घरटहरा हटाउने सरकारी सूचनाविरुद्ध खबरदारी ¥यालीसभा

काठमाडौँ,१ मंसिर ।
भूमिहीन‚ अव्यवस्थित बसोबासी र सुकुम्बासीका घर र टहरा जबर्जस्ती हटाउनका लागि पटकपटक प्रकाशित भएको सूचनाविरुद्ध बृहत् खबरदारी ¥यालीसभा निकालिएको छ । निर्वाचन आएसँगै सुकुम्बासी बस्ती हटाउने अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको सूचनाविरुद्ध बिहीबार भूमिहीन र सुकुम्बासी सम्बद्ध संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाले काठमाडौंमा विरोध प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा ‘मानव अधिकार सुनिश्चित गर’‚ ‘मानवबिनाको विकास दिगो विकास हुन्न’‚ ‘गरिब मार्न पाइँदैन’ लगायत नारा लगाइएको थियो । शहरी विकास मन्त्रालय मातहत रहेको उक्त समितिले गत शुक्रबार वाग्मती नदी करिडोर क्षेत्रका घरटहरा भत्काउने अल्टिमेटम दिएको भन्दै उनीहरूले विरोध प्रदर्शन गरेका हुन् ।
समितिले १० दिनभित्र वाग्मती नदी करिडोर क्षेत्र ओगटेर बनाएका घरटहरा भत्काउन अल्टिमेटम दिएपछि उनीहरूले आफूमाथि सरकारले अन्याय गरेको बताउँदै आन्दोलित भएका हुन् । समितिका कार्यकारी निर्देशक उद्धवकुमार तिम्सिनाले आफूहरुले पटक पटक सूचना गरेर घर टहरा हटाउन आग्रह गरेपनि सबै सरकारी निकायको सहयोग र समन्वय नहुँदा हटाउन नसकिएको बताए ।
उनले भने,’ यो भन्दा अघि पनि दुई पटक सूचना जारी गरिएको हो । नियमित सूचना हो । ’ सधैंभरी नदी किनारमा बसेर नहुने बताउँदै उनले भूमि आयोगले पनि अव्यवस्थित बसोबासको समस्या हटाउन नसकेको जनाए । तिम्सिनाका अनुसार वाग्मतीको किनारमा अव्यवस्थित रुपमा ३४ सय ९६ वटा घरधुरी रहेका छन् ।
कान्तिपुर






