जोखिम मोलेर खुल्दै विद्यालय

सुर्खेत, २२ भदौ ।
सल्यानको कुमाख गाउँपालिकामा दुई हप्तादेखि विद्यालयहरु सञ्चालन भइरहेका छन् । तत्काल कोरोना संक्रमण अन्त्य नहुने भन्दै स्वास्थ्यका मापदण्डहरु अपनाएर विद्यालय खोलिएको हो । हुम्लामा पनि एक हप्तादेखि विद्यालयमा पढाइ भइरहेको छ । भदौं १५ गते बसेको जिल्ला कोरोना व्यवस्थापन समितिको बैठकले जिल्लामा विद्यालय खुलाउने निर्णय गरेको थियो ।
सिमकोट गाउँपालिकामा भने भदौ २७ गतेदेखि विद्यालय खुल्ने भएका छन् । त्यस्तै जुम्लाको हिमा गाउँपालिकाका विद्यालयहरुमा पनि पठनपाठन शुरु भएको छ । भदौ १५ गतेदेखि विद्यालय सञ्चालनका लागि अनुमति दिइएको हो । कोरोना परीक्षण गरेर पठनपाठन शुरु गरिएको शिक्षक खम्बा शाहीले जनाए । सल्यान, हुम्ला र जुम्लामा मात्रै होइन, एक महिनादेखि कर्णालीका अधिकांश विद्यालयहरुमा भौतिक उपस्थितिमै पढाइ हुन थालेको छ । बालबालिकाहरु कोरोना संक्रमणको सबैभन्दा बढी जोखिममा छन् । तर तत्काल कोरोना संक्रमण शुन्य नहुने भएपछि जोखिम मौलेरै विद्यालयहरु सञ्चालन गर्न थालिएको हो ।

‘संक्रमण त अहिल्यै अन्त्य हुँदैन, कोरोना छ भनेर कति दिन विद्यालय बन्द गर्नु ?’ हिमा गाउँपालिकाका शिक्षा शाखा प्रमुख शंकर धितालले भने, ‘जोखिम त छ, तर स्वास्थ्य सावधानी अपनाएर विद्यालय खोलेका हौं ।’ जुम्लामा जिल्ला प्रशासन कार्यालय र स्थानीय तहका शिक्षा शाखा प्रमुखसहितको छलफलपछि विद्यालय सञ्चालनको निर्णय गरिएको हो ।
तत्काल कोरोना संक्रमण अन्त्य नहुने भएपछि सरकारले पछिल्लो समयमा ‘स्मार्ट लकडाउन’ कार्यविधिसमेत बनाएको छ । स्वास्थ्यको मापदण्ड अनुसार विद्यालय खोल्नुअघि हरेक साता कोरोना परीक्षण गरेर एकसय स्वास्थ्य परीक्षण गरिन्छ । पाँच जनाभन्दा कम नतिजा पोजेटिभ आएमा मात्रै विद्यालय सञ्चालन गर्न पाइने मापदण्ड बनाइएको छ । सोही कार्यविधि अनुसार कर्णालीका अधिकांश विद्यालयहरु सञ्चालन हुन थालेका हुन् ।
रेडजोनमै विद्यालय खुलाउन हतार
स्मार्ट लकडाउन कार्यविधिमा ६५ अंकभारभन्दा माथि कोरोना संक्रमण भएमा रेडजोन मानिन्छ । त्यस्तो स्थानमा कडा लकडाउन गर्नुपर्ने उल्लेख छ । सुर्खेतको वीरेन्द्रनगरको अंकभार ६६ अर्थात रेडजोनभन्दा माथि छ । रेडजोनमै भए पनि वीरेन्द्रनगरका विद्यालयहरु खोल्ने निर्णय गरिएको छ । सुर्खेतका नौ मध्ये ६ वटा स्थानीय तह स्मार्ट लकडाउन कार्यविधि अनुसार ग्रीनजोनमा परेको र भौतिक रुपमा विद्यालय खुलाउन सकिने भए पनि वीरेन्द्रनगर नगरपालिका रेडजोनमा र भेरीगंगा तथा गुर्भाकोट नगरपालिका यल्लो जोनमा छन् ।
स्वास्थ्य संक्रमणको जोखिममा रहेको वीरेन्द्रनगर, भेरीगंगा र गुर्भाकोट नगरपालिकाको शिक्षा शाखा, शिक्षक महासंघ, प्याव्सन, एनप्याव्सनको सहभागितामा विद्यालय खुल्ने मापदण्ड निर्धारण गरेर विद्यालय खुलाइने छ । प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले यही सातादेखि सुर्खेतका सवै सामुदायिक र संस्थागत विद्यालयहरु खुल्ने बताए । मापदण्ड निर्माण गरिने र त्यसका आधारमा विद्यालय खुलाइने छ । दुई सिफ्टमा बनाएर भए पनि विद्यालयहरु खुलाइने तयारी गरिएको छ ।






