काठमाडौँसहित देशका विभिन्न स्थानमा वायु प्रदुषण बढ्यो

काठमाडौँ । काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा वायु प्रदूषण बढेको छ । प्रि–मनसुनको समयमा औषत भन्दा निकै कम वर्षा तथा डढेलो र औद्योगिक गतिविधिका कारण पछिल्ला दिनहरुमा वायु प्रदुषण बढ्दो क्रममा रहेको वातावरण विभागले जनाएको छ ।
विभागका अनुसार पछिल्लो केही दिन यता काठमाडौँ, भक्तपुर, ललितपुरसहित हेटौँडा, विराटनर, सिमरा, जनकपुर, धनगढीलगायतका क्षेत्रमा वायु प्रदूषण बढेको छ । विभागका प्रवक्ता ईन्दुविक्रम जोशीले भने, ‘पर्याप्त पानी नपर्दा वायुमण्डलमा धुलोका कणहरु जम्मा भएका छन् । यसै पनि हाम्रो वायुको गुणस्तर कमजोर नै छ त्यसमाथि हाल थप खराब भएको छ ।’
स्थानीय कारकहरु नै हालको वायु प्रदूषणका लागि बढि मात्रामा जिम्मेवार रहेको उनले बताए । विभागका उपमहानिर्देशकसमेत रहेका जोशीले भने, ‘हावा राम्रोसँग चल्न सकेको छैन । औद्योगिक गतिविधिहरु भएका छन् । सवारी चाप बढि छ । वनहरुमा डढेलो लागेको छ। यी सबैको प्रभाव वायुको गुणस्तरमा परेको हो ।’
मौसमविद् शान्ति कँडेलका अनुसार वायु प्रदूषण बढ्नुमा पश्चिमी वायुको मौसमी गतिविधि पनि कारक रहेको छ । मौसमविद् कँडेलले भनिन्, ‘अहिले नेपालमा पश्चिमी वायुको प्रभाव छ । तर सो वायु पानी पर्ने गरि सक्रिय छैन । बदली गराउने तथा नेपाल बाहिरबाट धुलोका कणसहित वायु प्रदूषण गराउने तत्वहरु भने पश्चिमी वायु ल्याइरहेको छ ।’
तत्काल वायुमा रहेको धुलोको कण सफा गर्ने गरि पानी पर्ने वा त्यसलाई बढार्ने गरि हावा चल्ने सम्भावना नदेखिएको उनले बताइन् । उनले भनिन्, ‘पानी परेको छैन, तर बदली भएको छ । हावा आइरहेको छ । मौसम धुम्मिएको छ । धुलोका कणहरु पनि आएका छन् । तत्काललाई वर्षा भएर सफा गर्ने खालको मौसमी प्रणाली छैन ।’
यो वर्ष मार्च महिना ९२४ सम्ममा काठमाडौँ उपत्यकामा मात्रै ६/६ मिलिमिटर पानी परेको छ। मार्च महिनाको औषत वर्षा ३४/२ मिलिलिटर हो । यो वर्ष प्रि–मनसुनी गितिविधि विगतका वर्षमा जस्तो सक्रिय नहुँदा निकै कम पानी परेको उनले बताइन् । नेपाल सरकारले निर्धारण गरे अनुसार एक्यूआई ३ सय भन्दा बढि भएमा मानव स्वास्थ्यका लागि विपदको अवस्था मानिने छ । बुधबार बिहान सिमराको एक्यूआई ३०५ मापन भएको छ ।






