एमालेबाट १ प्रमुख, ४ अध्यक्ष र ६३ जना उपप्रमुख महिला उम्मेदवार

सुर्खेत, १२ बैशाख ।
नेकपा एमाले कर्णाली प्रदेश समन्वय कमिटीले पार्टीको तर्फबाट स्थानीयको निर्वाचनमा उम्मेदवार हुने नेताहरुको नामावली टुङ्ग्याएको छ । कर्णाली प्रदेशका १० जिल्लाका ७९ वटा पालिकाको प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्षको उम्मेदवार टुङ् ग्याएको हो ।
एक नगरपालिकाको प्रमुख, चार वटा गाउँपालिकाको अध्यक्षमा र ६३ जना उपप्रमुख/उपाध्यक्ष पदमा महिला उम्मेदवार उठाउने एमालेले निर्णय गरेको छ । वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकाललाई प्रमुखको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
ढकाल प्रमुखको उम्मेदवार बन्ने भएपछि आइतबार औपचारिक रुपमा उपप्रमुख पदबाट राजिनामा दिएकी छन् । नेकपा एमालेले वीरेन्द्रनगर नगरपालिको मेयरमा उम्मेदवार बनाएपछि ढकालले पदबाट राजीनामा दिएकि हुन् । आइतबार नगरपालिकाको सभाहलमा पत्रकार सम्मेलन गर्दै ढकालले वीरेन्द्रनगरको उप–मेयरको पदबाट राजीनामा दिएको घोषणा गरेकी हुन् ।
राजीनामा दिँदै ढकालले पाँच वर्षको अवधिमा नगरपालिकाको विकासका लागि साझा मुद्दामा एक भएको बताइन् । ढकालले सबैको साथ र समर्थनले काम गर्नमा सहज, सुशासन, समृद्धि र विकासमा प्रतिवद्ध रहेर काम गर्न सफल भएको र नगरबासीलाई समृद्धिको यात्रामा लैजान नगरपालिका कर्मचारी लगायतको साथ र समर्थन भरपुण रहेको समेत उल्लेख गरिन् ।
दैलेखको ठाटीकाँध गाउँपालिकाको अध्यक्ष पदको उम्मेदवारमा लक्ष्मीदेवी शाहको नाम टुङ्गिएको छ । त्यस्तै एमालेले उपाध्यक्षमा देवीराम बडुवाललाई उम्मेदवार बनाएको छ । यसअघि एमालेबाट ठाटीकाँधको अध्यक्षमा ६ जनाले दाबी गरेका थिए ।
पचालझरना गाउँपालिका कालिकोटको अध्यक्ष पदमा सविना बोगटी, गुठीचौर गाउँपालिका जुम्लाको अध्यक्षमा झनमाया जैसी र चंखेली गाउँपालिका हुम्लाको अध्यक्ष पदको उम्मेदवारमा विमला कुमारी शाहीको नाममा निर्णय भएको छ ।






