मध्यपश्चिम विश्वविद्यालयका उपकुलपतिको राजीनामा माग्दै नेविसंघको विरोध प्रदर्शन


मध्यपश्चिम विश्वविद्यालयको स्ववियु चुनाव पटक–पटक स्थगित गरिएको भन्दै नेपाल विद्यार्थी संघले उपकुलपतिको राजीनामा माग गर्दै विरोध जनाएको छ । उच्च अदालत सुर्खेतको अन्तरिम आदेशका कारण २८ गते हुने भनिएको चुनाव स्थगित भएको छ । शुक्रबार हुने चुनाव पनि स्थगित भएपछि विद्यार्थीहरु आन्दोलित बनेका हुन् ।

बिहीबार अदालतले स्ववियु चुनाव रोक्न अन्तरिम आदेश दिएको थियो । नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले नेविसंघको जित सुनिश्चित देखेपछि एमालेका मुख्यमन्त्रीको सेटिङमा चुनाव स्थगित गरेको आरोप लगाए । ‘स्ववियुको चुनावमा पनि मुख्यमन्त्री नै लाग्नु पर्ने, पार्टी नै होमिनु पर्ने,’ उनले भने, ‘दुई वर्षअघि पनि यसैगरी षड्यन्त्रपूर्वक निर्वाचन रोकिएको थियो । नेविसंघले विजय प्राप्त गर्ने सुनिश्चितता भएको देख्दा कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा मुख्यमन्त्री अखिलको कार्यकर्ताका रूपमा प्रस्तुत भएर चुनाव रोके । यसले राम्रो म्यासेज दिन्न ।’

निर्वाचन रोकेर विद्यार्थीको अधिकार कुण्ठित पार्न खोजिएको उनको भनाइ छ । विश्वविद्यालयका स्कुल अफ साइन्स एण्ड टेक्नोलोजी बिएस्पी बायोलोजी पाँचौं सेमेस्टरका विद्यार्थी रञ्जित विकसमेतले आफूहरूको नाम मतदाता नामावलीमा नरहेको भन्दै चुनाव स्थगितको मागसहित रिट दिएका थिए । नेविसंघका केन्द्रीय सदस्य तथा स्ववियुका सभापतिका उम्मेदवाररोशन बस्नेतले स्ववियु चुनाव अन्तिम समयमा स्थगित हुनु दुःखद् रहेको बताए । विद्यार्थीको मताधिकारको प्रयोग गरेर लोकतान्त्रिक अभ्यास प्रक्रियालाई सुनिश्चित गर्नु पर्ने उनको भनाइ छ ।

कुलपति, रजिष्ट्रार र निर्वाचन समितिको आन्तरिक निर्देशनमा सम्मानित अदालतसमेतलाई गुमराहमा पारी बद्नियतपूर्वक निर्वाचन स्थगित गर्ने कार्यको आफूहरुले घोर विरोध गरेको उनले बताए । ‘हाम्रो आवाज दवाउन खोजियो, न्याय पनि मरेको आभास भयो,’ उनले भने, ‘पदाधिकारीहरुको गुलाम बने उपकुलपति । निकम्मा भएर पार्टी गुहार्दै चुनाव स्थगित गरे ।’

मध्यपश्चिम विश्वविद्यालयका उपकुलपतिको राजीनामा माग्दै नेविसंघको विरोध प्रदर्शन

बिजुलीको तारमा खानेपानी पाइप

मध्यपश्चिम विश्वविद्यालयका उपकुलपतिको राजीनामा माग्दै नेविसंघको विरोध प्रदर्शन

विद्यार्थीले एक–आपसमा कपाल काट्छन्