तत्कालिन राजा ज्ञानेन्द्रको मन मोडिँदा, मोडिएको कर्णाली राजमार्गको नक्सा

रमेश रावल
सुर्खेत, १८ फागुन ।
‘मृत्यु मार्ग’ को उपमा पाएको कर्णाली राजमार्गका विभिन्न कथा छन् । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले २०४८ सालमा शिलान्यास गरेको कर्णाली राजमार्ग ३० चैत २०६३ मा जुम्ला पुगेको थियो । सुरुमा कर्णाली राजमार्ग निर्माण क्रम सुर्खेतको बाङ्गेसिमलबाट सुरु भएर दैलेख डुङ्गेश्वर हुँदै कर्णाली तिरैतिर भएर कालिकोट सेरी–पान्तडी हुँदै जुम्ला लैजाने गरी रेखाङ्कन गरिएको थियो ।

कालीकोटको सदरमुकाम मान्मलाई नछुँदै सिंधै तिला कर्णालीको किनारै किनार लैजाने योजना रहेको सडक तत्कालिन राजा ज्ञानेन्द्र शाहको ‘मन मोडिँदा, कर्णाली राजमार्ग नक्सा मोडियो ।’ १९ माघ २०६१ मा पूर्वराजा ज्ञानेन्द्रले गिरीजाप्रसाद कोइराला नेतृत्वको सरकारलाई अपदस्त गरेर आफै मन्त्रीपरिषद्को अध्यक्ष भए ।

उनले तीन वर्षमा देशको राजनीति बलियो बनाएर तीन वर्षमा चुनाव गर्ने लक्ष्य राखेर देश दौडाहामा निस्किए । देश दौडाहा निस्किएका ज्ञानेन्द्रलाई कालिकोटमा राखिएको नागरिक अभिनन्दनमा त्यहाँका नागरिकले सदरमुकाम छोएर मात्र कर्णाली राजमार्ग बनाउन माग राखे । त्यो मागलाई सम्बोधन गर्दै राजा ज्ञानेन्द्रले तत्कालिन सडक डिभिजनलाई निर्देशन दिए । ‘अब मेरो मन मोडियो, राजमार्गको रेखाङ्कन मोड्नु ।’

त्यो बेला कर्णाली राजमार्ग निर्माणको जिम्मा नेपाली सेनाले पाएको र पूर्वराजा कारणले त्यो सडक अहिले पुरा हुन नसकेको पूर्व कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था तथा कृषि सहकारीमन्त्री कुर्मराज शाही बताउँछन् ।

‘राजा ज्ञानेन्द्रकै निर्देशनपछि कालीकोटको सेरी–पान्तडी हुँदै जाने सडक अब सेरीघाटमा बेलिब्रिज बनाएर मान्म हुँदै खाँडाचक्र–दाहा–पिली हुँदै सेरीवाडा भएर कर्णाली राजमार्ग बन्ने भयो ।’ उनले भने, ‘सेरी–पान्तडीमा कर्णाली राजमार्ग बनाइरहेको राजाको आदेशपछि नेपाली सेना पनि नयाँ बनाउने सडकतर्फ मोडियो ।’

करौडोको लगानी बालुवामा पानी
१ भदौ २०५२ सालमा कर्णाली राजमार्ग अन्र्तगत सेरी–पान्तडी उद्घाटन गरिएको थियो । २०५२ सालमा ठेक्का सम्झौता भई काम हुँदै आएको थियो । निर्माण कार्य पुरा भएको थिएन् । २०६१ म सडक निर्माणको जिम्मा नेपाली सेनाले लिएर निर्माण सुरु गरेको थियो ।

उति बेला दुई अर्ब ५० लाखमा नेपाली सेनाको कार्यदललाई सडक निर्माणको काम दिइएकोमा राजमार्गको रेखाङ्कन राजाले फेरेपछि सो सडक निर्माणको काम अपुरो भएको पूर्वमन्त्री शाहीले बताए । ‘पुनः २०७४ सालमा उक्त सडक निर्माणका लागि पहलकदमी थालियो, कर्णाली प्रदेश सरकारको ६५ करोड रकम उक्त सेरीपान्तडी सडकमा विनियोजन गरेको थियो, आधाउधी कामसमेत भयो, अहिले पनि काम भइरहेको छ ।

तर, काम सम्पन्न हुन बाँकी छ ।’ उनले भने, ‘पुनः कर्णाली प्रदेश सरकारबाट ४४ करोड रकम सेरी–पान्तडी सडकलाई विनियोजन गरियो तर, हालसम्म सडक निर्माणको काम भइरहे पनि भौगोलिक विकटताले निर्माणमा जटिलता आयो ।’

२८ वर्षमा १० किलोमिटर सडक
२०५२ सालबाट विभिन्न मितिमा ठेक्का गर्दै काम गर्न लागेको २८ वर्षसम्म सडक पूरा नहुँदा सेरी–पान्तडी सडकको निर्माणमा ढिलाई भइरहेको छ । सेरीघाटदेखि महावैको पान्तडीसम्मको २३ किलोमिटर सडकको हालसम्म १० किलोमिटर सडकको ट्रयाक खोल्ने काम मात्र भएको शुभकालिका गाउँपालिका अध्यक्ष गोविन्द आचार्यले बताए ।

‘शुभकालिकाको सुकाटिया, राराकाटिया, महावैको गेला, पाद्मघाट, तिलागुफा लगाएत क्षेत्रका नागरिकले दैनिक दुःख भोग्नु परेको छ,’ उनले भने, ‘त्यसैलाई ध्यानमा राखेर अहिले ठेक्कामार्फत विभन्न स्थानमा ट्याक्र खोल्ने काम भइरहेको छ ।’

शुभकालिका गाउँपालिकाले पनि यो सडक निर्माण गर्दा अहिलेसम्म अर्बौँ रकम खर्च भएको शुभकालिका गाउँपालिका अध्यक्ष आचार्यले बताए । ‘सर्मिला कन्ट्रक्सन दैलेखले हाल सडक निर्माणको जिम्मा लिएको छ,’ उनले भने, ‘उसले अहिले निर्माणको काम गरिरहेको छ ।’

सेरीदेखि पान्तडी सडक खण्डको १३ किलोमिटर ट्रयाक खोल्ने जिम्मा आफूले पाएको प्यासिफिक कर्ण कन्ट्रक्सनका इञ्जिनियर अर्जुन गौतमले बताउँछन् । ‘आफ्नो कर्ण कन्स्ट्रक्सनले ३ लाख घनमिटर मोटो, १ लाख घनमिटर कडा चट्याङ, १५ हजार जालीको काम गर्नु पर्नेछ ।’ उनले भने, ‘१० हजार जालीको काम सम्पन्न भएको र हालसम्म जम्मा १० किलोमिटर सडक निर्माणका लागि ट्रयाक खुल्ला गरिएको छ ।’

कम्पनीले काम छिटो गर्ने लक्ष्य राखे पनि बर्षमा पाँच करोडभन्दा बढीको काम गर्न नदिएकाले सडक निर्माणमा ढिलाई भएको उनले बताए । सेरीपान्तडी सडक निर्माणका लागि सडक खन्ने ठाउँमा स्थानीयबासीको जग्गा परेपछि विवाद छ ।

तर, स्थानीय सरकारका जनप्रतिनिधिको पहलमा स्थानीयबासीलाई सम्झाई बुझाई गर्ने काम गरेपछि नागरिकले सडक खन्न दिएको शुभकालिका गाउँपालिकाकी उपाध्यक्ष धर्मकला शाहीले बताइन् । उपाध्यक्ष शाहीले सडक निर्माणका लागि स्थानीय सरकारले पहलकदमी चालिरहेको र माथिल्लो निकायमा पनि कुरा राखेको बताइन् ।

दैलेखका तीन स्थानबाट कर्णाली राजमार्गमा जोडिँदै
कर्णाली राजमार्गसँग दैलेख जिल्लाका तीन स्थान जोडिने छन् । कालीकोटमा दैलेखका तल्लो डुगेश्वर, दुल्लु–कुशापानी डाँडीमाडी–पीपलकोट हुँदै खुलालु मान्म, माथिल्लो–डुगेश्वर, दुल्लु, कुसापानी, कालीकोटको भर्ता हुँदै नाग्म र दैलेख सदरमुकामबाट महाबु, चिल्खाय, नाग्म हुँदै जुम्ला जोडन सडक निर्माण गरिएको हो ।

दैलेखबाट निर्माण गरिएका तीन वटा सडक कालीकोट र जुम्लाको सिमाना नाग्ममा कर्णाली राजमार्गसँग जोडिने कालिकोट महावै गाउँपालिकाका अध्यक्ष खेमबहादुर सिंहले बताए । ‘दैलेखका तीन ठाउँबाट कालिकोट हुँदै कर्णाली राजमार्गमा जोड्ने सडक निर्माण भएका छन्, दैलेखतर्फको सडक खण्ड निर्माण भइसकेको छ, अब कालीकोटतर्फको सडक खण्ड निर्माण हुन बाँकी छ,’ उनले भने, ‘तीन ठाउँबाट सडक निर्माण भए सुर्खेतबाट कालीकोट र जुम्लाको सडक दूरीमा कमी आउनेछ, बाटो छोटो हुनेछ ।’

सुर्खेतबाट कर्णाली राजमार्ग हुँदै कालीकोटको नाग्म पुग्न २ सय किलोमिटर र दैलेखका तीन स्थानबाट कालिकोट सडक जोडिएमा ६० किलोमिटर छोटो दूरी हुने शुभकालिका गाउँपालिकाका अध्यक्ष गोविन्दप्रसाद आचार्यले बताए ।

‘अहिले यी तीन वटै सडकमा काम चलिरहेको छ । कतिपय स्थानमा ग्राभेल, नाली र कालोपत्रेको काम भइरहेको छ, केही ठाउँमा ठुला भिरमा चट्टान फोड्ने काम पनि जारी छ,’, उनले भने, ‘कालिकोटमा दैलेखबाट सडक जोडिए छोटो दूरी कायम हुन्छ तर, दैलेखमा सडक निर्माणको कामले तीव्रता पाएको भए पनि कालीकोटमा सडक निर्माणको काम सुस्त छ, संघीय सरकार र प्रदेश सरकारले प्राथमिकतामा राख्न सकेका छैनन् ।’

तत्कालिन राजा ज्ञानेन्द्रको मन मोडिँदा, मोडिएको कर्णाली राजमार्गको नक्सा

दुग्ध उत्पादक किसानलाइ‘मिल्क होलिडे’ गर्ने डीडीसीको धम्की

तत्कालिन राजा ज्ञानेन्द्रको मन मोडिँदा, मोडिएको कर्णाली राजमार्गको नक्सा

डिजिटल कर्णाली कन्क्लेभ जारी