महिलाहरु आत्मनिर्भर बन्न जरुरी छः उपसभामुख घर्ती
सुर्खेत, १६ पुस ।
कर्णाली प्रदेश सभाका उपसभामुख पुष्पा घर्तीले महिलाहरु आत्मनिर्भर बन्न जरुरी रहेको बताइन् । शिक्षा विकास निर्देशनालयकोको आयोजनामा भएको जनजाति महिलाहरुको परम्परागत सीप कार्यक्रम अन्तगर्त नेवार समुदायको विभिन्न परिकारका रोटी र टपरी बनाउने तालिमको समापनमा बोल्दै उनले सीपलाई व्यवसायीकरण गर्र्नुपर्नेमा जोड दिइन् । सबै धर्म संस्कृतिलाई संरक्षण गर्दै अघि बढ्नु पर्ने उनको भनाई छ ।
शिक्षा विकास निर्देशनालय कर्णाली प्रदेशका निर्देशक दिपा हमालले महिलालाई अघि बढ्ने सरकारले बाटो मात्र देखाइदिएको बताइन् । यो कार्यक्रमले सबै जनजातिहरुलाई समेट्न नसकिए पनि अर्काे कार्यक्रममा समेट्ने उनको भनाई छ । उनले सबै संस्कृतिलाई जोगाउदै अघि बढ्नु पर्ने बताइन् ।
१५ दिने तालिमसम्म सञ्चालन भएको तालिममा २१ जना महिलाको सहभागिता रहेको थियो । नेवा देय् दबु जिल्ला कार्य समितिको सहयोग र राष्ट्रिय जनजाति महिला महासंघको सहकार्यमा भएको उक्त तालिममा उर्मिला श्रेष्ठले प्रशिक्षण दिएकी थिइन् । तालिममा फिनी, सेल, योमरी, मासको जेरी आदी परिकारबनाउन सिकाइएको थियो ।