जुम्लामा सुपथ मुल्य पसल संचालन हुने

खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेड जुम्लाले असोज १३ गतेबाट जुम्लामा सुपथ मूल्यको खाद्य पसल संचालन गर्ने भएको छ । चाडबाडलाई लक्षित गर्दै सुपथ मुल्यको खाद्य पसल संचालन गर्न लागिएको कार्यालय प्रमुख सन्तोष तिवारीले बताए ।
असोज १३ देखि आउदो माघ २ गतेसम्म सुपथ मुल्यको खाद्य पसल संचालन हुनेछ । सुपथ मुल्यको खाद्य पसलबाट प्रति केजि चामलमा ५ रुपैयाँ छुट दिइनेछ । स्ट्रिम जिरा मसिनो चामल २ दुई हजार ४ सयमा हाल विक्रि हुने गरेकोमा सुपथ मुल्यको खाद्य पसलबाट २ दुई हजार २ सय ७५ मा विक्रि हुने उनले बताए ।
यस्तै सोना मनसुलि चामल हाल १ हजार ७ सय ५० मा विक्रि हुँदै आएकोमा १३ गतेबाट १ हजार ६ सय २५, अरुवा मोटो १६ सय ७५ मा हाल विक्रि हुँदै आएकोमा १५ सय ५० रुपैयाँमा सुपथ मुल्यको खाद्य पसलबाट विक्रि हुने तिवारीको भनाइ छ । हालका लागि चामल विक्रि कार्य बन्द छ । चालु आर्थिक वर्षका लागि ९ हजार क्वीन्टल चामलको कोटा मध्ये हालसम्म २ सय ७० क्वीन्ट चामल आई सकेको कम्पनिका लेखा प्रमुख लक्ष्मण शर्माले बताए ।
उनका अनुसार, तिला गाउँपालिकाको जुम्लाकोट र सिंजा गाउँपालिकाको धाँपा डिपोबाट पनि सुपथ मुल्यको खाद्य पसल संचालन हुनेछ । उक्त स्थानीय तहका नागरिकलाई सम्बन्धित ठाउँबाटै सुपथ मुल्यमा चामल लिन सक्ने छन् । तातोपानीको पाताथरसाँघु, पातारासीको लुम र हिमा गाउँपालिकाको बाँजागाड विक्रि केन्द्रबाट पनि सुपथ मुल्यमा चामल विक्रि हुनेछ । यसैगरी, खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेड जुम्लाबाट गत वैशाख महिनाबाट पोषिलो चामल विक्रि हुँदै आएको छ । साविक कर्णालीका हुम्ला, डोल्पा, जुम्ला, मुगु र कालिकोटमा यो चामल विक्रि हुने गरेको छ ।
पौष्टिक तत्वको अभावमा कुपोषणको समस्या बल्झिएपछि त्यसलाई न्यूनीकरण गर्न सरकारले पोषिलो चामल उत्पादन गरेर वितरण सुरु गरेको हो । पोषिलो चामल अरु चामलकै मुल्यमा विक्रि हुन्छ । बर्दियाको राजापुरमा पौष्टिक तत्व मिलाइएको चामल उत्पादन सुरु हुने गरेको कार्यालय प्रमुख तिवारीले बताए । भिटामिन र खनिजको मिश्रणलाई चामलको पिठोमा मिलाइ मेसिनबाट चामलको जस्तै आकार र रङ हुनेगरी यो चामल उत्पादन सुरु भई विक्रि समेत भई सकेको उनको भनाइ छ ।
पोषिलो चामलमा आइरन, जिंक, भिटामिन ए, फोलिक एसिड, भिटामिन बी–१२, थायमिन, नियासिन र पाइरिडक्सिन लगायतका पौष्टिक तत्व मिसाइएको छ । पोषिलो चामल खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेड जुम्लाबाट गत वैशखामा ७३ क्वीन्टल, जेठमा २ सय ४४ क्वीन्टल, असारमा १ सय २५ क्वीन्टल, साउनमा ४ सय क्वीन्टल र भदौमा १ हजार ३ क्वीन्टल विक्रि भएको छ ।





