स्वास्थ्यलाई प्राथमिकता
नयाँ आर्थिक वर्ष हुन अब केही साता मात्र बाँकी छ । चालु आर्थिक वर्ष सकिएपछि प्रदेश सरकारले नयाँ आर्थिक वर्षका लागि नयाँ नीति तथा कार्यक्रम ल्याउने छ । यसैका लागि कर्णालीमा प्रदेश योजना आयोगले हिजोआज आगामी वर्षका लागि नयाँ नीति तथा कार्यक्रम तयार पारिरहेको छ ।
नीति तथा कार्यक्रमको खाका तयार हुँदै गर्दा नयाँ वर्षका लागि प्रदेश सरकारले कस्तो नीति तथा कार्यक्रम ल्याउला भन्ने चासो पनि बढेको छ । अघिल्लो वर्षमा जस्तै यसपाली पनि प्रदेश सरकारले नीति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रको विकास र कोरोना महामारी नियन्त्रण गर्नेगरी कार्यक्रमहरु ल्याउने जनाएको छ ।
अघिल्लो वर्षमा जस्तै यो वर्षमा पनि कोरोना महामारी बढेको छ । अघिल्लो पटक भन्दा यसपाली संक्रमण धेरै छ । त्यतिमात्र होइन, मृत्युदर पनि बढेको छ । यसकारण पनि यसपालीको कोरोना महामारी नियन्त्रण गर्न सहज छैन । अझ भनौं यो महामारीबाट नागरिकलाई जोगाउन कठिन छ । सरकारले स्रोत र साधन थप गर्नुपर्ने अवस्था छ ।
नीति तथा कार्यक्रमले सरकारको आगामी आर्थिक वर्षमा गर्ने कामको रुपरेखा देखाउँछ । तसर्थ प्रदेश सरकारले आउँदो आर्थिक वर्षमा पनि कर्णालीको स्वास्थ्य क्षेत्र सुधार गर्ने, कोरोनासँग जुध्ने, स्वास्थ्यका पूर्वाधार विकास गर्ने, दक्ष जनशक्तिको व्यवस्थापन गर्ने, कोरोना महामारी नियन्त्रणमा खटिने स्वास्थ्यकर्मीलाई उत्प्रेरित गर्ने र दुर्गममा औषधि र खोपको उपलब्धता सुनिश्चितता गनुपर्ने हुन्छ ।
यसका लागि नयाँ नीति तथा कार्यक्रममा नै सरकारले यी विषयहरु समावेश गर्नु पर्दछ । जिल्ला अस्पतालहरुको स्तरोन्नति, स्थानीय तहमा रहेका स्वास्थ्यचौकीहरुको विकास, अस्पतालहरुमा दरवन्दी अनुसारका चिकित्सक र स्वास्थ्यकर्मी, अक्सिजन प्लान्ट संचालन, आईसीयु र भेन्टिलेटरको व्यवस्थापनमा पनि सरकारले लगानी गर्नु पर्दछ ।
यस्तै अधिकांश स्थानमा अहिले पनि एम्बुलेन्स छैनन् । जसले संक्रमितको उद्दारमा समस्या भइरहेको छ । यसकारण आवश्यकता अनुसार एम्बुलेन्सको पनि व्यवस्थापन हुनु पर्दछ । स्वास्थ्य मानवको लागि पहिलो आवश्यकता हो । मानिसको जीवन रहेमा मात्र भौतिक विकास र सामाजिक रुपान्तरण सम्भव छ । यसकारण पहिलो नागरिकको जीवन रक्षा नै हो । यसकारण भौतिक विकास र सामाजिक सुधारका कार्यक्रमहरु आगामी दिनमा पनि गर्न सकिन्छ ।
यसपाली सरकारले नागरिकलाई महामारीबाट जोगाउनका लागि स्वास्थ्य क्षेत्रको विकास र विस्तारमा लगानी गर्न आनाकानी गर्नु हुँदैन । स्वास्थ्यका संरचनाहरु अब्बल भएमा कर्णालीका बिरामीले महँगोा खर्चेर, ऋण लगाएर बाहिर उपचार गर्न जानुपर्ने अवस्थाको अन्त्य हुनेछ । यसका लागि पनि अहिलेको पहिलो आवश्यकता भनेको स्वास्थ्य क्षेत्रको विकास नै हो । त्यसैले प्रदेश सरकारसँगै स्थानीय तहहरुले पनि आगामी वर्षको नीति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रलाई नै मुख्य प्राथमिकता दिन जरुरी छ । यसो भएमा मात्र हामी कोरोना महामारीसँग जुध्न सक्षम हुनेछौं । नागरिकलाई महामारीबाट जीवन जोगाउन सफल हुनेछौं ।





