२०८३ आश्विन १७ गते
×

Now Playing

उमेर नपुग्दै आमा बन्दा शिशुको ज्यान जोगाउँन मुस्किल


अघिल्लो वर्षको जेठ महिनामा जुम्लाको सिंजा गाउँपालिका–६ की १७ वर्षिया संगीता रोकायाले गर्भावस्थाको सात महिनामै नजिकैको शनिगाउँ बर्थिङ सेन्टरमा बच्चा जन्माइन् ।

बच्चाले तत्काल दूध चुस्न नसकेपछि स्वास्थ्यकर्मीले सदरमुकाममा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला रेफर गरिदिए ।

महिना नपुग्दै बच्चा जन्मिएकाले सघन उपचार कक्ष (एनआईसीयू) मा राखेर उपचार गर्नुपर्ने थियो । स्वास्थ्यचौकी इन्चार्ज रमेश रावलले भने, ‘रेफर गरे पनि अभिभावकले घर लगे । त्यसैले जन्मेको २४ घण्टामै बच्चाको मृत्यु भयो ।’

पालिकाले कर्णाली अस्पताल लैजान निःशुल्क एम्बुलेन्स व्यवस्थापन गरेको थियो । तर, अभिभावकले घर लगेकाले शिशुलाई बचाउन नसकिएको पालिका स्वास्थ्य शाखा प्रमुख ललित रोकायाले बताए ।

गत वर्ष २२ र चालु आर्थिक वर्षको मंसिर १५ सम्म १२ जना गर्भवती र सुत्केरी सिंजाले सञ्चालनमा ल्याएको निःशुल्क एम्बुलेन्स सेवामार्फत कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालसम्म पु¥याएको थियो ।

स्वास्थ्य शाखा प्रमुख रोकायाले भने, ‘नवजात शिशु र मातृशिशु स्याहारको क्षेत्रमा निकै संवेदनशील भएर काम गरिरहेका छौं । तर परम्परागत मानसिकताका कारण अस्पतालसम्म लैजानै कठिन छ ।’

सुत्केरी र गर्भवतीलाई अस्पतालसम्म लैजान र ल्याउन निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरेकोमा स्थानीय खुसी छन् । गत माघमा कनकासुन्दरी गाउँपालिका–५ लुड्कुकी १९ वर्षिया आइसा उपाध्यायले गर्भवती भएको आठ महिनामै बच्चा जन्माइन् । हाँडसिञ्जा स्वास्थ्यचौकीको प्रसूति गृहमा उनले जन्म दिएको शिशुको पनि स्वास्थ्य कमजोर थियो ।

स्वास्थ्यकर्मीले थप उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा पठाए । उपचारकै क्रममा बच्चाको मृत्यु भयो । चिसोले गर्दा बच्चालाई निमोनिया भएको थियो । स्वास्थ्यचौकी इन्चार्ज वीरेन्द्र उपाध्यायले भने, ‘स्वास्थ्यचौकीमा उपचार हुन नसक्ने देखिएपछि अस्पताल पठायौं । उपचारका क्रममा बच्चाको अस्पतालमै मृत्यु भयो । कनकासुन्दरीदेखि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला आइपुग्न एम्बुलेन्समा चार घण्टा लाग्छ ।’

सानै उमेरमा बच्चा जन्मिएको र गर्भावस्थामा आमालाई पोषणयुक्त खाना नपुगेका कारण महिना नपुग्दै कमजोर बच्चा जन्मिएको स्वास्थ्यचौकीकी अनमी प्रिया आचार्यले बताइन् । बच्चा बचाउन हदैसम्मको प्रयास भए पनि बचाउन नसकिएको स्वास्थ्यचौकी इन्चार्ज वीरेन्द्र उपाध्यायले जनाए । उनले भने, ‘कम उमेरमै विवाह गर्ने र महिना नपुग्दै बच्चा जन्माउने अवस्था भएकाले शिशु मृत्युदर बढेको हो ।’

तिला गाउँपालिका–८ जुम्लाकोटकी २२ वर्षिया आइसरा रावतले गत माघ १४ गते आठ महिनाकै बच्चा जन्माइन् । जन्मेको ११ घण्टामै बच्चाको मृत्यु भयो । बच्चा नर्मल नै जन्मेको हो । स्वास्थ्यचौकी इन्चार्ज विराजु जीसीले भने, ‘बच्चा जन्मेपछि टाउकामा फोका निस्केको, नाकबाट रगत बगेको, छिटोछिटो श्वास फेर्ने र दूध चुस्न सकिरहेको थिएन ।’

उनका अनुसार बच्चाको थप उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा रेफर गरिएको थियो । तर, अभिभावकले शिशुलाई अस्पताल नलगेपछि बच्चाको घरमै मृत्यु हुन पुग्यो । भारी हिमपात र आर्थिक अभाव भएपछि बच्चालाई अस्पतालसम्म पु¥याउन नसकिएको परिवारजनको गुनासो छ ।

संगीता, आइसा र आइसराका बच्चाको मृत्युका कुरा प्रतिनिधि घटना मात्रै हुन् । उनीहरूजस्ता सयौं किशोरीले प्रजनन क्षमता परिपक्व नहुँदै बच्चा जन्माउनु, दुर्गममा राम्रो प्रसूति गृह नहुनु, यातायातको सहज पहुँच र आर्थिक अभावका कारण नवजात शिशुले थप उपचारै नपाएर मृत्यु हुने गरेको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाले जनाएको छ ।

२९ जना नवजात शिशुको मृत्यु

जन स्वास्थ्य सेवा कार्यालय, जुम्लाका अनुसार गत वर्ष मात्रै २९ जना नवजात शिशुको मृत्यु भएको छ । जन्मेदेखि सात दिनभित्र २३, जन्मेको आठदेखि २८ दिनभित्र पाँच नवजात शिशुको स्वास्थ्य संस्थामै मृत्यु भएको र जन्मेको सात दिनभित्र एक शिशुको घरमा मृत्यु भएको जन स्वास्थ्य सेवा कार्यालय, जुम्लाका तथ्यांक शाखा प्रमुख पदम खत्रीले बताए ।

मृत्यु भएका अधिकांश दुर्गम क्षेत्रका छन् । उनले भने, ‘कम उमेरमा बच्चा जन्माउनाले पनि धेरै नवजात शिशुको मृत्यु हुने गरेको छ ।’ सबै जातिमा कम उमेरमा विवाह हुने र परिपक्व नहुँदै बच्चा जन्माउने गरेकाले समस्या देखिएको जन स्वास्थ्य सेवा कार्यालय, जुम्लाले जनाएको छ ।

अहिले पनि स्वास्थ्य संस्थामा सुत्केरी नहुनु, गाउँमै सुत्केरी गराउनुपर्ने परम्परागत मान्यता रहनाले पनि नवजात शिशुको अकालमा मृत्यु हुने गरेको चिकित्सकहरू बताउँछन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको सर्वेक्षण प्रतिवेदनअनुसार २०७९-०८० मा नवजात शिशु मृत्युदर प्रतिहजार जीवित जन्ममा २१ र एक वर्षसम्मका शिशुको मृत्युदर २८ छ । नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण, २०१६ को तथ्यांकले पनि नवजात शिशुको मृत्युदर २१ नै देखाएको थियो ।

नवजात शिशुको मृत्युको कारण बन्दै आएका प्रमुख रोगमा निमोनिया, झाडापखाला, दादुरा, कुपोषणलगायत छन् । दिगो विकास लक्ष्यअनुरूप सन् २०३० सम्ममा नवजात शिशु मृत्युदर प्रतिहजार जीवित जन्ममा १२ वा सोभन्दा कम र सन् २०३५ मा १० भन्दा कममा ल्याउने सरकारको नीति छ ।

सोहीअनुरूप सरकारले स्वास्थ्य क्षेत्रलाई प्रमुख प्राथमिकताभित्र राखेर वर्षौंदेखि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । तैपनि, नवजात शिशुको मृत्युदर कम हुन सकेको छैन । स्थानीय सरकारले स्वास्थ्य संस्थामा अनिवार्य सुत्केरी हुनुपर्ने र उमेर पुगिसकेपछि मात्रै विवाह गर्नुपर्ने मापदण्ड कार्यान्वयन गर्न सके शिशु मृत्युदर घट्ने सरोकारवाला बताउँछन् ।
जनस्वास्थ्य सेवा कार्यालय जुम्लाको तथ्यांकअनुसार गत वर्ष तीन सय १० किशोरी २० वर्ष नपुग्दै आमा बनेका छन् ।

सबैभन्दा बढी चन्दननाथ नगरपालिकामा एक सय २७ र सबैभन्दा कम सिञ्जा गाउँपालिकामा–५ जना २० वर्ष नपुग्दै सुत्केरी भएको जिल्ला जनस्वास्थ्य कार्यालय जुम्लाले जनाएको छ । उमेर नपुग्दै आमा बन्ने, गर्भपतन गराउने, कम तौलका बच्चा जन्मिने, प्रजनन स्वास्थ्यमा असर देखिनेलगायत समस्या आइरहेको जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाले जानकारी दिए ।

उमेर नपुग्दै आमा बन्दा शिशुको ज्यान जोगाउँन मुस्किल

YUGAAWHAN NATIONAL DAILY (2080-08-22)

उमेर नपुग्दै आमा बन्दा शिशुको ज्यान जोगाउँन मुस्किल

जाडोले जनजीवन प्रभावित