मोदीले भ्रमण गर्ने भएपछि बंगलादेशमा व्यापक विरोध
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बंगलादेश भ्रमण लागेपछि त्यहाँका जनता विरोधमा उत्रिएका छन् ।
मोदी मार्च २६ (आगामी शुक्रबार) बंगलादेश जाँदैछन् । भ्रमण शुरु हुनुभन्दा अघि नै बंगाली जनताहरूले मोदीको विरोध गर्न थालेका हुन् ।
बंगलादेशका विदेशमन्त्री एके अब्दुल मोमेनले भने मानिसहरूको एक समूहले मात्रै मोदीको विरोध गरेकाले चिन्तित हुनुपर्ने कारण नरहेको दाबी गरेका छन् ।
उनले भनेका छन्, ‘केही मानिसहरूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ढाका आउने भएपछि विरोध अभियान चलाइरहेका छन्, तर चिन्ता गर्न आवश्यक छैन, बंगलादेश एक लोकतान्त्रिक देश हो, जहाँ अभिव्यक्ति स्वतन्त्रता छ ।’

समाचार एजेन्सी एपीका अनुसार शुक्रबार बंगलादेशको राजधानी ढाकामा मुसलमान र छात्र संगठनहरूले मोदी भ्रमणको विरोधमा ¥याली निकालेका थिए । भारतीय प्रधानमन्त्री मोदी पाकिस्तानबाट बंगलादेश स्वतन्त्र भएको ५० औँ वर्षगाँठका अवसरमा २६ मार्चका दिन बंगलादेश जान लागेका हुन् ।
भारतीय सहयोगमै भएको रक्तपातपूर्ण लडाइँपछि बंगलादेश सन् १९७१ मार्च २६ का दिन स्वतन्त्र भएको थियो । हिन्दु धर्मको सहारा लिँदै कट्टरपन्थी व्यवहार देखाउने गरेको भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको सरकारले भारतमै मुसलमानहरूमाथि ज्यादती गर्नेगरेको आरोप लागिरहेको छ ।
मुसलमानहरूमाथि सत्ताबाटै दमन भइरहँदा मुस्लिम बाहूल्य बंगलादेशमा मोदीको भ्रमणलाई लिएर भैरहेको विरोधलाई स्वाभाविक मानिएको छ । भारतले ल्याएको नागरिकता संशोधन कानून, बंगाली आप्रवासीहरूमाथि भइरहेको अपमान, सीमा अतिक्रमण र हस्तक्षेपका कारण बंगलादेशमा पनि भारतको विरोध हुने गरेको छ ।





