सडकको स्तरोन्नति

कर्णालीको राजधानी वीरेन्द्रनगरमा सडकको अवस्था कमजोर छ । प्रदेश राजधानी भएकाले यहाँको भौतिक पूर्वाधारको अवस्था अब्बल हुने धेरैको आँकलन हुन्छ । बाहिरबाट यहाँ आउने आगन्तुकले जे सोचेर वीरेन्द्रनगरको बारेमा एकखाले तस्बिर बनाएका हुन्छन् ।
तर यहाँ आएपछि त्यो नपाइने गरेको छ । पूर्वाधारको सबैभन्दा पहिलो आधार मानिने सडकको अवस्था नै दयनीय छ । प्रदेश राधाजनी भए पनि यहाँ पुरानै संरचना र सडकको अवस्था छ । राजधानीलाई सुहाउँदो सडकको विकास र स्तरोन्नति हुन सकेको छैन । अहिले पनि वीरेन्द्रनगरका सडकहरु साँघुरा र भत्किएका छन् ।
मुख्य बजार क्षेत्रका सडकको अवस्था नै दयनीय छ । नगरभित्रका अधिकांश सडकहरु कालोपत्रे हुन सकेका छैनन् । सडकहरुको स्तरोन्नति नहुँदा वर्षात्मा हिलो र सुख्खा याममा धुलोको समस्या बढेको छ । वीरेन्द्रनगरको विकास र समृद्धिबारे सडकको हालत र यहाँको धुलो नै बाहिरबाट आउने पाहुनाहरुको धारणामा नकारात्मक प्रभाव पारिरहेका छन् । तर यति हुँदाहुँदै पनि यहाँका सडकहरुको स्तरोन्नति र सुधारका लागि सरकारी पक्ष गम्भिर बनेको देखिदैन । वीरेन्द्रनगरको मुख्य बजार क्षेत्रमा सडक साँघुरो बनेको छ । विगतमा भन्दा अहिले नगरमा जनघनत्व बढेको छ ।
प्रदेश राजधानी भएपछि सवारी साधनको संख्या पनि बढेको छ । यसले गर्दा पनि मुख्य बजारमा सडक साँघुरा बनेका छन् । सवारी साधन र पैदल यात्रुलाई आउजाउ गर्नै हम्मेहम्मे परेको छ । यसले सो क्षेत्रमा दुर्घटनाको जोखिम पनि बढाएको छ । यतिमात्र होइन, बजार क्षेत्र नै कुरुप देखिने गरेको छ । यहीकारण नगरको मुख्य बजार क्षेत्र अर्थात मंगलगढीदेखि गणेशचौकसम्म जोड्ने सडकलाई स्तरोन्नति र विस्तार गर्ने योजना अगाडी सारिएको छ । तर त्यसैमा पनि विलम्ब भइरहेको छ । नागरिकको कारण नभइ सरकारी निकायकै कारण तोकिएको समयमा काम हुन नसकेको पाइएको छ ।
अहिले सडकको स्तरोन्नति हुन नसक्नुको मुख्य कारण नै सडकमा रहेको विजुलीका पोल नहटाएको कारण हो । विद्युत प्राधिकरणले सडकमा रहेका पोल नहटाउँदा सडक विस्तारको काम प्रभावित भएको छ । सडक विस्तारमा सबै निकाय र पक्षको सहयाग हुनु पर्दछ । त्यसमा पनि सरकारी निकायबाटै असहयोग र लापरबाही हुनु राम्रो होइन । कुनै पनि वहानामा विद्युत प्राधिकरणले सडकमा रहेका पोल हटाउने कार्यमा खेलाँची गर्नु हुँदैन । जतिसक्यो चाँडो सडकमा पर्ने पोलहरु सडकभन्दा पछाडि सारेर सडकको स्तरोन्नति गर्ने काममा सहयोग गर्नु पर्दछ । यसतर्फ विद्युत कार्यालय गम्भिर बनोस् । साथै वीरेन्द्रनगर नगरपालिका र प्रदेश सरकारले पनि यसमा चासो दिनु पर्दछ ।
प्रदेश राजधानीको गौरव बढाउने र यहाँको विकासको संकेत देखिने सडकको अवस्थामा नै सुधार नआउने हो भने प्रदेश राजधानीप्रति नै गौरव गर्न नसकिने अवस्था बन्नसक्छ । तसर्थ नगरपालिकाले पनि यो काम अगाडि बढाउनका लागि आवश्यक समन्वय गर्न आवश्यक छ । साथै बजार क्षेत्रका नागरिकले पनि सडकको स्तरोन्नतिलाई सघाउनु पर्दछ ।






