भूकम्प पीडितलार्ई युकेबाट संकलित राहत रकम वितरण


भूकम्पबाट पिडित जाजरकोटका अति विपन्न एक सय घरपरिवारलाई आर्थिक सहयोग प्रदान गरिएको छ । युकेमा रहेको केनिङ्टन आमा समूहबाट संकलन भएको पाँच लाख रुपैयाँ अति विपन्न घरपरिवारलाई राहत स्वरुप वितरण गरिएको हो ।
भूकम्पको केन्द्रविन्दु बारेकोट गाउँपालिका वडा नम्बर १ का ४७ र वडा नम्बर ७ का ५३ घर परिवारलाई प्रति परिवार पाँच हजारको दरले राहत स्वरुप नगद रकम सहयोग गरिएको राहत वितरणको समन्वय गरिरहेका गायक तथा सञ्चारकर्मी प्रेम विवश घर्तीले जानकारी दिए ।
जीन्सी सामग्री भन्दा नगद रकम भयो भने पिडितहरुले आवश्यकता अनुसार खर्च गर्न सक्ने भएकाले स्थानीय सरकार तथा जनप्रतिनिधीसंगको समन्वयमा आर्थिक सहयोग गरिएको उनको भनाई छ ।
अति विपन्न, सुत्केरी तथा अपांगता भएका व्यक्तिको परिवारलाई रकम सहयोग गरिएको घर्तीले जानकारी दिए । आइतवार वडा नम्बर १ मा वडा अध्यक्ष ऐनबहादुर गीरी र वडा सदस्य तिलबहादुर थापाको रोहबरमा ४७ घरपरिवारलाई दुई लाख ३५ हजार रुपैयाँ वितरण गरिएको थियो ।
यस्तै मंगलवार वडा नम्बर ७ मा वडा अध्यक्ष विशाल किरण बस्नेतको रोहबरमा ५३ जनालाई दुई लाख ६५ हजार रुपैयाँ वितरण गरिएको घर्तीले जानकारी दिए ।
स्थानीय जनप्रतिनिधी तथा सरोकारवालाहरुले विपन्न घरपरिवार छनौट गरेका थिए । राहत रकम उपलब्ध गराउने केनिङ्टन आमा समूह विगत देखि नै युकेमा सामाजिक गतिविधिमा क्रियाशिल रहदै आएको छ ।






