इजरायलसँग फेरि युद्ध भए मध्यपूर्वको नक्सा बदलिनेछ : हमास

एजेन्सी । गाजास्थित हमासका नेता याह्या सिनवारले इजरायलसँग फेरि युद्ध भए मध्यपूर्वको नक्सा नै बदलिने दाबी गरेका छन् । भीषण लडाइँ बल्लतल्ल थेगिएको दुई साता नबित्दै हमासका नेताले यस्तो चेतावनी दिएका हुन्।
इजरायलले हमासको सुरुङ नष्ट गर्न खोजेपनि नसकेको सिनवारले बताएका छन् । प्यालेस्टाइनी हमासले गाजा क्षेत्रमा बनाएका यस्ता सुरुङका नेटवर्कलाई इजरायलले ‘मेट्रो’ उपनाम दिने गरेको छ ।
शनिबार गाजामा एक सभालाई सम्बोधन गर्दै हमास नेता सिनवारले भीषण हमला गर्दा पनि इजरायलले ३ प्रतिशतजति क्षेत्रमा मात्रै नोक्सान पुर्याउन सकेको दाबी गरे। साथै, ११ दिनसम्म चलेको लडाइँमा हमासले आफ्नो सैन्य क्षमता परीक्षण गर्ने मौका पाएको पनि उनले उल्लेख गरे ।
हमासका नेता अरब राष्ट्रहरूप्रति पनि असन्तुष्ट देखिएका छन्। इजरायलसँग अरब देशहरूले सम्बन्ध अघि बढाएकै कारण तेल अभिभले गाजामाथि हमला गर्ने हौसला प्राप्त गरेको उनले बताएका छन् ।






