छाउ गोठमा बसेकी एक किशोरी मामाबाट बलात्कृत

अछाम जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–२ मा छाउगोठमा बसेकी एक किशोरी बलात्कृत भएकी छन । बलात्कृत पछि १२ घण्टा वेहोस भएकी किशोरीको उद्धार गरी जिल्ला अस्पतालमा स्वास्थ्य परिक्षण गरिएको छ । अस्पताल श्रोतले करिब १२ घण्टा बेहोस भएको जनाएको छ । किशोरीको अस्पताल पुगेपछि उपचारका क्रममा ३ घण्टापछि होस आएको बताईएको छ ।

मामाघरमा बसेर पढिरहेकी १६ वर्षीया किशोरी सोमबार मध्यराति मामा नाता पर्नेबाट बलात्कृत भएकी हुन । बलात्कारमा संलग्न १७ बर्षिय मामा पर्ने किशोरलाई पक्राउ गरिएको अछामका प्रहरी प्रमुख डीएसपी सन्तोष पाठकले बताएका छन । स्थानीयवासीहरुले छारे रोगले बेहोस भएको हुन सक्ने भन्दै उद्धार कार्य ढिलो गरेका थिए ।

होसमा आएकी किशोरीले आफू राति २ बजे पिसाब फेर्न छाउगोठ बाहिर निस्केका बेला मामा नाता पर्नेले बलात्कार गरेको बताएपछि घटनाको रहस्य वाहिर आएको हो ।पीडित किशोरीलाई मंगलबार दिउँसो करिब साढे १२ बजेतिर बेहोस अवस्थामा जिल्ला अस्पताल पुरयाइएको थियो ।

जिल्ला अस्पताल अछामकी सूचना अधिकारी गंगा बुढा मगरले अस्पताल ल्याएको ३ घण्टापछि मात्रै पीडितलाई होस आएको बताएकी छन । अहिले प्रहरीले छाउगोठ समेत भत्काएको छ ।

सामाजिक रुपमा अन्धविश्वासको रुपमा रहेको छाउप्रथाका कारणले धेरै महिलाहरु महिनावारी भएको बेला वाहिर वस्ने चलनले बलात्कृत हुने मात्र होइन अकालमा ज्यान समेत गुमाउने गरेका छन ।

यसअघि पनि सुदूरपश्चिममा बलात्कृत भएर, निसासिएर, सर्पले टोकेर १४ जना महिला तथा किशोरीले छाउगोठमा ज्यान गुमाइसकेका छन । चार वर्षअघि मात्र साँफेबगर नगरपालिका–३ सिद्धेश्वरकी २० वर्षीया पावर्ती बुढा रावतको छाउगोठमा निसासिएर मृत्यु भएको थियो । सरकारले छाउप्रथा हटाउन अछाममा मात्र १० हजारभन्दा बढी छाउगोठ भत्काइएको थियो ।

छाउ गोठमा बसेकी एक किशोरी मामाबाट बलात्कृत

YUGAAWHAN NATIONAL DAILY (2081-03-05)