छाउपडीबाट मुक्ति खोज्दैछन् जुम्लाका महिला

जुम्ला : तिला गाउँपालिकाका महिला छुई (छाउपडी प्रथा) ले निम्त्याएको रोगबाट मुक्ति पाउन जुटेका छन् । लिही, लर्मि, रारा, तुँही , घोडे, सुडि, रिपी, ढिपु, मालापानी, राँसा, माथिल्लो खोप्री, तल्लो खोप्री, नुवाकोट, जुम्लाकोट साँपुल्ली र घोडेसिनका महिला छाउपडीविरुद्ध जुटेका हुन् ।
अधिकांश गाउँमा एकदुई जना बाहेक सबैमा पाठेघरको समस्या छ। मासिकश्राव हुँदा गोठमा असुरक्षित तरिकाले बस्दा रोग निम्तिएको भन्दै महिलाहरू यस्तो अभियानमा जुटेका हुन् । रजस्वला भएका बेला गोठमा बस्दा पीडित बनेका महिला धेरै छन् ।

सामाजिक दबाबका कारण छाउपडीलाई निरन्तरता दिन महिला बाध्य छन् । यस्तो समस्या ग्रामीण भेगका अशिक्षित महिलामा धेरै रहेको पाइन्छ। ७ दिनसम्म घरबाहिर छाउगोठ बस्ने चलन तथा महिनावारी हुँदा नुनको धुलो र सुक्खा रोटीमात्र खाने गरेका कारण उनीहरूको स्वास्थ्यमा असर परेको हो।
धामीझाँक्रीलाई तालिम आवश्यक
महिनावारीलाई कर्णाली र सुदूरपश्चिम क्षेत्रमा विभिन्न ढंगले व्याख्या गरिएको पाइन्छ। जुम्लामा ’छुई’ भन्ने चलन छ । जे नाम दिएपनि महिनावारी एक प्राकृतिक प्रकृया हो। यदी महिला महिनावारी नहुने हो भने आमा बन्ने सौभाग्य पनि प्राप्त हुने थिएन ।
तर, जुम्ला लगायत कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा अहिले पनि महिनावारीलाई नकारात्मक रूपमा लिने चलन छ। त्यसैले महिनावारी भएको बेला छाउपडीमा छुट्टै राखिन्छ । छाउ हुनु फूल फुलेर फल लाग्नुसरह प्राकृतिक नियम भएपनि पुरातन सोचले हाम्रो समाज थला परिरहेको छ। छाउपडी प्रथाले यति गहिरो जरो गाड्नुको मूल कारण हो : यसलाई धर्मसँग जोडिदिनु.
महिनावारी भएका बेला महिलाहरू शारीरिक रूपले कमजोर हुन्छन् । आराम चाहिने बेला चुलोचौका र खेतबारीको कामबाट अलग राखिनुपर्छ भन्ने सोचले यो प्रथा बसाएको कतिपयको तर्क छ।
तर, यो प्रथाका अन्धसमर्थकहरू महिनावारी भएको बेला महिला अपवित्र हुन्छन् भन्ने ढिपी राख्छन्। महिनावारी भएका बेला परिवारका सदस्यलाई छोइहाले घरमा अनिष्ट हुने, देवी–देवता रिसाएर पाप लाग्ने जस्ता रुढीवादी र अन्धविश्वासका कारण यो कुप्रथा झेल्न महिलाहरू बाध्य छन् ।
‘अब स्वास्थ्य अवस्थालाई दाउमा राखेर गोठमा बस्दैनौँ,’ तिला-६ की रामछाया रावतले भनिन्, ‘महिनावारी भएका बेला घरको एउटा कोठामा सुरक्षित बस्छौँ। तर धामी धामीझाँक्रीले हामीलाई छुई भएका बेला घरमा बस्दा देवता लाग्छ नभनिदिउन्, हामी छुइगोठमुक्त तिला गाउँपालिका घोषणा गर्ने अभियान सक्रियतापूर्वक लाग्छौँ ।’ पहिले महिनावारी हुँदा ७ दिनसम्म बार्ने चलन रहेकोमा अहिले ३ दिनसम्म मात्रै बार्ने गरेको रावतले बताइन् ।
दिलमाया शाही/थाहाखबर






