तीन दिनदेखि लागेको डढेलो अझै आयन् नियन्त्रणमा

ओखलढ्ंगाको चिशङ्खुगढीको वन क्षेत्रमा मङ्गलबारदेखि लागेको आगो अझै निभाउन सकिएको छैन । सामुदायिक तथा निजी वन क्षेत्रमा आगलागीले सयौँ हेक्टर वन क्षेत्रमा क्षति पुर्याएको छ ।
नेपाल टेलिकमको टावर र बस्तीमा जानबाट भने सुरक्षाकर्मी अग्निरेखासमेत बनाएका छन् । आगो निभाउन विभिन्न निकायका ६० भन्दा बढी सुरक्षाकर्मी खटाइएको छ । कति वन क्षेत्रमा कस्तो क्षति भयो भन्ने कर्मचारी खटाएर बुझ्ने प्रयास भइरहेको डिभिजन वन कार्यालयका प्रमुख ज्ञानकुमार लामाले बताए ।
हावा लागिरहेकोले निभेका क्षेत्रमा आगो पुनः सल्किएको छ । खटाइएका सुरक्षाकर्मीलाई खानेपानी तथा खाजा खानाको समेत समस्या परेको छ । पानी नभएको र आगो निभाउन स्याउलाले प्रयास भइरहेको कार्यालय प्रमु्ख लामाले जानकारी दिए। खटाइएका सुरक्षाकर्मी फर्किएका छैनन् ।
निरन्तरको प्रयासबाट पनि आगो निभाउन नसकिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गोविन्दराज काफ्लेले जानकारी दिए । कसरी आगो लाग्यो भन्ने यकिन नभएकाले अनुसन्धान गरिने उनले बताए । आगोलाई बस्तीमा जान नदिन सुरक्षाकर्मीले बस्ती वरपर अग्नीरेखा कोरेका छन् भने वन क्षेत्रमा दनदन आगो बलिरहेको छ । स्थानीय बासिन्दाको समेत सहयोगमा आगो निभाउन प्रयास भइरहेको प्रहरीले जनाएको छ ।





