६८ हजार डलर नाघेको एउटा बिटक्वाइनको मूल्य झर्यो १८ हजारमा

वासिङ्टन,५ असार ।
क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्यमा पछिल्ला दिनहरूमा भारी गिरावट आइरहेको छ । शनिबार बिटक्वाइनको मूल्यमा सन् २०२० यताकै सबैभन्दा धेरै गिरावट आएको समाचार संस्था एपीले जनाएको छ । शनिबार केही समयको लागि एउटा बिटक्वाइनको मूल्य १८ हजार डलरभन्दा तल झरेको थियो ।
संसारभरि रहेका विभिन्न क्रिप्टोकरेन्सीमध्ये बिटक्वाइन मूल्य सबैभन्दा धेरै छ। शनिबार दिउँसो एउटा बिटक्वाइनको मूल्य १७ हजार ५९३ डलरसम्म पुगेको थियो। केही समयपछि थोरै वृद्धि भएर १८ हजार ५५६ डलरसम्म पुग्यो ।

बिटक्वाइनको मूल्य यो तहमा यसअघि सन् २०२० को नोभेम्बरमा पुगेको थियो। त्यसपछि लगातार बढेर यसको मूल्य गत नोभेम्बरमा ६८ हजार डलरसम्म पुगेको कोइनडेस्कले जनाएको छ । बिटक्वाइनको कारोबारमा संलग्न मानिसहरूले यसको मूल्य २० हजार डलरमुनि नझर्ने आंकलन गरेका थिए ।
यसरी २० हजार डलरभन्दा कम मूल्यमा पुग्दा मानिसहरूमा क्रिप्टोकरेन्सीमाथिको विश्वास हट्दै गएको बजार विश्लेषकहरूले बताएका छन् । नेपालमा क्रिप्टोकरेन्सी अवैध छ।
नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सीमा कारोबार नगर्न निर्देशन दिएको छ। यसअघि प्रहरीले क्रिप्टोकरेन्सीको कारोबार गर्नेहरूमाथि मुद्दा समेत चलाएको छ । एल साल्भोडार र सेन्ट्रल अफ्रिकन रिपब्लिकले बिटक्वाइनलाई कानुनी मुद्राको मान्यता दिएका छन् ।
स्रोत : सेतोपाटी






