कर्णाली करिडोरको निर्माणले गति लिँदै विकटमा विकास ओसार्ने माग

कालिकोट, २४फागुन ।
राजनीतिक दल र नेताका लागि सदावहार नारा बन्यो ‘कर्णाली करिडोर’ । तर धेरै वर्ष विते । कालिकोटबाट बाजुरा हुँदै हुम्लासम्म जोड्ने यो सडक निर्माणमा तत्कालिन नेतृत्वले चासो दिएनन् । त्यसको परिणाम सर्वसाधारणले सास्ती भोगे । सडक सुविधा नहुँदा हुम्ला र बाजुराका नागरिक हप्तौंसम्म पैदल हिँडे । हुनेले त जहाज चड्थे 
नहुनेहरु भने सकी नसकी पैदलै हिँड्थे । अस्पतालसम्म पुग्ने बाटो थिएन । स्थानीयलेबिरामीलाइै डोकोमै बोकेर अस्पतालसम्म लगे । यहीक्रममा कति बिरामीहरुको त बाटोमै ज्यान गयो । नुन र तेल बोक्दै स्थानीयले आफ्ना दिन विताए । तर अहिले हुम्लाका नागरिक आफ्नै आँगनमा मोटर देख्न पाइनेमा ढुक्क छन् । गाडी चढ्ने स्थानीयको सपना पूरा गर्ने कसरत जारी छ । पछिल्लो समय कर्णाली करिडोरको
निर्माणमा भएको प्रगतिले पनि कर्णालीबासीको मोटर चढ्ने सपना चाँडै पूरा हुने देखिएको हो । हालसम्म राष्ट्रिय सडक संजालमा नजोडिएको देशको एक मात्र जिल्ला
हो हुम्ला । हुम्लालाई राष्ट्रिय सडक संजालमा जोड्ने कसरतले अब चाँडै पूर्णता पाउने भएको छ । यसैका लागि पछिल्लो समय नेपाली सेनाले सडक निर्माणलाई तीव्रता दिएको छ । निकै कठिन मानिएको यो सडक अन्तर्गत अक्करे भीर छिचोल्दै र कडा चट्टान फोड्दै सेनाले सडक खनिरहेको छ । नेपाल सरकारले राष्ट्रिय गौरवको
आयोजनाका रुपमा लिएको कर्णाली करिडोरको अधिकांश स्थानमा हाल साना जीप संचालनमा आएका छन् यसले स्थानीयलाई सहज भएको छ । निर्माण पूरा र स्तरोन्नतीको काम बाँकी नै रहे पनि कर्णाली करिडोरमा गाडी गुड्न थालेपछि कालिकोट, बाजुरा र हुम्लाका नागरिकको जीवनस्तरमा सुधार आउन थालेको छ ।
आंशिक रुपमा भए पनि सर्वसाधारणले गाडी चढ्न पाएका छन् । बिरामीलाई डोकोमा बोक्नुपर्ने बाध्यता टरेको छ । गाडी र एम्बुलेन्स चल्न थालेका छन् । भारी बोक्नुपर्ने समस्या टरेको छ । विकास निर्माणका सामान ढुवानीमा पनि सहज भएको
छ । करिडोरमा मोटर गुड्न थालेसँगै कालिकोट, बाजुरा र हुम्लासम्म विकास निर्माणका लागि आवश्यक पर्ने सामान ढुवानी हुन थालेको छ । यसले दुर्गममा पनि भौतिक विकासले गति लिएको छ ।
गाँउमै हाटबजार
कर्णाली करिडोरमा यति चाँडै गाडी गुड्लान् भन्ने कसैले पत्याएका थिएनन् । कारण अग्ला भीर, नदी किनारमा सडक खन्नुपर्ने बाध्यता र कडा चट्टान भएको स्थान । यही कारण पनि यो सडक निर्माण गर्नु सहज थिएन । तर नेपाली सेनाले यसलाई सम्भव
बनायो । ज्यानकै बाजी लगाएर भीर छिचोल्दै र चट्टान फोड्दै सेनाले सडक खनेको छ । कठिन भौगोलिक अवस्थामा पनि सडक निर्माण भएसँगै दुर्गममा गाडी गुड्न थालेका छन् । गाउँमा गाडी चल्न थालेपछि सडक छेउ र गाउँमा हाटबजार संचालन हुन थालेका हुन् । अचेल यहाँका नागरिकलाई दैनिक उपभोग्य सामान किन्नका लागि
हाटबजार नजिकिएको छ । कर्णाली करिडोर अन्तर्गत लालीघाट, रेगिंल, सान्नीघाट, भात्डी, बुराबगर, जारकोट, भुकाँ, पिलुचौर लगायतका दर्जर्नौँ ठाँउहरुमा अहिले बजार स्थापना भएका छन् । २०५८ सालदेखी कैलालीको चिसापानीमा कपडा पसल
राखेका ददी बुढाको अहिले कालिकोटको सान्नीगाड र जारकोट बजारमा भाँडा र कपडा पसल छ । कर्णाली राजमार्ग संचालन भएपछि चिसापानीको पसल जितेबजार
आयो । कर्णाली करिडोर संचालन भएपछि त्यो बजार आफ्नै गाँउ नजिकै जारकोटमा पुगेको उनले सुनाए । शान्नित्रिवेणी गाँउपालिका वडा नं. १ निवासी ७१ बर्षिया शिवलाल सुवेदीले भने, ‘दैनिक उपभोग्य सामानहरु नुन, तेल र चिनी किन्नकै लागि
पहिले राजापुर र चिसापानीसम्म पैदल हिँडियो, अहिले कर्णाली करिडोर संचालन भएपछि गाँउमै बजार बनेको छ । गाँउमै सबै सामान पाइन्छ, अब थाप्लोमा भारी बोक्नु पर्ने दिन हराए ।
जेठभित्रै हुम्लामा मोटर
कालिकोटको खुलालुबाट कर्णाली करिडोर सुरु भएको छ । जसअन्र्तगतमा कालिकोटमा ४० किलोमिटर भाग पर्दछ । यस्तै बाजुरामा ४३ किलोमिटर र हुम्लामा एक सय १३ किलोमिटर सडक खण्ड वर्दछ । जम्मा एकसय ७४ किलोमिटर लामो यो सडकको ५१ किलोमिटर सडक विभाग र एकसय २३ किलोमिटर सडक नेपाली
सेनाले निर्माण गरिरहेका छन् । नेपाली सेनाका प्रवक्ता सन्तोष बल्लभ पौडेलले आफूहरुले जिम्मा पाएको एकसय २३ किलोमिटर सडक मध्ये एकसय २१ किलोमिटर सडकको ट्याक खोली सकेको बताए । उनले भने, ‘अब हुम्ला खण्डको दुई किलोमिटर चट्टानी भाग मात्र बाँकी छ, एउटा पुल र बाँकी रहेको दुई किलोमिटर
सडक निर्माण गरेर आगामी जेठसम्म पुरै सडक हस्तान्तरण गर्ने छौं ।’ योसँगै हुम्ला पनि सडक संजालमा जोडिने र स्थानीयको जीवनमा कायापलट हुने सेनाको विश्वास छ । करिडोर निर्माणको जिम्मा लिएको करिव ६ बर्षको अवधिमा सेनाले ठुलाठुला
चट्टान फोड्दै एकसय २० किलोमिटर सडकमा हाल गाडी समेत गुडाइ सकेको छ । हाल कालिकोटको लालिघाट बजारदेखी बाजुराको हिमाली गाँउपालिकाको लेबडी सम्मको ७८ किलोमिटर सडकमा सार्वजनिक यातायात संचालन भईसकेको छ । बाजुराको लेडीबाट हुम्लाको गल्फागाडसम्म सेनाको सामान ढुवानी गर्ने गाडीहरु गुडिरहेका छन् । यो करिडोरको कुल लागत दुई अर्ब ८४ करोड १६ लाख ११ हजार
छ । यो बर्ष करिडोर निर्माणका लागि सरकारले १८ करोड ६३ लाख बजेट निकासा दिएको छ । गत आर्थिक बर्षसम्म एक अर्ब ५३ करोड बजेट खर्च भईसको छ । कर्णाली करिडोरमा पर्ने सान्नीगाड, फुगाड, जुड्डीगाड, कुवाडी खोला, गल्फागाडमा
बेलिब्रिज निर्माण भईसकेका छन् । खुलालुमा बेलिब्रिज निर्माण भईरहेको छ । कर्णाली करिडोर निर्माण पुरा भएमा चिन सँगको सिमाना जोडिएको हुम्लाको हिल्सादेखि भारतसँग सिमाना जोडिएको बाँकेको जमुनाहसम्म उत्तर दक्षिण जोड्ने सबैभन्दा छोटो दुरीको सडक बन्नेछ ।
डोकोमा बिरामी बोक्नु पर्दैन
विगतमा गाउँहरु विकट थिए । बस्तीहरु दुर्गममा थिए । गाउँमा कोही बिरामी हुँदा अस्पतालसम्म लैजान हम्मेहम्मे हुन्थ्यो । न एम्बुलेन्स, न त गाडी र जहाजको सुविधा । स्थानीयले डोकोमा बोकेर बिरामीलाई अस्पताल लैजानुपर्ने बाध्यता थियो । 
तर अहिलेअवस्था फेरिएको छ । गाउँसम्म एम्बुलेन्स पुग्न थालेका छन् । एम्बुलेन्स नभए पनि विकल्पमा गाडीहरु छन् । यसले गाउँमा कोही बिरामी पर्दा होस् या सुत्केरी गराउन अस्पतालसम्म डोकोमा लैजानुपर्ने अवस्था छैन । कारण कर्णाली करिडोर संचालन
भएपछि बिरामीलाई अस्पतालसम्म लैजान सहज भएको हो । जिल्लाको पलाँता क्षेत्र र बाजुराका अधिकांश गम्भीर बिरामी र सुत्केरी हुन नसकेका महिलाहरुले अकालमै
ज्यान गुमाउनुपर्ने समस्या कम भएको छ । डोकोमा बोकेर अस्पतालसम्म लैजान दुईदेखी चारदिनसम्म लाग्थ्यो । पलाँताको खीनमा कार्यरत स्वास्थ्यकर्मी जन्मऋषि न्यौपानेले भने, ‘पहिले गाँउबाट बिरामीलाई जिल्लामा पठाउन स्टेचर पनि पर्याप्त थिएनन्, डोकोमा बिरामीलाई लैजानु पर्दथ्यो, तर अहिले बिरामीलाई अस्पताल पठाउन निकै सहज छ ।’






