दुबईकी ‘गायब राजकुमारी’ लतीफाको नयाँ तस्वीर सार्वजनिक

एजेन्सी । परिवारसँग विद्रोह गर्दा गायब बनाइएकी दुबईकी राजकुमारी लतीफा अल मकतूनको नयाँ तस्वीर सार्वजनिक भएको छ।
फरक–फरक दुई इन्स्टाग्राम एकान्टमा पोस्ट गरिएको तस्वीरमा दुबईका शासक शेख मोहम्मद बिन राशिद अल मकतूमकी पुत्री लतीफा देखिएकी हुन्।
लतीफालाई आफ्नै पिता मोहम्मदले नै बन्धक बनाएका हुन्। लतीफा शेख मक्तुमकी २३ सन्तानमध्येकी एक हुन्।
केही महिनायता लतीफाबारे कुनै नयाँ जानकारी सार्वजनिक भएको थिएन। हाल सार्वजनिक भएको नयाँ तस्वीरमा लतीफाले दुबईको एक सपिङ मलमा चिया वा कफी पिइरहेको देख्न सकिन्छ। उनीसँग अन्य दुई महिलापनि छन्।
फ्रान्सले लतीफाको अवस्था सार्वजनिक गर्न दुबई सरकारलाई दबाब दिइरहेको छ। बेलायती प्रसारण निगम (बीबीसी) ले पनि लतीफाको अवस्थाबारे सूचना संकलन गरिरहेको छ। नयाँ तस्बीरबारे लण्डनस्थित यूएईको राजदूतावासमा सम्पर्क राख्दा कुनै जानकारी दिन नमानेको बीबीसीमा उल्लेख छ।
लतीफा सन् २०१८ मा देशबाट भाग्दै गर्दा पक्राउ परेकी थिइन्। एक फ्रान्सेलीसँग दुबईबाट भागेकी लतीफालाई भारतीय समुन्द्र तटबाट नियन्त्रणमा लिइ पुन: दुबई फर्काइएको थियो। त्यसयता लतीफा सार्वजनिक कार्यक्रममा देखिएकी छैनन्।






