युरोकपका लागि पोल्याण्डको टिम घोषणा
काठमाडौं । अर्को महिना सुरु हुने युरोकपका लागि पोल्याण्डको टिम घोषणा भएको छ । प्रशिक्षक पाउलो साउसाले सोमबार रोवर्ट लेवान्डोस्कीको कप्तानीमा २६ सदस्यीय टोली घोषणा गरेका हुन् ।
यो सिजन जर्मन बुण्डेसलिगामा उत्कृष्ट प्रदर्शन गर्दै लेवान्डोस्कीले ४९ वर्ष पुरानो गर्ड मुलरको कीर्तिमानसँग बराबरी गरेका थिए । कमिल ग्रोसिकी पनि २६ सदस्यीय टिममा पर्न असफल ठूला नाम रहे । यस्तै मार्चमा डेब्यु गरेका १७ वर्षीय मिडफिल्डर कास्पर कोजलोस्कीले भने टिममा स्थान बनाएका छन् ।
घाइते फरवार्ड क्रिस्टोफ पिएटेकलाई टिममा राखिएको छैन भने कमिल ग्रोसिकीलाई रिजर्भमा राखिएको छ । कमिलसँगै रिभर्जमा चार खेलाडी छन् । यस्तै प्रशिक्षक साउसाले गोलकिपर राडोस्लव माजेस्कीलाई २७औं खेलाडीको रुपमा टिममा राखेका छन् । तर उनी युरोकपका लागि नभई ट्रेनिङ क्याम्पका लागि मात्र टिममा समावेश हुनेछन् ।
युरोकपका लागि पोल्याण्ड टिममा ३ गोलकिपर ९ डिफेण्डर ९ मिडफिल्डर र ५ फरवार्ड समावेश छन् । समूह ई मा रहेको पोल्याण्डले स्पेन, स्वीडेन र स्लोभाकियासँग खेल्नेछ ।
मिनी विश्वकपको रुपमा परिचित युरोकपको १६औं संस्करण युरोपको विभिन्न देशका ११ शहरमा आयोजना हुँदैछ । प्रतियोगिताको ६०औं वर्षगाँठको रुपमा यसपटक धेरै देशमा युरोकप हुन लागेको हो ।
प्रतियोगिता आगामी जुन ११ देखि जुलाई ११ सम्म सञ्चालन हुनेछ ।