डिजिटल कर्णाली कन्क्लेभ जारी

सुर्खेत, १९ फागुन ।
कर्णाली प्रदेश सुर्खेतको वीरेन्द्रनगरमा शुक्रबारदेखि दुईदिने डिजिटल कर्णाली कन्क्लेभ २०२४ सुरु भएको छ । कर्णाली प्रदेश सरकार र आइसिटी फाउन्डेसन नेपालको संयुक्त आयोजनामा सुरु भएको कन्क्लेभ कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले डिजिटल प्रविधिबाट पानसमा बत्ति बालेर उद्घाटन गरे ।
कन्क्लेभमा कर्णाली प्रदेशका मुख्यमन्त्री शर्मा, अन्य प्रदेशका मन्त्री, पूर्वमन्त्री, पूर्वमुख्यमन्त्री, प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य, सरकारी तथा निजी क्षेत्रका उच्च अधिकारीलगायत छ सय बढी आइटी सरोकारवालाहरूको उपस्थिति रहेका छन् ।
कार्यव्रmममा कर्णाली प्रदेशको डिजिटल विकास र इकोसिस्टममा बृहत् बहस र छलफल हुने छ । कन्क्लेभमा चार वटा कार्यपत्र भएपछि र छ वटा समूहमा छलफल हुने बताइएको छ । कार्यव्रmममा बोल्दै कर्णाली प्रदेशका मुख्यमन्त्री शर्माले प्रविधिको विकास नगरे कर्णालीलाई माथि उठाउन नसकिने बताए ।

“कर्णाली प्रदेशले प्रदेशस्तरमा पहिलो पटक यस्तो खालको कन्क्लेभ आयोजना गर्दै छ । अब प्रविधिको प्रयोग नगरे कर्णालीलाई माथि उठाउन सक्दैनौँ,” उनले भने, “डिजिटल कर्णाली बनाउनु पर्छ भन्ने कुरामा म कत्ति विचलित छैन । आउँदो १० वर्षमा हरेक क्षेत्रबाट कर्णालीलाई हेर्ने लायक बनाउँछौँ ।”
कर्णाली प्रदेशको वर्तमान डिजिटल अवस्था र अब चाल्नुपर्ने कदम शीर्षकमा कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष योगेन्द्र शाहीले प्रस्तुति दिभएका थिए । त्यस्तै युएनडिपीका डाटा म्यानेजमेन्ट तथा एमएन्डई एनालिस्ट रामकुमार यादवले पावरिङ डिजिटल कर्णाली अन द ग्राउन्ड लाइटनिङ प्रस्तुति र आइटी विज्ञ मनोहरकुमार भट्टराईले कर्णालीका लागि डिजिटल रूपान्तरण समाधान र इकोसिस्टम शीर्षको प्रस्तुति दिए ।







