प्रधानन्यायाधीश एक्लैले हेरे मुद्दा, न्यायाधीशद्वारा बहिष्कार १

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बुधबार एक्लै मुद्दा हेरेका छन्। प्रधानन्यायाधीशको भूमिकालाई लिएर न्यायाधीशको आन्दोलनका बीच राणा एक्लैले मुद्दा हेरेका हुन्।
न्यायाधीशले दुई दिनदेखि इजलास बहिष्कार गरे पनि प्रधानन्यायाधीश जबराले आज पनि इजलास तोकेका थिए।
न्यायाधीशहरूको आन्दोलनका बीच प्रधानन्यायाधीशले ११ वटा इजलास तोकेका थिए। अन्य न्यायाधीशहरूले बहिष्कार गरेपछि प्रधानन्यायाधीश राणाको एकल इजलासले ५ वटा मुद्दा सुनुवाइ गरेको हो।

प्रधानन्यायाधीश मुद्दा सुनुवाइमा लागे पनि अन्य न्यायाधीशहरू भने आन्तरिक छलफलमा व्यस्त थिए। उनीहरूले आज लिखित रूपमा प्रधानन्यायाधीशको राजीनामा माग्ने तयारी गरिरहेका छन्। मंगलबार पनि मौखिक रूपमा भेटेर राजीनामा मागेका थिए तर प्रधानन्यायाधीशले सडकबाट माग्दैमा राजीनामा नदिने जवाफ फर्काएका थिए।
राजनीतिक भागबण्डामा प्रधानन्यायाधीशले भाग खोजेको र न्यायालयको सुधारमा प्रधानन्यायाधीश उदासीन देखिएको लगायतका माग राखेर १५ न्यायाधीशले प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने माग राख्दै आएका छन्।
लगातार छलफलमा रहेका १५ न्यायाधीशले इजलासमा मुद्दा नहेर्दा न्यायको पर्खाइमा रहेका कैयौं नागरिकले न्याय पाउन सकेका छैनन्।
यस्तै संवैधानिक इजलासमा एउटा मात्रै मुद्दाको सुनुवाइ राखिएको थियो।
मंगलबार प्रधानन्यायाधीश जबराले १५ जना न्यायाधीशलाई ८ वटा इजलास गरी २ सय १६ मुद्दाको पेसी तोकेका थिए। प्रधानन्यायाधीश जबराले आफूलाई भने कुनै पेसी राखेका थिएनन्।
सोमबार पनि १० वटा इजलास तोकिएको थियो तर प्रधानन्यायाधीशले बोलाएको ‘फूलकोर्ट’को बैठक समेत बहिष्कार गरेर न्यायाधीशहरू आन्दोलित भएपछि प्रभावित बन्न पुगेको थियो।
प्रधानन्यायाधीश र न्यायाधीशहरूको विवादको कारणले सोमबार र मंगलबारको सुनुवाइ पूरै प्रभावित भएको थियो।
यस्तै, नेपाल बार एसोसियसनले प्रधानन्यायाधीश जबराले राजीनामा नदिएसम्म चरणबद्ध आन्दोलन गर्ने निर्णय गरेको छ।






