८५ वर्षीया वृद्धाको आँखाको ज्योति फर्केपछि हर्षित


दाहिने आँखा बन्द भएपछि विगत तिन वर्षदेखि नातिनातिनाको सहयोगमा भित्रबिहिर गर्दै आएकी एक वृद्धाको शल्यक्रियापश्चात आँखाको ज्योति फर्केपछि उनको खुसीको सीमा नै रहेन् ।

बरिष्ठ नेत्र रोग विशेषज्ञ डा.सन्दुक रुईतले उनको आँखाको पट्टी खोलेपछि तपाईं भगवान हुनुहुँदो रहेछ भन्दै ८५ वर्षीया बाचुँ बोहोराले नमस्ते गरिन् । जुम्लाको विकट मानिने पातारासी गाउँपालिका –३ की बाचुँको एक आँखा तीन वर्षदेखि बन्द थियो । आफ्नो घर भित्र बाहिर गर्न पनि साहारा चाहिन्थ्यो । उनको साहारा र भरोसाको रुपमा नातिनातिना थिए । उमेर ढल्केसँगै उनको आँखामा मोतियाविन्दुले ढपक्कै ढाकेको थियो ।

आँखा देख्न छोडेपछि सहाराबिना भित्रबाहिर पनि हिँड्न सक्नु भएको थिएन । १६ वर्षीय नाति गोविन्द बोहोराले भने,‘मोतिविन्दुको शल्यक्रिया गरेपछि अहिले हजुर आमाले दुवै आँखा देख्नु भएको छ ।’ प्रतिष्ठानकै परिसरमा उनले आँखा देख्ने बितिक्कै डाक्टरलाई नमस्ते गर्दै भनिन्, ‘अहिले सबै देखियो,आँखा नदेख्दा संसारै अन्धकार थियो,अहिले झलमल भयो ।’ आँखा मोतियाविन्दुले ढाकेकाहरुको शल्यक्रिया गरिएको थियो । उनकोमात्र होइन जुम्लाको तातोपानी गाउँपालिका–७ बारागाउँका ६२ वर्षीया सबने रावतको पनि खुसीको सीमा थिएन ।

दाहिने आँखामा फुलो परेर विगत ९ वर्षदेखि नै देख्न छोडेका थिए । देब्रे आँखाको भरमा जीवन गुजार्दै आएका थिए । देब्रे आँखा पनि मोतियाविन्दु ढाकेकाले एक वर्षदेखि अन्धकारमय जीवन बिताईरहेका थिए । सदरमुकाममा अवस्थित प्रतिष्ठानमा आँखाको मोतियाविन्दुको शल्यक्रिया गरेपछि उनले फेरि उज्यालो देखेपछि खुसी व्यक्त गर्दै भने,‘फेरि एउटा आँखाले भएपनि देखियो ,अब सजिलै हुन्छ होला । आँखामा दृष्टि नहुँदा हिँडडुल गर्न समस्या हुन्थ्यो, आफन्त ठम्याउन सकिँदैनथ्यो,’ उनले भने्, ‘अब आँखा देख्ने भएका छौं, हिँडडुल गर्न र आफन्त ठम्याउन समस्या नहुने भयो ।’

यस्तै जुम्लाको चन्दननाथ नगरपालिका –३ की ७८ वर्षीय चौदसी खत्री चस्मा हेर्दै मख्ख थिइन् । उनले सुनाइन्, ‘अब त घरमा कोही नयाँ मानिस आउँदा को हुनुहुन्छ भनेर सोध्नुपर्ने दिन गए जस्तो छ । घरदैलोमै सेवा लिन पाउँदा खुसी लागेको उनको भनाइ छ ।’ उनीसँगै साथमा थिए,चन्दननाथ नगरपालिका–३ कै ७९ वर्षका दुर्गबहादुर खत्री । दृष्टि फर्केपछिको खुशी खत्रीको अनुहारमा प्रष्टै देखिन्थ्यो । ‘आँखामा ज्योति नहुँदाको पीडा शब्दमा व्यक्त गर्न नसकिँदो रहेछ,’ शल्यक्रियापछि दृष्टि फर्किएपछि खुशी हुँदै उनले भने, ‘बुढेसकालमा आँखाको ज्योति पाएँ, फेरि संसार देख्ने भएको छु ।’ उनले भने, ‘ निःशुल्क अप्रेशन भयो, खुशी लागेको छ । ‘मोतियाविन्दूको जालोले बन्द भएका आँखा डाक्टरले खोलिदिए् ।’ शिविर नजिकै भेटिएकी अर्की अन्दाजी ७० वर्षकी दिलु बोहोरालाई शिविरका कर्मचारीले चस्मा लगाइदिएपछि उनी भन्दै थिइन्, ‘अन्नपात केलाउने, सियो समाउन,शौच गर्न,आफै पानी सारेर पिउन सक्ने बनाइदियौ ।’

माथिका केही स्थानीय त निःशुल्क आँखा शिविरबाट उपचार पाएपछि खुसी हुने प्रतिनिधि पात्रमात्र हुन् । उनीहरू जस्ता धेरै वृद्धवृद्धा र अधबैंसे धेरै शिविरमाआएकाहरु बुढ्यौलीका कारण आँखामा लागेको जालो फालेपछि दृष्टि फर्किएको खुशी एकअर्कामा साटिरहेका थिए । ‘गत भदौ २२,२३ र २४ गते कुल १ सय ८ जनाको मोतिबिम्दुको आँखा सल्यक्रिया गरिएको थियोे । कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लाको आयोजनामा गरिएको शिविरले भदौ १६ ,१७,१९ र २० गते संचालित निशुल्क आँखा शिबिर बाट जुम्लाका ८ वटै स्थानीय तह बाट मोतिबिन्दु सल्यक्रिया गर्नुपर्ने ब्यक्ति छनोट गरि कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लामा रिफर गरिएको थियो ।

अहिले डाक्टर बिश्व राज तिमिल्सिना, डा प्रकाश बम ठकुरीको टिमले प्रतिष्ठान निरन्तर उपचार गरिरहेको छ ।

८५ वर्षीया वृद्धाको आँखाको ज्योति फर्केपछि हर्षित

जुम्ली स्याउको बजारीकरणमा सधै समस्या