खुला चरिचरनले राराको सुन्दरता हराउँदै
कर्णाली प्रदेशकै रमणीय र उत्कृष्ट ठाउँ रारा ताल । जो मुगु जिल्लामा अवस्थित नेपालकै सबैभन्दा ठूलो र प्रसिद्ध तालको रुपमा रारा ताललाई लिइन्छ । रारा ताल घुमफिर गर्ने समयमा भने आन्तरिक तथा वाह्य पर्यटकको बाक्लो भिड लाग्ने गर्छ । गर्मी मौसम सुरु भएपछि रारामा घुमफिर गर्न अत्यन्तै रमाइलो र आनन्द हुने हुँदा पर्यटकको रोजाइमा रारा ताल पर्छ ।
आन्तरिक पर्यटकको प्रमुख रोजाइमा रहेको रारा ताल समुन्द्री सतहबाट २ हजार ९ सय ९० मिटर उचाइमा रहेको छ । सन् २००८ मा रामसार क्षेत्र घोषणा गरिएको यो ताल १०.८ किलोमिटर क्षेत्रफलमा फैलिएर रहेको छ । तालको औसत लम्बाइ ५ किलोमिटर, चौडाई ३ किलोमिटर र गहिराइ १६७ मिटर छ । रारा ताललाई राजा महेन्द्र शाहले वि.स २०२० सालमा स्वर्गकी अप्सरा भनेर नामकरण गरेका थिए ।

रारा राष्ट्रिय निकुञ्जमा ५१ प्रजातिका स्तनधारी जनावर र २७२ प्रजातिका चराचुरुंगी पाइन्छन् । यो तालमा विश्वमै कहीँ पनि नभेटिने ‘स्नो टाउट’ प्रजातिको माछा पाइन्छ । रारा तालको पूरा बनावट हेर्नका लागि समुद्री सतहबाट करीब ४ हजार मिटर उचाइमा अवस्थित मुर्मा टप पुग्नु पर्दछ । यो स्थानबाट रारातालको मनमोहक दृष्यका साथै सैपाल हिमालको श्रृङ्खलाको मनोरम अवलोकन गर्न सकिन्छ । यस तालमा सिस्ने हिमाल र कान्जिरोवा हिमालको मनोरम दृश्य देखिन्छ । रारा ताल पुरै हेर्नेका लागि तालको किनारै किनार एक फन्को मार्न ५ घण्टा लाग्ने गर्छ ।
रारा ताल रारा राष्ट्रिय निकुञ्जभित्र पर्ने भएकाले रारासम्म सवारी साधन प्रवेश निषेध छ । मिली चौरमा सवारी साधन रोकेर रारा तालतर्फ पैदल यात्रा गर्नु पर्छ । तर, पैदल यात्रा गर्न नसक्नेहरुका लागि घोडाहरुको व्यवस्था रहेको छ । तर, अहिलेको मौसममा घोडाहरुलाई चरनका लागि पाटन लगिएको हुन्छ ।
त्यसले गर्दा पैदल यात्रा गरेर नै राराताल पुग्नु पर्छ । आजभोलि रारा ताल वरपर खुला पशुचौपायाले भरिभराउ भएको देख्न सकिन्छ । ताल क्षेत्रको हरियाली र फूल्दै गरेका फूल पशुचौपायाले खाएर रारा ताल आसपासमा फूलेका फूल देख्न पाइदैन् । जसले गर्दा ताल वरपरको सुन्दरातामा कमी आएको छ ।
रामसार क्षेत्रमा पर्ने ताल आजभोलि चरन क्षेत्र बनेको छ । ताल आसपासमा पलाउन लागेका हरियो घाँसलगायत विभिन्न प्रजातिका फूल पशुवस्तुले खाएर, कुल्चेर उजाड बनाएका छन् । छाडा पशुचौपायाको मलमूत्र र दिसा पिसाबले रारा तालमा पाइने विश्वमै दुर्लभ माछा र अन्य जलचरको प्रजनन र स्वास्थ्यमा समेत समस्या देखिने जानकारहरु बताउछन् । तालवरिपरिको चौर तल्लो मिली, माथिलो मिली, दोफ्या, ठाकुरज्युले लात्ती हान्ना, ओखरबोट लगायतका क्षेत्र खुला चरिचरनका रूपमा प्रयोग हुँदै आएको छ ।

रारा राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत राजु घिमिरेका अनुसार रारा क्षेत्र आसपास पहिला देखिनै चरन क्षेत्र भएकाले खुल्ला छोडेको बताएका छन् । उनले भने, ‘खडेरीको समयमा तालमा पानी खुवाउनका लागि मुम्रा गाउँ बासीले आफ्ना पशुवस्तु रारामा छोड्ने रहिछन् । त्यसैले पनि हामीले खुल्ला गरेका हौैं । मुम्रा गाउँका मान्छे आवतजावत गर्नका लागि मुख्य चलन चल्तीको बाटो राराको किनारबाटै छ । हामीले गोठालाहरुलाई पशुवस्तु रारामा नल्याउनु भनेर पनि सम्झाछौं उनीहरुले पानी खुलाउने ल्याउने भन्छन् उतै छोड्छन् । यसलाई नियन्त्रण गर्नका लागि पोष्ट बनाउने प्रस्ताव गरेका छौं । फेरी १२ बजे पछि हावा चल्ने हुँदा हामी ताल पारी बस्ने हुँदा फर्किनु पर्छ । स्थानीय हिड्ने बाटो बन्द गर्ने कुरा भइरहेको छ ।’ पहाडि निकुञ्जमा चरिचरनको व्यवस्था भएकाले पूर्ण रुपमा नियन्त्रण भने कहिले पनि हुन् नसक्ने संरक्षक घिमिरेले बताए ।
रारा ताल घुम्न जानका लागि भने अहिले सिजन होइन् । त्यसले गर्दा पनि सिजनको बेलामा भन्दा अहिले केहि मात्रै रारा घुम्न जान्छन् । यसले गर्दा आन्तरिक पर्यटकले सिजनमा बासपाउने अवस्था हुँदैन । रारा तालको छेउमै डाफँे होटल लगायत दुई वटा मात्रै बास बस्ने ठाउँ छ । यी दुई होटलमा सिजनको समयमा पर्यटकलाई रुम पुराउन सक्दैनन् । हाल भने मुम्रामा भने होमस्टे सञ्चालनमा छन् ।
रारा ताल जानको लागि हवाई तथा स्थल मार्ग दुबै प्रयोग गर्न सकिन्छ । दिनभरिमा आफ्नो रुप फेरिरहने राराताल जेष्ठदेखि आश्विन महिनासम्म विभिन्न फूलहरूले सजिएर स्वर्गकी अप्सराजस्तै देखिन्छ रारा ताल । नेपालको सबै भन्दा ठूलो रारा तालमा जति बाह्य पर्यटकको आगमन हुनुपर्ने हो त्यति हुन सकेको छैन । तर, स्वदेशी पर्यटकको भने उल्लेखनीय रुपमा आगमन हुने गरेको छ ।
यस तालको अवलोकन गर्न वर्षेनि हजारौं आन्तरिक तथा बाह्य पर्यटकहरु आउने गर्दछन् । यसका साथै छायाँनाथ मन्दिर, रारा राष्ट्रिय निकुञ्ज, चङखेली हिमाल आदी पर्यटकीय स्थलहरू यस जिल्लामा रहेका छन् । तर, भौगोलिक विकटताका कारण यी पर्यटकीय गन्तव्यहरुमा पूर्वाधार विकास हुन सकेको छैन् ।
रारा जान उपयुक्त समय
रारा भ्रमण गर्न अनुकूल समय सेप्टेम्बरदेखि अक्टोबर र अप्रिलदेखि मे महिनामा उपयुक्त हुन्छ । डिसेम्बरदेखि मार्च महिनासम्म १ मिटरसम्म हिउ पर्ने हुदाँ यहाँको तापक्रम शुन्य भन्दा पनि तल हुने भएकोले यो समयमा अनुकूल हुँदैन । तर, आन्तरिक पर्यटकहरु दसैं तथा तिहारको बीचमा बढी घुम्न जाने गर्छन् । जेठदेखि आसोजसम्मको मौसममा बिभिन्न फूलहरू फूलेर स्वर्गकी अप्सरा झैं देखिन्छ रारा ताल ।
साइकल लेन र पदमार्ग
रारा पर्यटकीय पूर्वाधार निर्माण आयोजनाको काम भइरहेको छ । निर्माण कम्पनीले जिम्मा लिएको काम लापरवाहीले गर्दा तीन वर्षदेखि अलपत्र परेको थियो । रारामा पर्यटकीय पूर्वाधार पदमार्ग निर्माणका लागि संघीय सरकारको वन तथा वातावरण मन्त्रालय अन्तर्गत आर्थिक वर्ष ०७८/७९ मा ४५ करोड २९ लाखमा खानी थोदुङ क्याराभान कन्ट्रक्सन प्रालिले ठेक्का पाएको थियो ।
योजना निर्माणको जिम्मा पाएको खानी थोदुुङ क्याराभान कन्ट्रक्सन प्रालिका प्रोपाइटर चन्द्र थकालीले ८ करोड पेश्की लिएर कामै नगरी योजना अलपत्र पारेका थिए । रारा ताल वरिपरि बनाउने भनिएको १६ किलोमिटर पदमार्ग सोलिङको काम अब ५ किलोमिटर बाँकी रहेको र वाल, पिसिसि र नाला लगायतका काम बाकी रहेको ठेकेदार जसिमल विकले जानकारी दिए । त्यसभित्रको २ किलोमिटर आफूले ठेक्का लिएको उनले बताए । यो सबैको लागत ६ अर्वमा काम भइरहेको जनाए ।

बहुुवर्षीय योजना ०८२ सालसम्म सक्नुपर्ने थियो उनले भने,‘ठेकेदार कम्पनीको लापरबाहीले काम अगाडि बढेन त्यसले गर्दा समय थप गरेर निमार्ण कार्य सम्पन्न गर्न तिन बर्ष बाँकी छ ।’ रारा राष्ट्रिय निकुुञ्जका वरिष्ठ संरक्षण अधिकृत राजु घिमिरेका अनुसार रारा राष्ट्रिय निकुञ्जभित्र पूर्वाधार निर्माणको काम तिव्र गतिका रुपमा हुन नसक्दा रारामा आउने पर्यटकलाई सुविधा दिन नसकेको बताए । रारा तालमा बन्ने पुल पनी कसले बनाउने भन्ने कुरामा अन्यौल भएको बताए । प्रस्ताव मात्रै भएको उनले जानकारी दिए ।





