भारतमा फैलिएको ‘ब्ल्याक फंगस’ कोरोनाभन्दा पनि खतरनाक

एजेन्सी । कोरोनाले थलिएको भारतलाई यतिखेर ब्ल्याक फंगसले पनि सताइरहेको छ। ब्लक फंगस कोरोना भाइरसको तुलनामा निकै बढी जोखिमपूर्ण छ । यसको संक्रमणमा परेका मानिसको मृत्युदर पनि निकै उच्च छ।
अहिलेसम्म भारतभर ब्ल्याक फंगसबाट संक्रमित भएका झण्डै १० हजार मानिस फेला परिसकेका छन्। म्युकरमायाकोसिस पनि भनिने यो संक्रमण भएका मानिसको मृत्युदर करिब ५० प्रतिशत छ। केही संक्रमितलाई बचाउन उनीहरूको आँखा नै निकाल्नुपरेको छ ।
भारतमा हालैका महिनामा यो फंगसबाट संक्रमित हुनेको संख्या बढिरहेको छ। कोरोना संक्रमणबाट मुक्त भएकाहरूलाई फेरि ब्ल्याक फंगसले आक्रमण गरेको हो ।
ब्ल्याक फंगसको सम्बन्ध कोरोनाविरुद्ध उपचारमा प्रयोग हुने स्टेरोइडसँग रहेको चिकित्सकहरूले बताएका छन्। उनीहरूका अनुसार मधुमेह रोग लागेकाहरू ब्ल्याक फंगस संक्रमणको उच्च जोखिममा रहेका हुन्छन्।
चिकित्सकहरूका अनुसार कोरोना संक्रमणबाट मुक्त भएको १२ देखि १८ दिनभित्र मानिसको शरीरलाई ब्ल्याक फंगसले आक्रमण गर्ने गरेको पाइएको छ।
भारतमा ब्ल्याक फंगसबाट संक्रमितहरूमध्ये आधाभन्दा धेरै पश्चिमी राज्य गुजरात र महाराष्ट्रमा भेटिएका छन्। यही क्षेत्र नै अहिले कोरोना महामारीबाट सबैभन्दा बढी प्रताडित छ।
त्यहाँको अन्य १५ राज्यमा पनि ब्ल्याक फंगसबाट संक्रमित कम्तीमा ८ सय मानिसहरू फेला परेका छन्। निकै तीव्र गतिमा फैलिरहेकाले भारतका २९ राज्यमा यो समस्यालाई महामारी घोषणा गर्न आग्रह भइरहेको छ।
ब्ल्याक फंगस भएकाहरूलाई उपचार गर्न खोलिएका नयाँ वार्डहरूमा पीडितहरूको संख्या निरन्तर बढिरहेको त्यहाँका चिकित्सकहरूले जानकारी दिएका छन्।
मध्य प्रदेशको इन्दौर शहरस्थित ११ सय शय्या रहेको महाराजा यशवन्तराव अस्पतालमा एक साताभित्रै ब्ल्याक फंगसबाट संक्रमित १८५ जना भर्ना भएका छन्। ८० प्रतिशत संक्रमित तत्काल शल्यक्रिया गर्नुपर्ने अवस्थामा पुगेको सो अस्पतालमा मेडिसिन विभागका प्रमुख विपी पान्ड्यले जानकारी दिएका छन् ।






