इन्जिनियरले पिच गराए, प्रमुख प्रशासकीयले भत्काए
सुर्खेत, ६ असार ।
वीरेन्द्रनगर नगरपालिका भित्रको प्लानिङको एउटा पिच सडकमा डोजर लगाएर भत्काइएको छ । वीरेन्द्रनगर नगरपालिका वडा नं. ८ मा पर्ने मनकामना होटलदेखि बौद्ध चोक हुँदै एयरपोर्ट जाने पिच सडक भत्काइएको छ । सार्वजनिक सम्पत्तीमा पर्ने सडक भत्काउनु कानून विपति मानिन्छ । सम्बन्धित कार्यालयको स्वीकृति बिना भत्काउँदा कानूनि कारवाहीको भागिदार हुनुपर्दछ । पिच सडक भत्काएर गहिरो खाल्टो बनेपछि आवत जावत गर्ने सवारी साधन, उपभोक्तालाई दुर्घटनाको जोखिम निम्त्याएको छ भने अर्कोतर्फ पिस सडक बनाउँदा लागेको राज्यको लगानी खेर गएको छ ।
वीरेन्द्रनगर नगरपालिकाका इन्जिनियर विशाल अधिकारीले पत्र काटेर, स्थलगत अनुगमन, मुल्याङ्कन गरेर निर्माण सम्पन्न भएको पिच सडक हालका प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकालले अर्को पत्र लेख्दै गल्ती भएको स्वीकार गरी पिच सडक भत्काउन लगाएका छन् । २०७५ बैशाख ६ गते सडक कालोपत्रे निर्माण उपभोक्ता समितिमार्फत सडक स्तरोन्नती पिच गरिएको थियो । उपभोक्ता समितिले लाखौं रकम खर्च गरेर गरिएको पिच सडक डोजर लगाएर भत्काइएको छ । उक्त सडक खण्डमा पर्ने धर्मराज गौतमको जग्गा च्यापी नक्सा अनुसार सडक पिच नगरिएको भन्दै जग्गाधनी गौतमले नापनक्सा गरी आफ्नो जग्गा छुट्टाउने क्रममा पिच सडक भत्काएका हुन ।
जग्गाधनी गौतमले भने ‘नगरपालिकाको गम्भिर गल्ती हो । नक्सा अनुसार सडक पिच गर्नुपरो नि । पटक पटक मैले बाटो र नाला प्लानिङको नक्सा अनुसार गराउनुस, मेरो जग्गामाथी बाटो, नाला बनाइयो, प्लानिङको नक्सा अनुसार क्षेत्र छुट्टयाएर सडक पिच गर्नुपरो भनेर निवेदन दिएको छु ।’ नगरपालिकाले नापी कार्यालयबाट नाप नक्सा भई प्लानिङ सडकलाई अवरोध नपुग्ने गरी आफ्नो जग्गा छुट्टयाएर भौतिक संरचना बनाउन आफुलाई चिठी दिएको उनले बताए ।
सडक निर्माण हुँदा २०७२ सालदेखि नक्सा अनुसार बाटो निर्माण नगरी नगरपालिकाले आफुखुशी एैलानी जग्गा छोड्दै व्यक्तिगत जग्गा च्यापेको भन्दै जग्गाधनी धर्मराज गौतमले पटक/पटक नगरपालिकामा निवेदन पेश गरेका थिए । सडक कालोपत्रे निर्माण उपभोक्ता समितिका अध्यक्ष नरेश्वर चालिसेलाई नगरपालिकाले २०७५ जेष्ठ ६ गते सडक कालोपत्रे सम्बन्धमा पत्र काटेको थियो । नगरपालिकाका इन्जिनियर विशाल अधिकारीले लेखेको पत्रमा वीरेन्द्रनगर–८ निवासी धर्मराज गौतमले यस कार्यालयमा विभिन्न मितिमा दिएको निवेदनबाट गुरुयोजना बमोजिम निर्माण कार्य सम्पन्न हुने गरी कार्य सञ्चालन गरी पाउँ भनि प्राप्त भएको पटक/पटक निजको जग्गा नापी गरी नापीको प्रतिवेदन अनुसार निजको जग्गा प्लानिङ बमोजिम दक्षितर्फ पर्न गई विगतमा नालासमेत निर्माण भएको र हाल नगरपालिका कार्यालय र निवेदनको सहमतिबाट उत्तरतर्फको नालाबाट ३ मिटर जग्गा छोडी हालको सडक पिच निर्माण गर्ने गराउने सहमति भए बमोजिम कार्य सञ्चालन गर्न गराउनुहुन जानकारी गराइन्छ व्यहोराका पत्र लेख्दै निर्माण कार्यादेश उपभोक्ता समितिलाई इन्जिनियरले दिएका थिए ।
सडक नगरपालिकाको सम्झौता बमोजिम निर्माण कार्यसम्पन्न भयो तर ३ मिटर तल सार्नुपर्ने सडक पुरानै अनुसार पिच गरियो । त्यसको अनुगमन, निरिक्षण, सुपरिवेक्षणको प्रमुख दायित्व बोकेका इन्जिनियर विशाल अधिकारीले आफैले काटेको पत्र अनुसार काम भए नभएको वास्तै नगरी सडक निर्माण सम्पन्न भयो । आँखा चिम्म गरेर निर्माण कार्यसम्पन्न गरी, अनुगमन गरी भुक्तानीसमेत भै निर्वाध रुपमा सञ्चालनमा आएको सडक दुई बर्षपछि एकाएक पिच भत्काइएपछि आम उपभोक्ताहरुले आश्चर्य व्यक्त गरेका छन् । तोकिएको मापदण्ड पुरा गरी निर्माण सम्पन्न भएको भन्दै उपभोक्ता समितिको भुक्तानीमा इन्जिनियर अधिकारीले सहि गरेपछि उक्त बाटो निर्माण प्रक्रिया टुङ्गीएको थियो ।
बाटो पिच हुँदा आफैले लेखेको पत्र विर्सिए वा नदेखेको जस्तो गरेपछि बनेको पिच भत्काउन पुनः वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकालले जग्गाधनीलाई स्वीकृति दिएका छन् । जग्गाधनी धर्मराज गौतमलाई प्लानिङको नाप, नक्सा अनुसार त्यसलाई कुनै प्रभाव नपर्ने गरी आफ्नो जग्गा छुट्याई भौतिक संरचना निर्माण गर्न स्वीकृति दिएको अधिकृत ढकालले स्वीकार गरेका छन् । गुरुयोजना अनुसारको नक्सामा तोकिएको ठाउँबाट बाटो निर्माण भई पिच हुनुपर्नेमा व्यक्तिगत जग्गा च्यापिएको स्वीकार गर्दै सेड व्याग छोडी जग्गाधनीलाई भौतिक संरचना निर्माण गर्न लगाएको बताए ।
‘पहिला गल्ती भएकै हो । नाला बन्दा, पिच हुँदा नक्सा अनुसार भए नभएको अनुगमन गरिनुपथ्र्यो कमजोरी भयो । अव आउँदो बजेटबाट बाटो नक्सा अनुसार पुनःनिर्माण गरिने छ’ उनले भने । प्रमुख प्रशासकिय अधिकृत ढकालले नापि कार्यालय सुर्खेतलाई २०७६/९/१ गते पत्र लेख्दै ‘वीरेन्द्रनगर–८ मा धर्मराज गौतमको नाममा रहेको कटुवा १ कित्ता नं. ४२२९ जग्गा भएको स्थानमा दक्षिणतर्फ यस नगरपालिकाबाट निर्माण गरिएको बाटोले निजको जग्गा मिचेर बाटो बनेको र निजले प्लानिङ बमोजिम बाटो कायम गरी आफ्नो नामको जग्गा हकभोग गर्न पाउँ भनि यस कार्यालयमा पटक पटक निवेदन दिएकोमा यस कार्यालयबाट स्थलगत नापजाँच गर्दा निजको मागदावी सही ठहरेकोले उक्त स्थानमा हालै हुन लागेको पुनर्नापीबाट साविक प्लानिङ बमोजिमनै जग्गा नापजाँच गरी बाटो लगत कट्टा समेत गरिदिनुहुन अनुरोध छ’ भनिएको छ ।