निर्वाचनको मिति नजिकिँदा : कर्णालीमा झडप–तोडफोडका घटना बढ्न थाले

सुर्खेत, २५ बैशाख ।
स्थानीय तह दोस्रो निर्वाचनको मिति बैशाख ३० गते नजिकिँदै गर्दा निर्वाचनका प्रतिस्पर्धी दलका कार्यकर्ताको विवाद–झडप सुरु भएको छ ।
हुम्लाका अदानचुली गाउँपालिकाबाट सुरु भएको विभिन्न पार्टीका कार्यकर्ताको विवाद तथा झडप सुर्खेतको सिम्तामा बैशाख २२ गते विहिबार एमाले–काँग्रेस कार्यकर्तावीच विवाद उत्पन्न भई कुटपिट भएको थियो ।
बैशाख २२ गतेनै रुकुम पश्चिमको मुसिकोटमा माओवादी कार्यकर्ताबाट नेपाली काँग्रेसका कार्यकर्ता कुटिएका थिए भने काँग्रेसका उम्मेदवारको गाडीमाथी तोडफोड भएको थियो ।
बैशाख २३ गते शुक्रबार राती सुर्खेत वीरेन्द्रनगरमा चुनावी प्रचारमा हिडेका दुई वटा गाडी अज्ञात समूहले आगजनी गरेको छ ।
बैशाख २४ गते शनिबार चौरजहारी नगरपालिकामा माओवादी केन्द्र र नेपाली काँग्रेसका कार्यकर्तावीच झडप भएको छ । बैशाख २४ गते शनिबार नै दैलेखको दुल्लू नगरपालिकामा नेकपा एमालेका कार्यकर्ता र गठबन्धनका कार्यकर्ताविच विवाद उत्पन्न भएको छ ।
पहिलो घटना
चैत्र २५ गते हुम्लामा नेकपा एमाले र माओवादी केन्द्रका कार्यकर्तावीच झडपको अवस्था उत्पन्न भएको थियो । एमाले कार्यकर्ताद्धारा चैत्र २५ गते शुक्रबार राती आफ्नो निकट कार्यकर्ताको होटलमा तोडफोड, आक्रमण गरिएको आरोप लगाउँदै माओवादी कार्यकर्ता झडपमा उत्रिएका थिए ।
अदानचुली गाउँपालिकाका अध्यक्ष दल फडेरा नेतृत्वको टोलीले तोडफोड गरेको भन्दै माओवादी केन्द्रका कार्यकर्ताद्धारा गाउँपालिका अध्यक्ष फडेराको घर तोडफोड गरेका थिए ।
ढिला गरी घर फर्किने क्रममा अध्यक्षसँगै रहेका कार्यकर्ताले बिच बजारमा रहेका नबराज होटल र अनिता बुमीको पसलमा सामान्य तोडफोड गरी नारा जुलुस गरेको भन्दै चैत्र २६ गते शनिबार दिउँसो त्यसको जवाफ स्वरुप नेकपा माओवादी केन्द्रका कार्यकर्ताले अध्यक्षको घर तोडफोड गरेका थिए ।
दोस्रो घटना
सुर्खेतको बादेपिपलमा नेकपा एमाले र नेपाली काँग्रेस कार्यकर्ताबीच झडप भएको । बैशाख २२ गते बिहिबार राति ११ बजेतिर सुर्खेतको सिम्ता गाउँपालिका–६ का काँग्रेसका वडा अध्यक्षका उम्मेदवार गुलाब सिंह ठकुरीलाई एमालेका कार्यकर्ताले आक्रमण गरेका थिए ।
झडपमा वडा अध्यक्षका प्रत्यासी गुलाब सिंह ठकुरी र उनका समर्थक सुरज सिंह ठकुरी घाइते भए । आक्रमणमा संलग्नहरूबारे अनुसन्धान भइरहेको कर्णाली प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख (एसएसपी) राजेशनाथ बास्तोलाले बताए ।
आफ्ना कार्यकर्तालाई कांग्रेस समर्थकले आक्रम गरेको निहुँमा करिब ५० जना एमालेका कार्यकर्ताको समूहले राकम बजारमा रहेको मोहन मल्लको होटलमा बसिरहेका काँग्रेस उम्मेदवारमाथी आक्रमण गरेका प्रहरीको भनाई थियो । प्रहरीले अवस्था नियन्त्रणमा लिन २ सेल अश्रु ग्याँस फायर गरेको थियो । घाइते दुईजनाको अवस्था सामान्य छ ।
तेस्रो घटना
नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका कार्यकर्ताबीच रुकुम पश्चिमको मुसिकोट झडप भएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक विष्णुप्रसाद सोतीका अनुसार वाइसीएल र तरूण दलका कार्यकर्ताबीच झडप भएको थियो ।
झडपमा परेर ८ जना कांग्रेस कार्यकर्ता घाइते भएका थिए । घाइतेमध्ये २ जनाको स्थानीय मेडिकलमा र ६ जनाको जिल्ला अस्पताल सल्लेमा उपचार भएको थियो ।
जिल्ला अस्पतालमा वर्ष ३१ का कृष्ण पुन, वर्ष २९ का वीरबहादुर ओली, वर्ष १७ का दुर्गाबहादुर ओली, वर्ष ४७ का वीरबहादुर ओली, वर्ष ३० का चित्रबहादुर खड्का, वर्ष २६ का झुपलाल वली, वर्ष २३ का नविन खड्काको जिल्ला अस्पताल सलेमा उपचार भएपछि घर फर्किएका छन् ।
माओवादी कार्यकर्ताहरुले नेपाली कांग्रेसको तर्फबाट अध्यक्षको पदका उम्मदेवार रहेका अमरसिं खड्काले प्रयोग गर्दै आएको रा १ च १२६२ नम्बरको जिपमा समेत आक्रमण गरेका थिए ।
चाैथाे घटना
सुर्खेतमा दुई वटा गाडीमा अज्ञात समूहले आगो लगाएको छ । वीरेन्द्रनगर–६ मा पर्ने मुख्य राजमार्गमा रोकी राखेका दुई वटा गाडीमा अज्ञात समूहले बैशाख २३ गते शुक्रबार राती आगजनी गरेका हुन् ।
जुम्ला रोडस्थित सत्कार होटल अगाडि रोकेर राखेको बा १४ च ६८३१ नम्बरको स्कर्पियो र सेन्चुरी बैंक अगाडि रोकेको कर्णाली प्रदेश ०२–००१ ख ००६१ नम्बरको मिनी बसमा आगजनी भएको हो ।
कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार स्कार्पियो नेपाली कांग्रेसले चुनाव प्रचार प्रसारमा प्रयोग गर्दै आएको थियो भने मिनी बस नेकपा एमालेले प्रचार प्रसारमा प्रयोग गर्दै आएको थियो ।
२ बजे स्कार्पियो र साढे २ बजे मिनीबसमा आगजनी भएको प्रहरीले जानकारी दिएको छ । नजिकै पर्ने मंगलगढी चोकमा ड्युटी बसेको प्रहरीले आगलागी भएको खबर गरेपछि नगर प्रहरी आएर आगो नियन्त्रणमा लिएको थियो ।
आगलागीबाट स्कर्पियोको टायर र बाहिरी बडीमा क्षति भएको छ भने मिनीबसको सिसा र भित्र सिटहरुमा क्षति भएको कर्णाली प्रदेश प्रहरीले कार्यालयले जनाएको छ । घटनाको अनुसन्धान जिल्ला प्रहरी कार्यालय सुर्खेतले गरिरहेको छ ।
एमाले–गठबन्धन निकट युवाहरुको झडप
दुल्लु नगरपालिका वडा नं. १२ मा एमाले र गठबन्धन निकट युवाहरुबिच झडप भएको छ । गठबन्धनको ¥याली, नेकपा एमालेको चुनावी सभा भईरहेको ठाउँबाट क्रस गर्ने क्रममा विवाद उत्पन्न भई केही कार्यकर्ता विच झडप भएको हो ।
झडपमा परी केही युवा सामान्य घाईते भएका छन् । झडपमा एमालेका कार्यकर्ताले ¥यालीसहित आफ्नो कार्यक्रमस्थल क्षेत्रमा अवरोध नगर्न अनुरोध गरेको र गठबन्धनका युवाहरुले सार्वजनिक बाटोबाट कार्यक्रम गर्न पाउने भन्दा विवाद उत्पन्न भई झडप भएको हो ।
झडपमा काँग्रेस निकट एक जना युवाको नाकमा सामान्य चोट लागेको र उपचारको लागि दुल्लू अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायव उपरिक्षक भुवनेश्वर शाहले जानकारी दिएका छन् ।
माओवादी कार्यकर्ताले रुकुम पश्चिममा शिक्षक कुटे
नेपाली कांग्रेस र नेकपा माओवादी सत्ता साझेदार दलहरू हुन् । यी दललगायत सत्ता गठबन्धनको स्थानीय निर्वाचनका लागि धेरै जिल्लामा चुनावी तालमेल छ । तर, रुकुम पश्चिम यस्तो जिल्ला छ जहाँ माओवादी केन्द्रका कार्यकर्ताको व्यवहार र धङ्धङ्गी सशस्त्र युद्धकालकै छ ।
ऊ एक्लै चुनावी मैदानमा छ । अन्य पार्टीलाई उसले कहिल्यै मित्रवत व्यवहार नगरेको फरक मत राख्नेको आरोप छ । दादागिरीको राजनीति गरेको उनीहरूको भनाई छ ।
दिनहुँ फरक विचार र आस्था राख्ने पार्टीका कार्यकर्तालाई कुटपिट गर्ने कार्य सुरु भएको छ । बुधबार र बिहीबार कांग्रेस कार्यकर्ता कुटेका माओवादीले शुक्रबार एमाले निकट एक शिक्षकलाई दाँतै झर्ने गरी कुटपिट गरेका छन् ।
त्रिवेणी गाउँपालिका–८ का ३९ वर्षीय लोकबहादुर खड्कालाई रक्ताम्य हुने गरी माओवादी कार्यकर्ताले कुटपिट गरेको जिल्ला प्रहरी प्रमुख डीएसपी विष्णुप्रसाद सोतीले बताए । स्थानीय शुभप्रभात आधारभूत विद्यालयमा कार्यरत उनको कान, नाक र मुखमा चोट लागेको छ ।
माओवादीको युवा दस्ता वाईसीएल कार्यकर्ताको मुक्का प्रहारबाट घाइते खड्काको एउटा दाँतसमेत झरेको छ । घाइतेको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ । घटनास्थल सदरमुकाम खलंगा मुसिकोटबाट गाडीमा दुई÷तीन घण्टाको दूरीमा पर्छ ।
‘माओवादीलाई भोट दिन्न कांग्रेस र एमालेको गठबन्धनलाई भोट दिन्छु’, भनेपछि उनलाई माओवादी कार्यकर्ताले कुटपिट गरेको स्थानीयको भनाइ छ । रुकुम पश्चिममा कांग्रेस र एमालेको तालमेल छ भने माओवादी एक्लै चुनावी मैदानमा उत्रिएको छ ।
माओवादीको उग्रता यतिमा मात्र सीमित छैन । भागेर बिहीबार नुवाकोट प्रहरी चौकीमा शरण लिन गएका कांग्रेस कार्यकर्तालाई संरक्षण गरेको भन्दै उनीहरूले प्रहरी चौकीसमेत तोडफोड गरिदिएका थिए ।
प्रहरीका अनुसार बुधबार रातिबाट त्रिवेणी गाउँपालिका–९ मा कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भयो। एकआपसमा ढुंगा हानाहान पनि भयो ।
त्रिवेणी–९, नुवाकोटस्थित चौकीमा कांग्रेस कार्यकर्ता छिरेपछि वाईसीएलले ढुंगा हानेका हुन् । कांग्रेस कार्यकर्तालाई वाईसीएलले लखेटेपछि ज्यान जोगाउन चौकीभित्र छिरेका उनीहरूलाई वाईसीएल कार्यकर्ताले बाहिर निकाल्न भनेका थिए । कांग्रेसका १३ जना कार्यकर्ता चौकीमा पुगेका थिए ।
बुधबार दिउँसो पनि यहाँ कांग्रेस र माओवादी कार्यकर्ताबीच तनाव भएको थियो । तरुण दलले वाईसीएलका चूडामणि बस्नेत, डिलबहादुर विकको घर तोडफोड गरेका छन् । माओवादीको तर्फबाट ९ नम्बर वडाध्यक्षका उम्मेदवार जनककुमार विकको समेत गरी ३ वटा बाइकसमेत तोडफोड गरेका छन् ।
माओवादीले कांग्रेसका उम्मेदवार चढ्ने गाडीका सीसा फुटाएको र झन्डा च्यातेपछि घटना उग्र बन्दै गएको आरोप कांग्रेसले लगाएको छ ।
माओवादी कार्यकर्ताले कांग्रेसको तर्फबाट गाउँपालिका अध्यक्षका उम्मेदवार अमरसिङ खड्काको घरमा पनि ढुंगा हानेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख डिएसपी विष्णुप्रसाद सोतीले प्रहरी जनशक्ति कम भएका कारण प्रहरी चौकी तोडफोड भएको बताए ।
चौरजहारीमा वाइसिएल र तरूण दलबीच झडप
रूकुम पश्चिमको चौरजहारीमा नेपाल तरूण दल र वाइसिएलका युवाबीच झडप भएको छ । शुक्रबार राती चौरजहारी नगरपालिका–१ घारीगाउँमा दुई पक्षबीच झडप हुँदा पाँच जना घाइते भएका हुन् ।
दुबै पक्षका ५०–६० जनाको समूहबीच झडप भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । रूकुम पश्चिमका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक विष्णुबहादुर सोतीका अनुसार तरूण दलका तीन जना र वाइसिएलका दुई जना घाइते छन् ।
तरूण दलका योगेश विष्ट, मानबहादुर विक र यज्ञचन गिरी घाइते छन् । वाइसिएलका ध्रुवराज विष्ट र समीर स्वर्णकार घाइते छन् । घाइतेमध्ये तरूण दलका योगेश र मानबहादुरलाई नेपालगन्ज रिफर गरिएको छ । अरूको चौरजहारीस्थित मिसन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय चौरजहारीबाट घटनामा संलग्नहरूको खोजी गर्न प्रहरी परिचालन गरिएको सोतीले जानकारी दिए । नेपाली कांग्रेस रूकुम पश्चिमले विज्ञप्ति निकालेर घटनाको भ्रत्सना गरेको छ ।
रूकुम पश्चिममा नेपाली कांग्रेसको पक्षमा चुनावी माहोल बलियो देखेर माओवादी केन्द्रले विभिन्न तवरले आक्रमण गर्ने गरेको कांग्रेसको भनाई छ ।
‘माओवादीसँग चुनावी तालमेल गर्ने राष्ट्रिय सहमति कार्यान्वयन हुन नसकेपछि अरू दलहरुसँग भएको चुनावी तालमेलबाट आत्तिएर रूकुम पश्चिममा माओवादीले भौतिक आक्रमण गरिरहेको छ,’ सभापति प्रेमप्रकाश वलीले भनेका छन् ।
यसअघि पनि माओवादी केन्द्रका कार्यकर्ताहरूले आठविसकोट नगरपालिका–८ का उम्मेदवार चन्द्रबहादुर बुढा लगायतका काँग्रेस नेता तथा कार्यकर्तामाथि आक्रमण गरेका थिए ।
त्यस्तै त्रिवेणी गाउँपालिका–५ मा उपाध्यक्ष उम्मेदवारले प्रयोग गर्ने गाडी जबरबजस्ती लिएको, अध्यक्षका उम्मेदवारले प्रयोग गर्ने गाडी तोडफोड गरेको, घरमा आगजनीको प्रयास गरेको, गरगहना, नगद लुटपाट जस्ता कार्य माओवादीले कांग्रेसलाई लक्षित गरिरहेको विज्ञप्तिमा भनिएको छ ।







