तातोपानीका १ सय ११ वटा योजना मध्ये १३ वटा सम्पन्न

तातोपानी गाउँपालिका जुम्लाले चालु आर्थिक वर्षमा संचालन गरेका १ सय ११ वटा योजना मध्ये हालसम्म १३ वटा योजना सम्पन्न गरेको छ ।
सम्पन्न १३ वटा योजना मध्ये ९ वटा योजनाको अन्तिम भुक्तानि भई सकेको प्रमुख प्रशासकिय अधिकृत तिर्थवहादुर कठायतले बताए।तातोपानी गाउँपालिकाको अर्धवार्षिक सार्वजनिक सुनुवाईको अवसरमा उनले १३ वटा योजना सम्पन्न भएको अवगत गराएका हुन् ।
पालिकाका ७६, प्रदेशका १७, मुख्यमन्त्री रोजगारका ८ र संघीय सरकार २७ वटा योजना गाउँपालिकाबाट संचालनमा रहेको कठायतको भनाइ छ ।
उनका अनुसार, ८० प्रतिशत योजनाहरु सम्बन्धित वडामा पुगेर गएको असोज महिनाको मसान्तसम्म सम्झौता गरिएको उनले बताए।प्रमुख प्रशासकिय अधिकृत कठायतले भने, मुख्यमन्त्री रोजगारका ८ वटा योजना मध्ये सबै योजनाहरु सम्झौता भई २ वटा योजनाको कार्य सम्पन्न भएका छन् । यस्तै प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गतका १० वटा योजना मध्ये ७ वटा सम्झौता भई कार्यान्वयनको चरणमा छन् ।
पालिकाबाट संचालित योजनाहरु पनि कार्यान्वयनको चरणमा रहेको उनको भनाइ छ । पुँजीगत तर्फ १६ दशमलव ३५ प्रतिशत र चालुतर्फ ३९ दशमलव ८१ प्रतिशत रकम खर्च भएको कठायतले बताए । ३१ दशमलव ४२ प्रतिशत वित्तीय प्रगति हासिल गर्न पालिका सफल भएको उनको भनाइ छ । सामाजिक विकास तर्फ ४१ दशमलव १९ प्रतिशत, कार्यालय संचालन तथा प्रशासनिक तर्फ ३८ दशमलव ८५ प्रतिशत, विपद् व्यवस्थापन तर्फ १९ दशमलव ९७ प्रतिशत, आर्थिक विकास तर्फ १२ दशमलव १७ प्रतिशत र पूर्वाधार विकास तर्फ ४१ दशमलव १९ प्रतिशत रकम खर्च भएको गाउँपालिकाले जनाएको छ ।
सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागिले गरेको प्रश्नमा जवाफ राख्दै गाउँपालिका अध्यक्ष नन्द प्रसाद चौलागाईले पालिकाको गान र लोगो बनाउन सफल भएको छ । जुम्लाका ८ वटा स्थानीय तह मध्ये तातोपानी गाउँपालिकाले आफ्नै गान र लोगो बनाएको छ । यो कार्य उदाहरणीय भएको अध्यक्ष चौलागाईले बताए । पालिका भित्रका सबै परिवारको घर बीमा गर्न सफल भएको छ।
स्थानीय सरकारको स्रोत र साधनले भ्यासम्मका कामहरु गर्न सरकार सफल भएको चौलागाईको दावी छ ।स्थानीय सरकारको काम कारबाहीलाई थप व्यवस्थित र प्रभावकारी बनाउन विभिन्न ८ वटा ऐन, नियमावली, कार्यविधि र मापदण्ड निर्माण गरी १४ औँ अधिवेशनमा पेश भई पारित भएको अध्यक्ष चौलागाईले बताए ।
देशभरका ७ सय ५३ वटा स्थानीय तह मध्ये लिजा र फरामा तातोपानी गाउँपालिका ८१ अंक सहित उत्कृष्ट पाँच भित्र पर्न सफल भएको छ । लिजामा ८५ दशमलव ५ अंक प्राप्त गर्न सफल भएको उनले सार्वजनिक सुनुवाईका अवसरमा जानकारी गराए । अध्यक्ष चौलाागईले भने, जुम्लाका अन्य स्थानीय तह मध्ये तातोपानी गाउँपालिकाले फरक शैलीमा काम गरेको छ । तातोपानी गाउँपालिका जनमैत्री स्थानीय सरकारका रुपमा अघि बढेको उनको दावी छ ।
यस्तै उपाध्यक्ष रेवती रावलले माघ मसान्त सम्म न्यायिक समितिमा ८ वटा उजुरी दर्ता भएको बताउँछिन् । ति मध्ये २ वटा फच्र्याैट भएको र बाँकि ६ वटा उजुरीहरु फच्र्याैटको चरणमा छन् । तातोपानी गाउँपालिकाले फाल्गुन महिनाको २ गतेका दिनसम्म १० लाख ५१ हजार ५ सय ७१ रुपैयाँ राजश्व संकलन गर्न सफल भएको छ ।
सबै भन्दा बढी राजश्व वडा नम्बर ४ बाट संकलन भएको छ । उक्त वडाबाट १ लाख ६ सय ४३ रुपैयाँ संकलन भएको छ । सबै भन्दा कम राजश्व वडा नम्बर ६ बाट संकलन भएको छ । उक्त वडाबाट ३४ हजार ७ सय ८४ रुपैयाँ संकलन भएको छ । तातोपानी गाउँपालिका पर्यटकिय हिसाबले प्रचुर संभावना भएको स्थानीय तह हो । यो पालिकामा तातोपानी धारा र पर्यटकिय स्थल गिडिदह रहेका छन् । गुमनाम रहेको गिडि दहलाई वडा नम्बर ४ का वडाध्यक्ष अमर रोकायाको अगुवाईमा प्रचार प्रसारमा आएको हो ।
अहिले गिडिदहको चौतर्फि चर्चा सुरु भएको छ । यस्तै सार्वजनिक सुनुवाई कार्यक्रममा तातोपानी गाउँपालिकाका पूर्व अध्यक्ष नवराज न्यौपाने र वडा नम्बर ३ का वडाध्यक्ष डिल्ली रावलले स्थानीय सरकारले गरेको काम प्रति चासो व्यक्त गरेका थिए । स्थानीय सरकार जनमुखि हुनु पर्ने उनिहरुले भनाइ राखेका थिए । कुटिरो रिसर्च सेन्टर प्रालिले सार्वजनिक सुनुवाई कार्यक्रमको सहजीकरण गरेको थियो ।





