दसैंले बढायो चहलपहलःशान्ति सुरक्षा कायम गर्न दुई सय ३० जना प्रहरी परिचालन

दसैंमा परिवारका सदस्यहरु एक ठाउँमा भेला हुने, मिठोमसिनो खाने र विजया दशमीका दिन ठूलाबडाबाट टीका, जमरा, प्रसाद र आर्शिवाद लिने प्रचलन छ ।
सोहीकारण दसैं सुरु भएसँगै जुम्लाको सदरमुकाममा खलंगाबाट आ–आफ्नो घर गाउँमा फर्किनेहरु बढ्न थालेका छन् । शिक्षा, स्वास्थ्य, रोजगारी तथा विभिन्न कारणले आफ्नो घरबाट टाढा रहेकाहरु दसैंको अवसरमा जन्मथलो फर्किएका हुन् ।
सदरमुकामबाट बाहिरी जिल्लामा जाने र घर फर्कनेहरु चलहपहल बढेको छ । जुम्लाको तिला गाउँपालिका – १ रारा गाउँमा रहेको पुर्ख्यौली घर फर्कन गाडी कुरिरहेकी विमला रावत भन्छिन्, ‘एक वर्षपछि परिवार भेट्न जान लागेको खुसी छु । साथीहरु पनि भेटिन्छ ।’त्यस्तै, दैलेख घर भएकी धना रावल भन्छिन्, ‘आफ्नै गाउँको चलनअनुसार दसैं मनाउन गाउँ जान लागेको हुँ ।’ जुम्ला बसपार्कमा बिहानदेखि साँझसम्मै घर फर्कनेको घुइँचो लाग्ने गरेको छ।दसैंमा घर फर्कनेको संख्या बढेसँगै सवारी साधनको चाप बढेको छ ।
दसैंमा घर जान लागेका कतिपय भने टिकट नपाएको गुनासो गर्छन्। जिल्ला बाहिर अध्ययन, व्यापार, जागिर तथा अन्य कामले रहेका सर्वसाधारणहरु दसैं मान्न घर फर्कन थालेका छन्। भने जिल्लामा बाहिरीनेको पनि उतिकै देखिन्छन् । विदेशीयका धेरै युवाहरू देश फर्किदै छन् ।
रोजगारीको लागि गाउँघर छोडेकाहरू पनि नयाँ खुसी बोकेर घर फर्किएका छन्।बेरोजगारीका कारण परदेशिनुपर्ने बाध्यता भए पनि दसैँ तिहार जस्ता चाडपर्वले परिवारका सदस्य र साथीसंगी बीच जमघट गराउँने गर्दछ् ।
राम्रो लगाउने र मिठो खाने पर्वको रुपमा चिनिने दसैं पर्व नजिकिँदै गर्दा जुम्ला बजार,नराकोट,गोठिज्युला,नाग्म लगायतका बजार क्षेत्रमा किनमेल गर्ने सर्वसाधारणको चहलपह बढेको छ ।दसैंका लागि लत्ताकपडा, खाद्यान्न लगायतका आवश्यक सामाग्री खरिद गर्न उपभोक्ताको चहलपहल बढेको हो ।
कपडा, सुनचाँदी, मोवाईल पसलहरुमा ग्राहकको चापसंगै व्यापारमा पनि वृद्धी भएको छ । समाजमा रहेको दसैंको समयमा नयाँ कपडा लगाउने, मिठो खाने र रमाईलो गर्ने मान्यताले बजारमा कारोबार बढाएको हो ।
व्यवसायीहरुका अनुसार अन्य समयको भन्दा ५० प्रतिशतले ब्यापारमा बृद्धी भएको छ। जुम्लाका बैंकहरुमा दसैं मनाउने रुपैयाँ झिक्नका लागि विहान १० बजे देखि लाइन बसेर भिडभाड उतिकै छ।

दसैंको बेलामा शिक्षक, कर्मचारीले तलब पाउने, चाडबाड मनाउन बिदेशबाट फर्कीने र त्यहाँ काम गर्नेले पठाउने रेमिट्यान्स तथा गाउँमै खेती किसानी गर्नेदेखि ज्याला मजदुरी गर्नेले पनि दसैं खर्चको राम्रो चाँजोपाँजो मिलाउने हुदा यो समयमा बजारमा आर्थिक गतिबिधी उच्च हुने गर्छ।सडक र यातायात सुबिधाको विस्तारले गर्दा सदरमुकाम जुम्लामा विगतको जस्तो ब्यापार नभएको व्यवसायीहरुले बताएका छन् ।
गाउँमै सामान पुग्न थालेपछि सदरमुकाममा किनमेल गर्न आउने घटेका व्यापारीहरु बताउँछन्। नयाँ कपडा लगाउने, गरगहना किन्ने, मिठो मसिनो खाने र रमाईलो गर्ने परम्परागत चलनले गर्दा हुने खानेदेखि हुदाँ खाने सम्मले दसैलाई आ–आफ्नै शैलि र क्षमता अनुसार बिशेष बनाउन खोज्छन् । दसैं तिहार लगायत चाडपर्वलाई लक्षित गरेर जिल्ला प्रहरी कार्यालय जुम्लाले बिशेष सुरक्षा योजना लागु गरेको छ । दुई सय ३० जना प्रहरी परिचालन गरिएको छ ।
शान्ति सुरक्षा कायम गर्न तथा सम्भावीत अपराध, बिकृती, दुर्घटना न्युनीकरण, अनुसन्धान र कारबाहीका लागि बिशेष सुरक्षा योजना लागु गरिएको प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी यमबहादुर बुढामगरले बताए ।

जुम्लामा चाडपर्वको समयमा मदिराको अव्यवस्थित र अत्याधिक प्रयोग, चोरी र दुर्घटना सुरक्षा चुनौतीको रुपमा छन् । प्रहरीले बजार क्षेत्रमा २४ सै घण्टा गस्ति एवं सादा पोसाकमा प्रहरी खटाएको जनाएको छ, बुढामगरका अनुसार कार्यालय र मातहतका इकाईहरुबाट दिन तथा रातको समयमा गस्ति परिचालन, सवारी चेकजाँच तथा कारबाही र मदिरा नियन्त्रण गर्न प्राथमिकता दिइएको छ ।
जुवातास खेल्ने खेलाउने कार्य नियन्त्रणका लागि बिशेष अप्रेशन गर्ने तयारी गरेको प्रहरीले मादक पदार्थ सेवन गरि होहल्ला गर्ने र अपराध गर्ने व्यक्तिहरुलाई नियन्त्रणमा लिएर मुद्दा चलाउने चेतावनी दिएको छ।प्रहरी सहायक निरिक्षक कुलबहादुर रोकायाको नेतृत्वमा सादा पोसाकमा प्रहरी टोली परिचालन गर्ने योजना बनाएको उनको भनाइ छ ।







