आधा दर्जन बढी कलाकर्मीलाई कोरोना संक्रमण

नेपालमा महामारीको रुपमा फैलिएको कोरोनाको दोश्रो लहरले आधा दर्जन भन्दा बढी कलाकर्मी संक्रमित भएका छन् । कोरोनाका कारण दैनिक ९ हजार भन्दा बढी संक्रमित भएका छन् भने २ सय भन्दा बढीले दैनिक ज्यान गुमाएका छन् । नेपाली मनोरञ्जन दुनियाँका कलाकर्मी पनि यसको चपेटामा परेका छन् ।
कलाकार तथा निर्देशक शिवहरि पौडेल कोरोना संक्रमित भएका छन् । उनको नैकापस्थित एपीअफ अस्पतालमा उपचार भैरहेको छ । अस्पताल भर्ना भए लगतै श्वासप्रश्वासमा समस्या आएपछि उनको अक्सिजनको सहारामा उपचार भैरहेको छ ।
कोरोनाका कारण कलाकार मदनकृष्ण श्रेष्ठ पनि उपचार गराइरहेका छन् । कोरोना संक्रमित भएर ८ दिनसम्म अस्पतालमा उपचार गराएपछि उनी घर फर्किएका थिए । तर, श्वासप्रश्वासमा समस्या आएपछि मदनकृष्णलाई फेरि अस्पतालमा भर्ना गरिएको हो । यस्तै, कलाकार सरिता लामिछाने, उनका श्रीमान् निर्देशक ऋषि लामिछाने र उनकी छोरी पनि कोरोना संक्रमणका कारण घरमै आइसोलेसनमा छन् ।






