पुल निर्माण नहुँदा आउजाउ गर्न समस्या


गमगाढ नदीमा ठेकेदारले पुल निर्माण नगर्दा स्थानीय र विद्यार्थीलाई विद्यालयमा आउजाउ गर्न समस्या भएको छ । वर्षाको समयमा खोला बढ्ने र बाढीले बगाउने डरले आकाशमा कालो बादल लाग्नासाथ विद्यार्थीहरू बिदा मागेर घर फर्किने गर्छन् ।
मुगुको छायाँनाथ रारा नगरपालिका १, १०, ११ र १२ त्यसैगरी मुगमकार्मारोङ गाउँ पालिकाका स्थानीयहरू जिल्ला सदरमुकाम गमगढी बजारमा आउँदाजाँदा गमगाढ खोला तर्नका लागि खोलामाथि राखिएका काठका दुई लाप्का भएर खोला तर्दा काँप्दै खोला तर्ने गर्छन् । दिनमा यही लाप्काको भरमा काम्दै सयौँको संख्यामा गमगाढ खोलामाथि तर्ने गरेको स्थानीय सुरेन्द्रबहादुर मल्लले बताए ।
छायाँनाथ रारा नगरपालिका–१ श्रीनगर गाउँमा रहेको मीन माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत छात्रा सपना मल्ल र महाकाली नमुना माध्यमिक विद्यालय कक्षा ८ मा अध्ययनरत छात्रा मुस्कान मल्लले आफ्नो घरबाट विद्यालय जाँदा गमगाढ खोला माथिका दुई लाप्का भएर जानुपर्ने बाध्यता भएकाले सधैँ विद्यालय जाँदा र घर फर्कँदा डराउँदै खोला तर्ने गरेको गुनासो सुनाए ।
मुगुमकार्मारोङ्ग गाउँपालिका–२ मुगुगाउँका पेमा तोर्चे लामाले भारी बोकेर उक्त खोला तर्दा काठका लाप्का हल्लिएर रिँगटा लाग्दा खोला किनारमा खसेको सम्झँदै भने, ‘सदरमुकाम गमगढीबाट यार्सा ट्प्नि पाटन जाँदा चाहिने औषधि, लत्ताकपडा र केहिखानेकुरा किनेर घर फर्किँदै थिए खोलामा खसेँ, भारी बगायो, म बाँचेँ ।’
जिल्ला सदरमुकाम जाँदा र फर्किँदा बाटोमा पर्ने गमगाढ खोलाको अल्कासाँघु भन्ने स्थानमा पक्की पुल नहुँदा सिङ्गो मुगुम कार्मारोङ्ग गाउँपालिका र छायाँनाथ रारा नगरपालिका–१९ गाउँका बासिन्दाले सधैँ सास्ती भोग्दै आएका छन् ।
मीन माविमा अध्ययनरत विद्यार्थी आकाशमा कालो बादल आउनासाथ बिदा मागेर घर जान हतार गर्ने गरेको शिक्षक शिवलक्ष्मी मल्लले बताए । उनका अनुसार वर्षाको समयमा बाढी आएर खोला तर्न कठिन हुने भएकाले पानी पर्नुभन्दा पहिल्यै खोला तरिसक्नका लागि पढाइ बिचमै छाडेर विद्यार्थी घर जान हतार गर्ने गरेका छन् ।
पुल नहुँदा त्यही खोला तरेर आउने विद्यार्थीको पढाइमा समेत असर गरेको शिक्षक मल्लले बताए ।
यता गमगाढ नदीमा पर्ने पक्की पुलको निर्माण गर्नलाई सडक डिभिजन कार्यालय जुम्लाले नाग्म गमगढी लोगमार्गको नदी र खोला खण्डमा पर्ने उक्त दस वटा पक्की पुलको निर्माण कार्य २०७८ सालको फागुन ९ गते हिमसगरमाथा कन्स्ट्रक्सन प्रालीसँग ३२ करोड ६८ लाख ९२ हजार रुपैयाँमा सम्झौता भएको थियो ।
उक्त निर्माण प्रालीले कालीकाखेतु, वाँजागाड, विष्टवाडा, रोकायावाडा, गोठीजिउला, पिना, झ्यारीखोला, गमगाढ, लुम्स त्यसैगरी काठेखोलासम्म नाग्म गमगढी लोगमार्गको नदी र खोला खण्डमा पर्ने उक्त दस वटा पक्की पुलको निर्माण कार्य प्रालीले ०८२ साल भदौ ८ गते भित्र काम सम्पन्न गर्ने जिम्मा लिएको थियो ।
गमगाढ खोलामा निर्माण हुने पक्की पुल ठेकेदार कम्पनीको चरम लापरबाहीका कारण सम्झौता भएको झन्डै तीन वर्ष बितिसक्दा पनि निर्माण कार्यहुन सकेको छैन । पुलको निर्माण गर्ने जिम्मालिएको ठेकेदार कम्पनीले गमगाढ नदीमा पक्की पुलको निर्माण कार्य नहुँदा चारपाङग्रे देखि दुई पाङ्ग्रे सवारीसाधन र स्थानीयलाई आउजाउ गर्नमा सास्ती भएको छ ।
सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी चित्र चौलागाईंले नाग्म गमगढी लोकमार्ग अन्तर्गत पर्ने गमगाढ नदिका निर्माण हुने पक्की पुलको छिटोछरितो निर्माण गर्नलाई जिम्मा लिएको हिम सगरमाथा कन्स्ट्रक्सन प्रालिलाई कार्यालयबाट पटकपटक पत्राचार भएको छ ।






