा छ । सो बाटोको ट्रयाक राजकाँडासम्म खोलिएको छ । तर बीचमै गएको पहिरो र कटानले गर्दा मोटरबाटो बाह्रै्र महिना चल्न नसक्ने अवस्थामा छ । सो बाटोमा लम्कीबाट राजकाँडासम्म १० किलोमिटर पर्छ । बाटो बनाउने काम रोकिएपछि ट्रयाक खनेको बाटो पनि भग्नावशेषमा परिणत भएको छ । स्थानीय अमरबहादुर खत्री चिसापानीबाट राजकाँडा जाने बाटोलाई पर्यटनका लागि टे्रकिङ टे्रल र लम्कीदेखि कुइनेसम्मको पुग्ने मोटरबाटो बनाइदिन माग गर्छन् ।

खानेपानी र बाटोको व्यवस्थाका गरिदिए आफूहरुको समस्या समाधान भई पर्यटन विकासमा समेत सहज हुने स्थानीय कर्णबहादुर खत्रीले बताए । ‘राजकाँडासम्म पुग्ने बाटो नभएकाले यहाँको जमिन पनि उपयोग हुन सकेको छैन’ उनले भने, ‘बाटो, बिजुली, खानेपानीको अभावले यहाँका स्थानीय तराईमा जग्गा लिएर बस्न थालेका छन् ।’

सात अर्ब लगानीमा जालपादेवी केवलकार बनाइँदै

निर्माण सामग्रीको अभावमा सिँचाइ आयोजनाको काम सुस्त

सात अर्ब लगानीमा जालपादेवी केवलकार बनाइँदै

चिसोबाट जोगिन प्राधिकरणको अनुरोध