चिसोले थप तीन जना भूकम्पपीडितको मृत्यु, मृतकको संख्या १० पुग्यो

 

चिसोका कारण जाजरकोटमा थप तीन जना भूकम्पपीडितको मृत्यु भएको छ । स्थानीयसमेत रहेका नेकपा एमालेका केन्द्रीय सदस्य नीरज आचार्यले दिएको जानकारी अनुसार चिसोका कारण शनिबार थप तीन भूकम्पपीडितको मृत्यु भएको हो ।

उनका अनुसार जुनीचाँदे गाउँपालिका–४ लुहादहकी ८९ वर्षीया सुगिली नेपाली, छेडागाड नगरपालिका–१३ थानवाडाकी ५६ वर्षीया मनसरी कामी र भेरीनगरपालिका वडा नं ४ तल्याउनका केशव भडेलको मंसिर २ गते मृत्यु भएको हो ।
योसँगै चिसोका कारण मृत्यु हुने भूकम्पपीडितको संख्या १० पुगेको छ ।

यसअघि बारेकोट गाउँपालिका–१ रामीडाँडाका डुमे पुन, भेरी नगरपालिका–२ का ८८ वर्षीय धुलेश्वर कार्की, बारेकोट गाउँपालिका–४ जिरीका, नरेन्द्रबहादुर सिंह, नलगाड नगरपालिका–४ का ८४ वर्षीय गोपालबहादुर रावल, नलगाड ४ की ४८ वर्षीया पम्फा रावल, बारेकोट गाउँपालिका बयालाका ६० वर्षीय कर्णवीर विक र बारेकोट ६ ताँसीका ५५ वर्षीय वीरबहादुर विकको मृत्यु भइसकेको छ ।

गत कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर ६.४ म्याग्निच्युडको भूकम्प जाँदा जाजरकोट र रुकुमपश्चिममा गरी १५४ जनाको मृत्यु भयो भने सयौँ घाइते भए ।

भूकम्पले आंशिक र पूर्ण क्षति गरी ३५ हजारभन्दा बढी घर भत्किँदा हजारौँ परिवारको बिजोग भएको छ ।
भूकम्पले आंशिकर पूर्ण क्षति गरी ३५ हजारभन्दा बढी घर भत्किँदा हजारौँ परिवारको बिजोग भएको छ । यो कठ्यांग्रिँदो जाडोमा उनीहरू एउटा त्रिपाल तथा कम्बलको भरमा खुला चौरमा बस्न बाध्य छन् ।

चिसोले थप तीन जना भूकम्पपीडितको मृत्यु, मृतकको संख्या १० पुग्यो

बाली विज्ञान विषयप्रति बढ्दो आकर्षण