धनगढीमा ट्राफिक प्रहरीका एसपी प्रविण धितालको रकम असुली धन्दा

धनगढी, २८ माघ ।
एक वर्षमा दुई करोड रुपैयाँ कमाउने लक्ष्य बनाएर क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियामा दुई साता अघि मात्र सरुवा भई आउनुभएका प्रहरी उपरीक्षक प्रवीण धितालले रकम असुलीको काम शुरु गर्नुभएको छ । माघ १० गते ट्राफिकको सुदूरपश्चिमको कमान्ड समाल्नुभएका धितालले यसै सातादेखि मातहतका युनिटबाट रकम बुझ्न शुरु गरिसक्नुभएको छ ।
क्षेत्रीय ट्राफिकको जिम्मेवारी समालेपछि यस क्षेत्रको ट्राफिक व्यवस्थापनलाई कसरी सुधार गर्न सकिन्छ र दुर्घटना न्यूनीकरणका बारेमा के गर्न सकिएला भन्ने विषयमा सरोकारवाला निकायसँग छलफल गर्नुको साटो एसपी धितालले आफ्ना मातहतको युनिटहरू प्रयोग गरेर रकम उठाउन शुरु गरिसक्नुभएको छ ।
शेयरमा लगानी गरेर दुई करोड रुपैंया डुबेकाले आफू रकम असुल गर्न आएको बताउँदै मातहतका युनिट इन्चार्जहरूलाई आफूले तोकेको रकम समयमा बुझाउन ताकेता गर्नुभएको छ । ‘जे जसरी हुन्छ पैसा उठाऊ र समयमा मलाई पैसा बुझाऊ’ भन्ने उर्दी नै एसपी धितालले जारी गरेको समाचार स्रोतको दाबी छ ।
समाचार स्रोतका अनुसार ट्राफिक प्रहरी कैलालीको त्रिनगर र कञ्चनपुरको गड्डाचौकीले एसपी धिताललाई मासिक ५० हजारका दरले बुझाउनुपर्ने छ भने कैलालीकै लम्की, टीकापुर, सुखड र गोदावरी पोष्टले मासिक ३० हजारका दरले, यस्तै मसुरिया, चौमाला, खुटिया, पहलमानपुर, गेटा, सत्ता, चिसापानी , फूलबारीबाट मासिक १० हजारको दर कञ्चनपुरको गुलरिया, कलुवापुर,दैवी,बेलडाडी, बेलौरी, पुनर्वास, दोधारा र डोके बजारका पोष्टहरुले मासिक १० हजारका दरले रकम बुझाउनुपर्ने उर्दी नै जारी भएको छ ।
भने कैलालीको मध्य क्षेत्र जोशीपुरले बाह्र हजार र भजनीले १० हजार, खानडाँडा,फलटुडे,राजपुर र डोटीको बुडरका पोष्टले मासिक ५ हजारका दरले रकम बुझाउनुपर्ने छ । अन्य क्षेत्र छोडेर पोष्टहरुले मात्र एसपी धिताललाई मासिक करिब ५ लाख बाइस हजार बुझाउनुपर्ने लिस्ट तयार भएको छ । स्टाफ बैठकको नाम दिएर हरेक महिनामा रकम असुल गर्ने योजना बनेको छ ।
यस्तै, एसपी धितालले ट्राफिक युनिटहरूको व्रिफिंग लिँदै अघिल्लो एसपीको पालामा भन्दा आफूलाई रकम बढाएर दिन दबाब दिएकाले सडकमा गुड्ने सवारी साधनहरू समस्यामा परेका छन् । युनिट इन्चार्जले एसपीको आदेश पालना गर्दै महिनावारी बाँधिएका ट्रयाक्टरहरुबाट मासिक दुई हजारका दरले बुझाउनुपर्ने बाध्यता भएको छ ।
यसअघि मासिक एक हजार बुझाउँदै आएका ट्र्याक्टर ब्यावसायीहरुले ट्राफिक एसपी धिताल आएपछि मासिक दुई हजार बुझाउनुपर्ने बाध्यता भएको छ । ट्राफिकले तोकेको रकम नबुझाएमा काम गर्न कठिनाइ हुने भएकोले बाध्य भएर बुझाउनुपर्ने अवस्था आएको एक जना व्यवसायीले बताएका छन् । पैसा नबुझाएमा विभिन्न बाहानमा दुःख दिने भएकाले उनीहरूको आदेश पालना गर्नुबाहेक अर्को विकल्प नभएको उनीहरूको गुनासो छ ।
भीमदत्त राजमार्गमा लागू गरिएको टाइम कार्ड पनि ट्राफिकको कमाई खाने माध्यम बनेको छ । तत्कालीन एसपी वीरेन्द्र बस्यालको पालामा लागू गरिएको टाइम कार्डको व्यवस्था पछिल्लो समयमा पैसा उठाउने माध्यम बनेको छ । टाइम कार्डमा तोकेको समय भन्दा अगावै गन्तव्यमा पुगे जरिवाना हुने व्यवस्था छ तर यातायात व्यवसायीहरुले ट्राफिकलाई पैसा दिएर टाइम कार्डको समय मिलाउने गरेको गुनासो आउने गरेको छ । हाल त्यसको जिम्मेवारी गोदावरीमा रहेको ट्राफिक पोष्टले गरेको छ । यस्तै एसपी धितालको बारेमा उठेको प्रश्नको बारेमा जानकारी दिन बारम्बार सम्पर्क गर्दा पनि उहाँ सम्पर्कमा आउनु भएन । (नेपाल समाचारपत्रबाट साभार)






