जुम्लाको चन्दननाथकी उपप्रमुखले तलब सुविधा नलिने

जुम्ला । जुम्ला चन्दननाथ नगरपालिकाका नवनिर्वाचित उपप्रमुख रामदेवी खड्काले आफ्नो पाँच वर्षे कार्यकालमा मासिक तलब सुविधा नलिने घोषणा गरेकी छन् ।
पाँच वर्षसम्म प्राप्त हुने आफ्नो मासिक तलब एक महिला, दलित, गरिब तथा विपन्न समुदायका लागि खर्च गर्ने उनले बताइन् ।
उनले भनिन्, “कार्यविधि बनाएर कोष जम्मा भएको रकम ती वर्ग र समुदायका लागि खर्च गर्छौँ ।” विद्यमान कानुनले व्यवस्था गरेअनुरुप उपप्रमुखको हैसियतमा प्राप्त गर्ने सबै अधिकारमा कुनै पनि प्रकारको प्रभामा नपरी न्याय सम्पादन गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले देशमा मौलाउँदै गएको भ्रष्टाचारलाई न्यूनीकरण गर्न हदैसम्मको प्रयत्न गर्ने जनाए ।
जनप्रतिनिधि र कर्मचारीको सम्बन्धलाई प्रगाढ बनाउँदै जनताको काममा निष्पक्ष एवं पारदर्शी भएर काम गर्ने तथा विकास निर्माण जनताको आवश्यकतामा आधारित बनाउन सक्रिय हुने उनको भनाइ थियो ।






