लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप सात दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । सहकारीमा बचतकर्ताको रकम ठगी प्रकरणमा पक्राउ परेका रास्वपाका सभापति लामिछानेलाई कास्की जिल्ला अदालतले थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।
न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले लामिछानेलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिएका छन् । अदालतले यसअघि दिएको छ दिनको म्याद बिहीबार सकिएसँगै प्रहरीले म्याद थपका लागि अदालतमा उपस्थित गराएको थियो ।
सूर्यदर्शन सहकारीको रकम हिनामिना प्रकरणमा पक्राउ परेका लामिछाने र पूर्वडीआईजी छविलाल जोशीलाई बिहीबार प्रहरीले म्याद थपका लागि अदालतमा उपस्थित गराएको थियो । गत शुक्रबार जोशीको गत असोज १७ गतेबाट लागू हुने गरी २० दिनको म्याद थप भएको थियो ।






