जाजरकोटमा नेविसंघले बनायो अस्थायी विद्यालय


नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले जाजरकोटमा पठनपाठनका लागि अस्थायी विद्यालय बनाएको छ ।
भूकम्प प्रभावित जाजरकोटस्थित भेरी त्रिवेणी माविमा ६ कोठे अस्थायी विद्यालय निर्माण गरिएको नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले बताए ।
नेविसंघले श्रमदान गरी विद्यालयका लागि टहरा बनाएको हो । उनले भने, ‘हामीले अस्थायी विद्यालय भवन बनाउनुका साथै शैक्षिक र खेलकुदका सामग्री पनि हस्तान्तरण गरेका छौं, जस्तापातालगायत आवश्यक सामग्री पनि हामीले जुटाएका हौं ।’
उनले श्रमदान कार्यलाई निरन्तरता दिइने बताए । भूकम्प प्रभावित विद्यार्थीलाई नेविसंघ कैलालीले न्यानो कपडा, झोलाललगायत सहयोग गरेको थियो ।
कात्तिक १७ गते भएको भूकम्पले जाजरकोट र रूकुम पश्चिममा अधिकांश विद्यालय भवनमा क्षति पुगेको थियो ।






