एक करोड पुग्यो प्रशान्तिको ‘अक्षयकोष’

असहाय बृद्धबृद्धाहरुको सेवामा क्रियाशिल प्रशान्ति बृद्धआश्रम सुर्खेतको अक्षकोषमा एक करोडबढी रकम जम्मा भएको छ । शनिबार अक्षकोषमा संस्थाका अध्यक्ष बालकृष्ण श्रेष्ठ र उनका जीवनसंगिनी उर्मिलाले श्रेष्ठ एकलाख ११ हजार एकसय ११ रुपैयाँ जम्मा गरेसँगै अक्षकोषमा कुल रकम एक करोड ५० हजार पुगेको संस्थाका सचिव चेत अधिकारीले जानकारी दिए ।
संस्थाको नियमित सञ्चालनमा सहयोग पु¥याउने उद्देश्यले २०६० सालमा संस्थाका कोषाध्यक्ष भद्र भण्डारीको संयोजकत्वमा आश्रमले अक्षकोष अभियान थालेको थियो ।

अक्षकोषका पहिलो दाता चन्द्रा भण्डारी र पहिलो आजिवन दाता युगआह्वान दैनिकका सम्पादक दीपककुकार बुढा हुन् । ५० हजारभन्दा बढी रकम दिने दातालाई अक्षकोषदाता र पाँच हजार रकम बुझाएमा आजीवन सदस्य बन्न सकिन्छ । अक्षकोषदाता र आजीवन सदस्यकोको रकम अक्षकोषमा जम्मा हुन्छ ।
हालसम्म अक्षकोषमा आठसय २९ जना दाताहरु बनेको छन् । संस्थाले पहिलो चरणमा कक्षकोषमा एक करोड रकम पु¥याउने लक्ष्य राखेको थियो । पहिलो चरणको लक्ष्य पुरा भएपनि अक्षकोष अभियान भने अझै जारी रहनेछ । २०५४ सालमा स्थापना भएको आश्रममा बर्दिया, काभ्रेपलान्चोक र कर्णालीका विभिन्न जिल्लाका २३ बृद्धबृद्धाहरु आश्रित हुनुहुन्छ ।






