दाङमा संचालनमा आयो मह उत्पादन प्रशोधन उद्योग
पश्चिम दाङका मौरी पालन व्यवसायलाई मध्यनजर गरी मह उत्पादन प्रसोधन उद्योग सञ्चालनमा आएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई दाङ र सूर्योदय माहुरी फर्मको लगानीमा तुलसीपुर उपमहानगरपालिका ८ दुधेनामा उद्योग सञ्चालनमा आएको हो ।
परियोजनाको ७ लाख ७९ हजार र फर्मको ७ लाख ७९ हजार गरी साढे १५ लाख बढिमा मह उत्पादन प्रशोधन उद्योग सञ्चालनमा आएको प्रबन्धक मधुसूदन केसीले बताए ।
उद्योगको भवनबाहेक मेसिनरी सामानहरू १५ लाख ५९ हजार ४ सय बराबरको नेपाल सरकार र फर्मको साझेदारीमा खरिद गरेको र भवन निर्माण १० लाख गरी २५ लाख बढि लगानीमा उद्योग सञ्चालनमा आएको उनको भनाइ छ ।
पश्चिम दाङमा रहेका मौरीपालक किसानहरूको महले बजार नपाउँदा घरमै थन्किरहेको अवस्थामा त्यसलाई गुणस्तरीय बनाई बजारमा पठाउनको लागि उद्योग चालन गरेको उनले बताए ।
यस्तै उनले आफूहरूले महसँग महबाट स्वास्थ्यको लागि र सौन्दर्य सामाग्रीहरू पनि उत्पादन गरेको समेत बताए ।
उनले भने,‘हामीले महलाई मात्र प्राथामिकता दिएका छैनौँ । मौरीको चाका, ज्येष्ठ नागरिकदेखि बच्चाहरूको लागि आयुर्वेद युक्त पौष्टिक, तौल बढाउने, घटाउने, स्याम्पु, साबुन, छालाको लागि स्प्रेलगायत उत्पादन गरेका छौँ । हाम्रो वैदिक हनी प्रोडक्ट डटकम अनलाइन पोटल पनि चालन गरेका छौ । त्यसैमा हामीले उत्पादन गरेका सामग्रीहरू रहेका छन् । अनलाइनबाट पनि ती सामग्रीहरू अर्डर गर्न सकिन्छ ।’
यस्तै उनले अहिले बजारमा मिसावट युक्त मह धेरै हुने भएकाले उद्योगबाट उत्पादन गरिएको मह ५ वर्षसम्म केही नहुनेसमेत बताए । उनका अनुसार यस भन्दा अगाडि परम्परागत रूपमा मह प्रशोधन गरिन्थ्यो । जसले गर्दा त्यो मह छोटै समयमा बिग्रिने अवस्था हुन्थ्यो ।
अब उद्योगबाट प्रसोधित गर्दा गुणस्तरीय उत्पादन हुन्छ, त्यो ५ वर्षसम्म केही हुँदैन । उनले भने,
‘हामीले उद्योग सञ्चालन गर्नुको मुख्य उद्देश्य महमा शुद्धिकरणको अभियान र उपभोक्ताले शुद्ध मह प्रयोग गरुन्, भन्ने हो । अहिले बजारमा पाइने मह त्यति गुणस्तर हुँदैन ।’
उनका अनुसार अहिले बजारमा पाइने महमा पानीको मात्र धेरै हुँदो रहेछ । प्रसोधन गरेको महमा मेसिनबाट पानीको मात्र कम गर्न मिल्दो रहेछ । अहिले आफूहरू १९ देखि २० सम्म मोस्टर राख्ने गरेको र त्यही आवश्यक पर्ने उनले बताए ।
यस्तै, उनले अहिले मौरीको कुट जस्ताको त्यस्तै बिक्री हुने गरेको भएयता पनि त्यसलाई पनि गुणस्तरीय बनाउन लागेको समेत बताए । उनका अनुसार पश्चिम क्षेत्रमा पर्ने तुलसीपुर उपमहानगरपालिकाका केही वडा, दंगीशरण गाउँपालिका, शान्तिनगर र बबई गाउँपालिकामा गरी २ दर्जन बढि किसानहरूले व्यवसायिक रुपमा मौरी पालन गर्दै आइरहेका छन् ।