महिला राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा जगत टमाटा नियुक्त

नेपाल क्रिकेट संघ (क्यान)ले महिला राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा जगत टमाटालाई नियुक्त गरेको छ । आइतबार मूलपानीमा बसेको क्यानको बैठकले यसअघि पुरुष राष्ट्रिय टिमको प्रशिक्षक रहेका टमाटालाई महिला टिमको प्रशिक्षकको जिम्मेवारी दिने निर्णय गरेको हो ।
यस्तै नेपाली राष्ट्रिय क्रिकेट टोलीले नामबियासँग एकदिवसीय सिरिज खेल्ने भएको छ । क्यानले आइतबार एक विज्ञप्ति जारी गर्दै राष्ट्रिय टोलीले नामिबियासँग एकदिवसीय सिरिज खेल्ने जनाएको हो ।
क्यानको कार्यालय मुलपानीमा बसेको बैठकले आगामी मे महिनाको तेस्रो साता नामिबियासँग एकदिवसीय क्रिकेट सिरिज सञ्चालनका लागि तयारी गर्ने निर्णय गरिएको जनाएको हो । त्यसअघि नेपालले घरेलु मैदान नेदरल्यान्ड्स र मलेसियासँग त्रिकोणात्मक टी–ट्वान्टी सिरिज खेल्दैछ। टियु क्रिकेट मैदानमा आयोजना हुने टी–ट्वान्टी सिरिजको पहिलो खेलमा नेपालले नेदरल्यान्ड्ससँग बैशाख ४ गते खेल्नेछ ।

क्यानले यसै अप्रिल महिनामा महिला राष्ट्रिय क्रिकेट टिम र भारतको उत्तराखण्ड महिला टिमबीच टी–२० र एक दिवसीय मैत्रीपूर्ण प्रतियोगिता सञ्चालनको तयारी गर्ने निर्णय पनि गरेको छ । त्यस्तै महिला र पुरुष क्रिकेट खेलाडीको सेन्ट्रल कन्ट्रयाक्ट गर्न खेलाडी छनोटका लागि समिति गठन गरेको सचिव अशोकनाथ प्याकुरेलले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।
राजुबाबु श्रेष्ठ, सञ्जयराज सिंह र प्रशान्त विक्रम मल्ल रहेको ३ सदस्यीय समितिले सन् २०२१ को सेन्ट्रल कन्ट्र्याक्ट गर्न सन् २०२१ मे १५ सम्म महिला र पुरुष टोलीका १८र१८ जना खेलाडी छनोट गर्नेछन् ।






