पहिलो किस्ता पर्खँदै सल्यान दार्माका भूकम्प पीडित

वि.स २०८० कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको भूकम्पले क्षति पुर्याएको सल्यान दार्माका दुई हजार चार सय लाभग्राहीले अझै पहिलो किस्ता पाउन सकेका छैनन् ।
भूकम्प गएको झन्डै नौ महिना बितिसक्दा पनि पीडित पहिलो किस्ताकै पखाईमा छन् । पहिलो किस्ता पाएका सबै लाभग्राहीले पनि दोस्रो किस्ता पाउन सकेका छैनन् । भूकम्प पीडित अस्थायी आवास निर्माणका लागि ४ हजार ८१ लाभग्राही मध्ये हालसम्म पहिलो किस्ता बापतको १ हजार ६ सय ७४ घरधुरीले मात्र रकम पाएको दार्मा गाउँपालिका अध्यक्ष निम बहादुर केसीले बताए ।
संघीय सरकारले दार्मा गाउँपालिकालाई हस्तान्तरण गरेको ४ करोड २० लाख मध्ये १ हजार ६ सय ७४ घरधुरीलाई २५ हजारका दरले वितरण गरिएको र बाँकी अपुग रकम संघीय सरकारसँग माग गरिएको उनको भनाई छ । उनले भने, ‘संघीय सरकारबाट निकासा रोकिदा भूकम्प पीडितलाई पहिलो किस्ता बापतको रकम हस्तान्तरण गर्न समस्या भएको छ ।’ साथै भूकम्प प्रभावितहरूका लागि स्थायी आवास निर्माणका लागि ४ हजार ७४ घरधुरीलाई प्राधिकरणमा सर्वदलीय निर्णय सीमित सिफारिस गरि सकिएको पालिका अध्यक्ष केसीले बताए । लाभग्राही मध्ये ६ जनाको कागजात नपुग्दा प्रक्रिया रोकिएको उनको भनाई छ ।
आफूसँग भएको थोरै पैसाले अस्थायी आवास निर्माण गरे पनि हालसम्म कुनै रकम उपलब्ध नभएको दार्मा गाउँपालिका ३ का भूकम्प पीडित डिल्ली बहादुर खत्रीले बताए । वर्षातको समयमा अस्थायी घरमा बस्दा धेरै समस्या हुने गरेको उनको भनाई छ । उनले भने ‘जस्तापाताले बारेको घरमा बसी रहेका छौँ हावाहुरी लाग्दा, ठूलो पानी पर्दा झनै समस्या छ । अन्य समयमा भन्दा आजभोलि वर्षाको समयमा झनै गाह्रो भइरहेको छ । सरकारबाट आउने रकम पाए अलि गतिलो बस्ने घर बनाउन हुन्थ्यो ।’





