सम्पादकीय : विजुली नहुँदा नागरिकहरु सोलार बाल्न बाध्य
सुर्खेतको पश्चिम क्षेत्र भौतिक विकासमा पछाडि परेको छ । सडक, विजुली, खानेपानी र स्वास्थ्यका पूर्वाधार कमजोर छन् । अहिले पनि यो क्षेत्रको मुख्य सडक कालोपत्रे हुन सकेको छैन । विजुली नहुँदा नागरिकहरु सोलार बाल्न बाध्य छन् । टेलिफोन 
सेवा पनि भरपर्दो छैन । यस्तो अवस्थामा पनि यस क्षेत्रमा विकासका नाममा बजेट मात्र सक्ने काम भइरहेको छ । हालै प्रकाशित समाचार अनुसार बराहताल गाउँपालिकाको हर्रेकाँडामा आधा करोडको वायुउर्जा प्रयोगविहीन बनेको छ । लाखौं बजेट खर्चेर गाउँमा वायुउर्जा तयार भयो । तर बिचमै उक्त वायुउर्जा विग्रियो । केही
महिनामात्र संचालनमा रहेको यो आयोजना हाल बन्द अवस्थामा छ । त्यसको मर्मत लामो समयदेखि हुन सकिरहेको छैन । आयोजना संचालनमा नआउँदा स्थानीयहरु पुनः सोलार र दियालो बाल्न बाध्य छन् । तर लाखौं बजेट लगानी गरिएको उक्त आयोजना पुनः संचालनमा ल्याउनेतर्फ कसैले चासो दिएका छैनन् । तत्कालिन
सांसद, गाविस र स्थानीयले बजेट लगानी गरे । गाउँमा उज्यालो छाउने सपनामा लगानी गर्न सबै तयार भए । वर्षौंदेखि अध्यारोमा बस्न बाध्य स्थानीयको घरमा उज्यालो पनि छायो । तर प्राकृतिक विपद्का कारण लाखौं खर्च गरिएको आयोजनामा
नोक्सान पुग्यो । त्यसयता सो आयोजनाको मर्मत गर्ने र संचालनको काम सुरु भएको छैन । बजेट लगानी गर्ने तर त्यसको सही सदुपयोग नगर्ने संस्कार यहाँ पनि देखिएको छ । यती धेरै बजेट लगानी भएको उक्त आयोजना संचालनमा किन वेवास्ता ? आधा
करोड खर्चेर बनाइएको आयोजना मर्मत गर्न स्थानीय सरकारले किन चासो नदिएको ? अर्थात केही मात्रामा मात्र बजेट भए मर्मत गर्न सकिने यो आयोजनालाई यसरी अलपत्र छाड्नुपर्ने बाध्यता किन आयो ? वास्तवमा यी प्रश्नहरु गम्भिर रुपमा अगाडि
आएका छन् । अझ स्थानीयले बारम्बार यो आयोजना संचालन गरिदिन स्थानीय सरकार र वडा पालिकालाई आग्रह गरिरहेका छन् । तर पनि वडा र पालिकाले पनि चासो दिएका छैनन् । अझ वडाले त झन् यो आयोजना मर्मत र संचालन गर्नुको साटो गाउँलेलाई अब सोलार वितरण गर्ने योजना पो बनाएको छ । बाहिरबाट हेर्दा वडाको
योजना लोकप्रिय र उपयुक्त जस्तो होला । तर यो लोकप्रियताको नाममा बजेट सक्ने खेल मात्र हुनेछ । किनभने नयाँ सोलार बाँड्दा पनि बजेट खेर जानेछ । तर ती सोलार पनि लामो समयसम्म टिक्ने अवस्था रहदैन । यसकारण भएको बजेट नयाँनयाँ योजनामा सक्ने र त्यसबाट कमिशन खाने योजना कसैले पनि बनाउनु हुँदैन । लाखौं
खर्च गरेर स्थापना गरिएको वायुउर्जालाई बरु पुनः मर्मत र सम्भार गरेर संचालनमा ल्याउँदा त्यो नै दिर्घकालिन हुन सक्छ । यसतर्फ स्थानीयले पनि सोच्न आवश्यक छ । स्थानीयले केही मात्रामा मात्र लगानी गरेर मर्मत हुने र संचालन हुने अवस्था हो भने यसमा जोड दिइनु पर्दछ । बजेट सक्ने र योजना असफल बनाउने काम गर्नु हुँदैन ।





