उम्मेदवार बन्न आलोपालो, स्वतन्त्रको डर

कालीकोट,१ मंसिर ।

कर्णालीमा सशस्त्र द्वन्द्वको ठूलो प्रभाव क्षेत्र मानिएको कालीकोटमा माओवादीका दुई नेता प्रतिनिधिसभा र प्रदेशसभामा आलोपालो उम्मेदवार हुँदै आएका छन् । ०६४ को संविधानसभा सदस्यमा अन्य दलका उम्मेदवारभन्दा तेब्बर मतले विजयी बनेका खड्कबहादुर विश्वकर्मा नेत्रविक्रम चन्द समूहमा लागेपछि माओवादी केन्द्रका नेता महेन्द्रबहादुर शाही र दुर्गर्बहादुर रावत प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा आलोपालो उम्मेदवार बन्दै आएका हुन्  ।

०७० को दोस्रो संविधानसभा सदस्यमा निर्वाचित कर्णाली प्रदेशका पहिलो मुख्यमन्त्री महेन्द्रबहादुर शाही ०७४ मा प्रदेशसभामा विजयी भएका थिए । यस पटक पुनः माओवादी केन्द्रको भागमा परेको कालीकोटमा प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनको तर्फबाट उनै उम्मेदवार छन । ०७४ मा एमाले–माओवादी गठबन्धनका साझा उम्मेदवार बनेर प्रतिनिधिसभामा विजयी रावत यसपटक प्रदेशसभा १ (१) मा माओवादी केन्द्रको तर्फबाट गठबन्धनको साझा उम्मेदवार छन् ।

माओवादी केन्द्रका दुई नेता मात्र सधैं आफैंलाई केन्द्रमा राखेर आलोपालो दोहोरिएपछि माओवादीका केन्द्रीय लेखा आयोगका सदस्य तथा रास्कोट नगरपालिकाका पूर्वप्रमुख काशीचन्द्र बरालले प्र्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनी ०५४ मा एमालेबाट फूकोट गाविसको निर्विरोध अध्यक्ष बनेर ०५७ देखि माओवादीमा लागेर भूमिगत भएका थिए ।

तर अहिले माओवादी केन्द्रका उम्मेदवारलाई उनै पूर्वमाओवादी चुनौती बनेका छन् । पूर्वमुख्यमन्त्री शाहीले जिल्लामा जित्ने आधार ठूलो पार्टी माओवादी र कांग्रेसको साझा उम्मेदवार हुनु र कर्णाली प्रदेशको मुख्यमन्त्री हुँदा सडक, विद्यालय भवन, खानेपानीलगायतका पूर्वाधारका लागि ठूलो रकम खर्चिनुलाई लिएका छन्  ।

८० हजार ७ सय ३३ मतदाता रहेको कालीकोटमा वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा ९ पालिकामध्ये ६ प्रमुख र ४ उपप्रमुखमा माओवादी, २ पालिका प्रमुख र १ उपप्रमुख कांग्रेस, १ प्रमुख र १ उपप्रमुख एकीकृत समाजवादीले जितेको थियो ।  एमालेले भने ३ पालिकामा उपप्रमुखमा मात्र चित्त बुझाउनुपरेको थियो ।

स्थानीय तहको चुनावमा वडाध्यक्षले पाएको मत विश्लेषण गर्दा माओवादी केन्द्रले १८ हजार, कांगेस र एमालेले १२÷१२ हजार र एकीकृत समाजवादीले करिब ४ हजार मत प्राप्त गरेका थिए । यस हिसाबले हेर्दा गठबन्धनको ३४ हजार मत छ भने एमालेको १२ हजार मात्र देखिन्छ । निरन्तर २० वर्षदेखि कालीकोटलाई कार्य क्षेत्र बनाएर काम गरेका युवा उम्मेदवार नगिन्द्र शाही नेसनल हालसम्म कुनै लाभको पदमा नपुगेकोले मतदाता उनीप्रति पनि आकर्षित छन् ।

माओवादीको बागी उम्मेदवार हुनु, मुख्यमन्त्री हुँदा जिल्लामा देखिने खालको कुनै गतिलो काम गर्न नसक्नुलगायत कारणले सहजै आफूले चुनाव जित्ने उनले दाबी गरे । अहिले प्रतिनिधिसभाका लागि कांग्रेस कालीकोटका संस्थापक सभापति पंखबहादुर विष्ट कांग्रेस बीपीबाट चुनाव लडेका छन् । कांग्रेसका अर्का पुराना नेता धनप्रसाद पाण्डे स्वतन्त्र उम्मेदवार छन्  ।

प्रदेशसभामा पनि कडा प्रतिस्पर्धा

दुईवटा प्रदेशसभा सदस्यका लागि कालीकोटमा १० जनाको उम्मेदवारी छ । प्रदेशसभा १ (१) मा माओवादी केन्द्रले पूर्वप्रतिनिधिसभा सदस्य रावतलाई टिकट दिएपछि कर्णाली प्रदेशसभामा फ्लोरक्रस गरेर कारबाहीमा परेका कुर्मराज शाहीलाई एमालेले पुनः टिकट दिएर चुनावी मैदानमा उतारेको छ ।

\एमालेको बलियो जनाधार र आफू प्रदेशसभा सदस्य हुँदा धेरै योजना ल्याएकाले मतदाताले आफूलाई विश्वास गर्ने एमाले उम्मेदवार शाहीले बताए । उनीविरुद्ध राप्रपाका सूर्यबहादुर शाही र नेपाल मजदुर किसान पार्टीका रवीन्द्र शाही उम्मेदवार छन्  । सत्ता गठबन्धनका तर्फबाट कांग्रेसका पुराना नेता हिक्मतबहादुर विष्टको प्रतिस्पर्धा छ ।

कान्तिपुर

उम्मेदवार बन्न आलोपालो, स्वतन्त्रको डर

चुनावले छोएन पहाडका मुस्लिमलाई

उम्मेदवार बन्न आलोपालो, स्वतन्त्रको डर

सबथोक भएको प्रतिस्पर्धात्मक समूह

Leave a comment

Your email address will not be published. Required fields are marked *