कर्णालीका सबै जिल्लामा आइतबारदेखि विद्युत् अवरुद्ध

कर्णाली प्रदेशमा दुई दिनदेखि विद्युत् अवरुद्ध भएको छ । कोहलपुर–सुर्खेत ३३ केभी प्रसारण लाइनमा आइतबार बिहानैदेखि बबई र हर्रेको बिच खोलामा रुख ढलेर करिब ६ वटा पोलको तारमा क्षति पुगेपछि विद्युतविहीन बनेको हो ।
बर्षातको समय र घना जङ्गलबिचमा भएकाले प्राधिकरणका कर्मचारीहरू बिहानैदेखि क्षतिग्रस्त ठाउँ खोज्न हिँडेपनि आइतबार बेलुका ६ बजेतिर मात्र पत्ता लागेको र मर्मतको काम भइरहेको प्राधिकरणले जानकारी दिएको छ । विद्युत् अवरुद्ध भएपछि कर्णालीमा नेपाल टेलिकमको नेटवर्क सेवा प्रभावित भएको छ । लामो समयसम्म विद्युत् अवरुद्ध हुँदा उद्योग, व्यवसाय, अस्पताल, बैंकलगायतका क्षेत्र प्रभावित भएका छन् ।







